शुक्रबार, असोज १, २०७८
गृहपृष्ठपर्यटनपाँचपोखरी : ‘एउटा छुट्टै स्वर्ग !’

पाँचपोखरी : ‘एउटा छुट्टै स्वर्ग !’


चौतारा ।

चार हजार एक सय मिटरको उचाईबाट तलतिर हेर्दा यस्तो लाग्छ कि आफू आकाशभन्दा निकै माथि छु । आफू बसिरहेको डाँडामुनीतिर उडिरहेका सेता गलैंचाजस्ता लाग्ने बादल नै धर्ती हो भन्ने झल्को दिन्छ । कारण बादलले छेकेकाले त्यस मुनीका कुनै भूगोल देखिन सकिदैन ।

एउटा यस्तो अद्भूत सौन्दर्य । चिसो हावा, हरियाली वातावरण । सामुन्ने जुगल हिमश्रृंखला । वरिपरी दुबोलगायत अन्य विभिन्न आकर्षक हिमाली झारले घेरिएको बीचमा नीला ताल । त्यो पनि एकै ठाउँमा पाँच वटा । त्यहाँ पुग्नेहरु भन्छन्,–‘कविले कवितामा कल्पना गरेको स्वर्ग भन्दा कमी छैन, यति सुन्दर दृश्य कुनै शब्दमा बयान गर्न सकिँदैन ।’

यस्तै छ, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित भोताङ शिरमा रहेको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चिनिएको पाँचपोखरी । समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाईंमा रहेको पाँचपोखरीमा यो वर्षको जनै पूर्णिमाको मेला लागेको छ ।  हरेक वर्ष एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म लाग्ने मेलाको चहलपहलले पाँचपोखरी सौन्दर्यमा डुबेको छ ।

एकादशीका दिन पाँचपोखरी पुग्नेहरुले आफ्नो यात्रा सकेर फर्किइसकेका छन् भने जनै पूर्णिमा लक्षित गरेर गएकाहरु पाँचपोखरीमा जनै फेर्ने, पूजाआजा गर्नमा व्यस्त छन् ।

पाँचपोखरी मेला भर्नका लागि जिल्लाबाट मात्रै हैन देशका विभिन्न स्थानबाट पर्यटकहरु आउँछन् । काठमाण्डौंबाट मेलम्ची भई थाङपालधाप, भोताङबाट जाने एउटा रुट छ ।  बर्खाको समयमा थाङपालधापसम्म बसको यात्रा गर्न सकिन्छ । त्यसपछि सुरु हुन्छ पैदल पद मार्ग । पाँचपोखरी रहेकै साविकको गाविस भोताङको बजारसम्म बाटो सहज छ । त्यहाँसम्म पुग्दा होटलहरु पाइन्छ । प्रायः पर्यटकहरु यहाँनेर पहिलो बास बस्छन् । दोस्रो दिनदेखि सुरु हुने ठाडो उकालो र जंगलै जंगलको यात्रा केही कष्ट्रकर रहे पनि त्यहाँको सौन्दर्यले दुःख बिर्साउँछ । यो रुटमा आमा याङग्री, ड्रागन गुफा, हवेली, नागी डाँडा, रैथानेश्वरी हेर्न लायक स्थान हुन् । भोताङ बजारबाट उकालो लागेपछि बीचमा पाइने चौंरी गोठबाहेक बासको विकल्प अरु छैन । प्रायः तीर्थालुहरु समुद्र सतहबाट तीन हजार दुई सयको उचाईमा रहेको अवस्थित टपखर्कमा बास बस्ने गर्छन् । यात्राको तेस्रो दिन पाँचपोखरी पुग्न सकिन्छ ।

जिल्लाकै सबैभन्दा ठूला मेला लाग्ने पाँचपोखरीमा तीर्थालु बढाउन र मेलालाई सभ्य रुपले सम्पन्न गर्न स्थानीयसमेत लागिपर्ने गर्दछन् । यात्रा सहज गराउन यो रुटमा भोलेन्टियरहरु खट्ने गर्दछन् । सामान्य व्यक्तिलाई उचाईंमा पुगेपछि लेक लाग्ने हुँदा तीर्थालुको उद्धार तथा प्राथमिक उपचार र सहयोगका लागि भोलेन्टियर राख्ने पनि गरिएको छ ।

मेलम्चीपछि पाँचपोखरी पुग्ने अर्काे रुट सदरमुकाम चौताराबाट हो । चौताराबाट रमणीय स्थान ओखरेनी, खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हँुदै जान सकिन्छ । दुई हजार २ सय मिटरको उचाईं रहेको खस्रे, मैदानपछि घरहरु भेटिदैंन । यो रुटबाट जाने तीर्थालुहरु प्रायः च्योच्यो डाँडामा बास बस्न पुग्छन् । च्योच्यो डाँडा जुगल हिमाल सामुन्ने पर्छ । यो डाँडाबाट काठमाण्डौ शहर पुरै देख्न सकिन्छ । रातको समयमा काठमाण्डौंको झिलीमिली हेरेर मजा लुट्नकै लागि पनि च्योच्यो डाँडामा तीर्थालुहरुको बास हुने गरेको पर्यटन व्यवसायी मिलन तामाङ बताउँछन् । ‘यो डाँडामा चौंरीका गोठहरु प्रसस्त छन्, अनेक रंगका फूलहरु फुलेको सौन्दर्य यहाँ पाइन्छ ।’ उनले भने । दोस्रो दिन न्योसाम पाटीमा बास बसेर यो रुट हुँदै जानेहरु तेस्रो दिन पाँचपोखरी पुग्नेछन् ।

मेलम्ची र चौताराबाट आकर्षक झाँकीसहित झाँक्रीहरु जाने गर्दछन् । पाँचपोखरी मेलाको प्रमुख आकर्षक मध्ये झाँक्री नृत्य पनि हो । हरेक वर्ष झाँकीसहित पाँचपोखरी पुग्ने गरेका चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खुका झाँक्री चीनबहादुर तामाङ त्यहाँ पुगेर पूजाआजा गरेपछि मनमा सन्तोष हुने बताउँछन् । ‘पाँचपोखरीमा मागेको कुरा पुग्छ, त्यसैले हरेक वर्ष झाँकीसहित जानेगरेका छौं,’ उनले भने, ‘पूजा गर्दै, नृत्य गर्दै कठिन बाटोहरुलाई सहज हुने गरी पाँचपोखरी पुगेर पूजा गर्ने गरेको सुनाए ।

झाँक्रीहरुलाई नाच्दै आफ्नो सस्कृति जोगाउनका लागि झाँकी प्रस्तुत गर्दै पाँचपोखरी पुग्न सातादिन सम्म लाग्छ । पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँचवटा पोखरी परिक्रमा गरेमा पापमोचन हुनुका साथै मनले चिताएको पूरा हुने जनविश्वास छ ।

आफ्ना झाँकीहरुको प्रस्तुतीले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मात्रै नभई आफूले पाँचपोखरी पुगेर मन्दिरमा आफूले चाहेको कुरा पुग्नेसमेत बताउँछन् झाँक्री दीर्घबहादुर तामाङ । ‘झाँक्रीहरुको नृत्यसँगै जाँदा रमाइलो मान्ने र यात्रामा अलि सहज हुने भएकाले थप तीर्थालु हुने गर्छन्,’ उनी भन्छन् । झाँक्री नृत्य निकै रमाइलो हुने गर्छ । आफ्नै भाषा र संस्कृतिका विविध पक्षलाई झाँक्रीहरुले संगीतको रुप दिएर नाचगान गर्ने गर्छन् । ‘झाँक्रीको नाच हेर्नकै लागि पनि पाँचपोखरी पुग्नेहरु धेरै भेटिन्छन् ।’ दीर्घबहादुरले भने ।

विशेष गरी पाँचपोखरीमा जनै पूणिर्माको अघिल्लो दिन र मंसिर महिनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । यो मेला भर्नका लागि काठमाण्डौं, ललितपुर, रसुवा, नुवाकोट, भक्तपुर र काभ्रेबाट उल्लेखनीयरुपमा सहभागी हुने गर्दछन् । हिमाली भेग भएकाले यात्रा गर्न कठिन छ । कतिपय यात्रुहरुलाई लेक लाग्नेसमेत भएकाले सामान्य प्राथमिक उपचारका सामग्री आफैले लैजानुपर्ने हुन्छ । पर्यटनको अथाह सम्भावना हुँदा पनि उचित प्रचारप्रसार नभएका कारण यो क्षेत्रमा भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । लामोसमयदेखि झाँकी प्रस्तुत गर्दै पाँचपोखरी पुग्ने गरेका अर्का झाँकी मानवीर तामाङ सडक पूर्वाधारको विकास गरे पर्यटक निकै बढ्ने बताउँछन् । ‘पैदल यात्राका लागि बाटो निकै कठिन भएकाले इच्छा भएर पनि जान नसक्नेहरु धेरै छन्,’ मानवीर भन्छन्, ‘स्थानीय निकाय तथा सरोकारवालाहरुले यसतर्फ ध्यान दिनु जरुरी छ ।’

पाँचपोखरी जाँदा जति बढी गन्तव्य नजिकिन्छ, उत्तिकै चिसो बतास चल्न थाल्छ । कान, मुख र हात नीला हुन थाल्छन् । बाटैभर भेटिइने पहेंला झारबाट अनौठो गन्ध आउन थाल्छ । जुन गन्ध तीर्थालुका लागि विष पनि हुनसक्छ । अनि लेक लाग्छ । तर, जति कष्टकर यात्राबाट पुगिन्छ पाँचपोखरी त्यो भन्दा आनन्द त्यहाँ पुगेपछि आउँछ । पाँचपोखरीमा भगवान् शिवको मन्दिर छ । ढुंगामा बयान गरिएको त्यहाँको किंवदन्ती निकै रोचक लाग्छ । किवंदन्तीमा भनिएको छ, ‘झन्डै २ हजार ३ सय भन्दा बढी वर्षअगाडि प्रख्यात सिकारी बुम्वा बाइवा सिकार खेल्दै पाँचपोखरी पुगेका थिए । उनी त्यहाँ पुग्दा धान खेती गरिरहेको देखेछन् । यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धान खेती गर्नेमध्येका मानिस (महादेव) सिकारी बुम्वालाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला, यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन् । यो दृश्य देखेपछि बुम्वाले आफ्नो सिकारी कुकुरलाई लगाएको घन्टी फुकाली रोपाइँ गर्दा अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्केछन् ।’

त्यसयता हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूणिर्माको दिनसम्म यहाँ मेला लाग्ने गरेको हो । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ ।

इन्द्रावती नदीको उद्गमस्थलका रुपमा रहेको पाँचपोखरीका सबै कुण्डका नामसमेत फरक फरक छ । भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्डका नामले यहाँका पोखरीहरु चिनिन्छन् । यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने त स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थ स्थल भनिएको छ । सुनपाती, धुपी, चौरीको दुधबाट बनेको छुर्पी जस्ता चिजहरु यहाँ पाइन्छ । गुराँस फुल्ने याममा यहाँका सबै पाखा रातै हुन्छन् । सेतो गुराँससमेत पाँचपोखरी जाने रुटमा पाइन्छ । त्यसैले यो रुटलाई पर्यटन व्यवसायीहरुले गुराँसको राजधानीसमेत भन्ने गरेका छन् । निकै नै सम्भाव्यता बोकेको यसको उचित प्रचारतिर अझै पनि सरोकारवालाहरु लाग्न सकेका छैनन् ।


क्याटेगोरी : पर्यटन, समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!