Techie IT
Sunday, January 24,2021 / आईतबार, माघ ११, २०७७
×
गृहपृष्ठखेलकुदकोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा

कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा


बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पलाँतीमा जारी जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियोगितामा चौतारा सागाँचोकगढी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । २२ गतेबाट सुरु भएको कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिताको आज भएको खेलमा त्रिपुरासुन्दरी गाउँपालिकालाई ४–२ गोल अन्तरले पाखा लगाउँदै चौताराले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको चौंथो मिनेटमा उमेश तामाङले गरेको गोलबाट चौताराले अग्रता लिएको थियो । खेलको १० औं मिनेटमा विजय तामाङले गोल गर्दै अग्रता दोब्बर पारे । जितका लागि उमेशले अर्काे गोल थपेर व्यक्तिगत गोलसंख्या दुई पुर्याए भने सोनाम तामाङ एक गोल गरे ।
त्रिपुरा सुन्दरीका लागि अन्डर १५ राष्ट्रिय टोलीका स्ट्राइकरसमेत रहेका कृष सापकोटाले सान्त्वना दुई गोल फर्काए । खेलको म्यान अफ दि म्याच सोनाम तामाङ चुनिए ।
एक लाख एघार हजार एक सय ११ पुरस्कार राशीको फुटवल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल भोलि हुनेछ ।
सिन्धुपाल्चोकका स्थानीय तह बिच प्रतिष्पर्धा भइरहेको प्रतियोगितालाई नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका १२ मध्ये नौ स्थानीय तहले सहभागिता जनाएको आयोजकले जनाएको छ । जिल्ला खेलकुद बिकास समितिको प्राविधिक सहयोग रहेको प्रतियोगितामा दोस्रो हुनेलाई पचपन्न हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिनेछ ।
कुल नौ लाख रूपैयाँ लागत अनुमान गरिएको उक्त प्रतियोगिताको आर्थिक व्यवस्थापन पुुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको परिवारले गरेको हो । प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई २० हजार नगद, हरेक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार र ट्रफि प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरलाई पनि नगद ७ हजार र ट्रफि प्रदान गरिनेछ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस