कोभिड १९ को नियममा रहि खेल प्रशिक्षण आवश्यक

- प्रकाश दंगाल
अहिले नोबेल कोरोना भाइरस (केभिड १९) ले विश्व आक्रान्त भइरहेको अवस्था छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको यो भाइरसले हालसम्म करिब सवा दुई लाख मानिसको ज्यान लिइसकेको छ भने ३१ लाख बढी संक्रमित रहेका छन् । यो भाइरसको चपेटामा नेपाल पनि अछुतो हुन सकेको छैन । फलस्वरुप यो भाइरस नेपालमा फैलन नदिनका लागि नेपाल सरकारले ११ चैतदेखि गरेको लक डाउन अझै कायम छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि सिंगो देश लकडाउनमा भएकाले यसले सबै क्षेत्र प्रभावित बनेको छ । नागरिकहरुले पनि बाँच्नुलाई पहिलो प्राथमिकतामा राखेर लकडाउनको पूर्ण पालना गरेको अहिलेको अवस्था हो । लकडाउनले सिंगो मानवीय जीवनलाई असर गर्नुका साथै कला, संस्कृति, मनोरञ्जनको अवस्थासमेत खस्केको छ ।
अहिलेको यो परिदृष्यमा अन्यसँगै खेल क्षेत्र पनि प्रभावित हुन गएको छ । अहिले सबै खेलाडीहरु जोखिमका कारण लक डाउनमा रहेका छन् जसले गर्दा खेलकुद गतिविधिहरु शून्यप्रायः छ । खेलाडीहरु लकडाउनका कारण प्रशिक्षणमा फर्कन पाएका छैनन् । सामुहिक रुपमा प्रशिक्षण गरिनुपर्ने खेलहरु निकै प्रभावित भएको अहिलेको अवस्था छ । जसकारण खेलाडीको मनोवल मात्रै हैन खेल क्षमतासमेत कमजोर हुन आउने निश्चितजस्तै देखिन्छ ।
अहिलेको यो वर्तमानमा खेलाडी तथा विद्यार्थीहरु घरभित्र बस्दा मोबाइल चलाउने, मोबाइलमा विभिन्न खेलहरु पब्जी, फ्रि फायर खेल्ने, लामो समय टि.भि. हेर्ने आदि क्रियाकलाप गरी समय खर्चिरहेका छन् जसले गर्दा उनीहरुमा शारीरिक अस्थिरता, नैराश्यता, लामो समय लकडाउनका कारण घरमा बस्दा बढि रिसाउने, घरमा अन्य सदस्यहरुसँग झगडा गर्ने, बाहिरी वातावरणमा घुलमिल हुन नपाउँदा डिप्रेशनको सिकार हुने र खेलाडी वर्गमा शारीरिक तौल बढ्ने, स्टामेना घट्ने जस्ता समस्या भएको देखिन्छ ।
खेलाडी राष्ट्रका गहना हुन् । यिनीहरुलाई जोगाइराख्नु राष्ट्रको जिम्मेवारी मात्रै नभई कर्तव्य हो । महामारीको यो अवस्थामा जोखिम क्षेत्र अलि कम भएको स्थानहरुमा भिडभाड नगरी सामाजिक दुरी कायम गरी खेलहरु खेल्ने, प्रशिक्षण गर्ने वातावरण तयार गर्नु तत्कालको लागि आवश्यक देखिएको प्रष्ट छ । कोरोना भाइरसको उच्च जोखिम भएको राष्ट्र इटालीले पनि हालै खेल क्षेत्रमा लाग्ने खेलाडीहरुलाई सामाजिक दुरी कायम गरी प्रशिक्षण गर्न खुल्ला गरेको छ भने सिरी ए लगायत अन्य लिगहरु विना दर्शक भएपनि खेलाइने मिति समेत तय गरिसकेको छ ।
अहिले लकडाउको अवस्थामा प्राय विस्तारै पसलहरु खुल्दै जाने, पासको नाममा काठमाडौँबाट हजारौँको संख्यामा गाडीमा मान्छे ओसार्ने, ठूलो संख्यामा प्रहरी प्रशासनको पहुँच नहुने जनसमुदायमा समूह बनाइ तास खेल्ने, विभिन्न गाउँमा एकै ठाउँमा संयौं मान्छेरु जम्मा हुने विकृति बढेको छ । यो हुनु नै आम नागरिकले अन्य कार्य नपाएरै हो भन्ने ठहर छ । जसका लागि उनीहरुको क्षमता, इच्छा, चाहनाअनुरुप सामाजिक दुरी कायम गर्ने, मास्क र सेनिटाइजरको प्रयोगलगायत कोरोना नियन्त्रणका लागि गर्नुुपर्ने आवश्यक नियम पालना गरि खेल क्षेत्रलाई निरन्तरता दिनु अहिलेको आवश्यकता र जरुरी छ । खेलमा लागेमा इम्युनिटी पावर बढ्नुका साथै अनुशासनसमेत भइन्छ । यो खेलको नियम नै हो ।
खेलाडीहरुलाई खेल खेल्न दिदैंमा उत्तम हुन्छ भन्ने होइन । यो तथ्य हो कि खेलाडीलाई पनि कोरोनाले छाड्दैन । तर कम जोखिम भएको स्थानमा सामाजिक दुरी कायम गरी आफ्नो स्वास्थ्य र खेलको स्तर उन्नती गर्नको लागि विहान वा वेलुका एक वा दुइ घण्टा खेल खेल्दा लकडाउन उल्लंघन हुन्छ भन्ने लाग्दैन । बरु कोठाभित्रै बसिरहँदा मनमा अनेक कुरा खेल्ने हुँदा खेलाडी मात्रै नभई आम नागरिकमा पछि सामाजिक तथा मनोसामाजिक समस्या देखिन सक्छ । बाहिरी वातावरणमा घुलमिल हुन नपाउँदा दिमाग एकोहोरो हुनसक्ने अवस्था नआउला भन्न सकिन्न ।
अतः कोरोना भाइरस (कोभिड १९) को नियमलाई पालना गरि आफू स्वस्थ र सुरक्षित भई समाज विकासका लागि सबैलाई सुरक्षित राख्दै र सामाजिक दुरी कायम गरी खेलाडीहरुले खेल खेल्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो ।
सिन्धुपाल्चोक इर्खुका स्थायी बासिन्दा दंगाल खेल प्रशिक्षक हुन् ।
क्याटेगोरी : खेलकुद, विचार/अन्तरवार्ता
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस