घर बाहिर भेटिएकी उपमेयर (भिडियो)

मेलम्ची । सिन्धुपाल्चोकका नगर तथा गाउँपालिकाका धेरैजसो उपमेयर र उपप्रमुखहरु लकडाउनमा घर बाहिर निस्केका छैनन् । अधिकांश उपमेयर र उप्रमुखलाई गाउँको गतिविधिमा कमै देखिएका छन् । कतिपय गाउँपालिकाका अध्यक्षहरु नै उपप्रमुखको विषयमा जानकारी नै नभएको बताउँछन् ।
मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपाल भने कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि सञ्चालन गरिएका गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छिन् । उनी नगरपालिकाको क्षेत्रीय क्वारेन्टइन निर्माण, व्यवस्थापन र कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा संलग्न छिन् । यही मौका उनी नगरभित्रका महिलाको स्वास्थ्य अवस्था बारे पनि अध्ययन गरिरहेकी छिन् ।
कपाल फुलिसके, उमेर पनि पाको भइसक्यो । तर उनको काम गर्ने तरिकामा भने जोसिलोपन कायमै छ । उनी क्वारेन्टाइन व्यवस्थापन मात्रै होइन नगरपालिकामा आउने काममा दिनभर व्यस्त रहन्छिन् । केही समयअघि सिन्धु खबरको टोली जिल्लाका आधाभन्दा बढी गाउँ र नगरपालिका पुग्दा कुनै पनि उपप्रमुखलाई कार्यालय वा गाउँमा भेटिएन । कतिपय गाउँपालिका प्रमुखले लकडाउन शुरु भएदेखि नै उपप्रमुख नदेखेको पनि बताए । महिला र पुरुष बराबरी हुन् भनेर हामीले भनिरहँदा जनता कोरोना संक्रमणको सन्त्रासमा बसेकाबेला उपप्रमुखहरुको सक्रियता भने चित्त बुझ्दो देखिएन ।
एक–दुई उपप्रमुख बाहेक जिल्लामा अन्यको सक्रियता न्यून छ । तर पनि जिल्लाको पाको उपमेयर नेपाल कार्यालय समयमा मात्र होइन साँझ विहान पनि काममै लागेको देख्दा सवैले खुशी मान्नुपर्छ । उनको काँधमा जति ठूलो जिम्मेवारी सुम्पिएको थियो व्यवस्थापनका लागि पनि त्यतिकै खटेको देखिएको छ । उनी क्षेत्रीय स्तरको क्वारेन्टाइन निर्माण समितिको संयोजक हुन् । उनी सरोकारवाला निकायसँग छलफल गर्दै उपलब्धि निस्कने गरी काम गर्न तत्पर देखिएकी छिन् ।
कोरोना संक्रमण नियन्त्रणका क्रममा नपाका विभिन्न ठाउँमा स्वास्थ्य परीक्षणमा महिलाहरुमा निकै समस्या देखिएको अनुभव उनले सुनाइन । स्वास्थ्य अवस्था बुझ्ने क्रममा गाउँमा अहिले प्रजनन स्वास्थ्य, पाठेघरको समस्या र क्यान्सर पीडित महिला धमाधम भेटिएको जानकारी उनले दिइन् ।
‘यसअघि कहिले यसरी जनताको स्वास्थ्यमा ध्यान दिइएन । अहिले स्वास्थ्य परीक्षणमा महिला पाठेघरकै रोगले थलिएको पाए’ उनले भनिन् । सर्ने रोगको लागि सरकारले धेरै खर्च गरेको तर दीर्घरोगी धेरै भएकाले उनीहरुको उपचारमा ध्यान दिन जरुरी रहेको भनाइ उनको छ । यसमा महिला अझ बढी छन् । उनीहरुलाई वाथ रोगले निकै च्याप्ने गरको छ ।
स्वास्थ्यमा नगरपालिका
उनले क्वारेन्टाइन निर्माणका लागि रिभर इन रिसोर्ट, नगरपालिका भवन र हस्पिटल छानेकोमा हस्पिटललाई आइसोलेशन बनाउने नपाको योजना थियो । हस्पिटलमा आइसोलेसन राख्ने हल्ला हुने भएपछि कोरोना संक्रमण हुने भयले गर्भवतीहरु घरमा नै बच्चा जन्माउन थालेको उनले बताइन् । त्यसैले हस्पिटलमा रद्द गरेर नपाको भवनमा नै आइसोलेशन बनाउने निर्णय नपाले गरेको छ ।
गर्भवतीलाई पोषण भत्ता र स्वंयसेविकालाई काम अनुसारको प्रोत्साहन भत्ता दिने गरेको उनले बताइन् ।
नपाको आफ्नै हस्पिटल बनाउने धोको भने पूरा भएको छैन् । नपाले ७ रोपनी जग्गा दान पाएको छ । दुई रोपनी जग्गा खरिद गर्न समस्या भएकाले हस्पिटल बनाउन नसकिएको हो । जग्गा मिलेको भए यतिबेला हस्पिटल भवन बन्थ्यो र त्यसमै आइसोलेशन निर्माण हुन्थ्यो । त्यो पुरा गर्न नसकिएकोमा उनलाई दुख लागेको छ ।
नपाले दीर्घरोगीहरुलाई औषधिको व्यवस्थापन पनि गरेको छ । ‘औषधि सकिएपछि बिरामीले नै ल्याइदिन आग्रह गर्नुहुन्छ । हामीले एम्बुलेन्सलाई औषधि ल्याइदिन भनेका छौं । औषधि भने सशुल्क दिने गरिएको छ,’ उनले बताइन् । नपाले स्वास्थ्य शिक्षा दिन आमा समूहहरुमा स्वास्थ्यकर्मी नै जान भनेको छ । उनी आब्हान गर्छिन् ‘महिला दिदी बहिनी आफूले आफैलाई माया गर्नुस् । उपचार गर्न स्वास्थ्य संस्था जाने गर्नुस् ।’
क्याटेगोरी : समाज, सिन्धु खबर टिभी
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस