जिल्ला स्तरीय तेक्वान्दोमा पीपलडाँडा डोजाङ प्रथम (फोटोफिचर)

बाह्रविसे, ११ माघ ।
बाह्रविसे नगरपालिका–२, कर्थलीमा भएको छैठौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा पीपलडाँडा तेक्वान्दो डोजाङ ८ स्वर्णसहित प्रथम भएको छ । शुक्रबारबाट दुई दिनसम्म चलेको प्रतियोगितामा ६ स्वर्ण जित्दै कर्थली तेक्वान्दो डोजाङले दोस्रो स्थान हासिल गरेको छ ।
कर्थली तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा २ स्वर्णसहित तातोपानी तेक्वान्दो डोजाङ तेस्रो भयो ।
जिल्लाका विभिन्न स्थानमा रहेका तेक्वान्दो डोजाङमध्येबाट दुई सय खेलाडीले प्रतिष्पर्धा गरेका थिए । उनीहरुमध्ये प्रतियोगिताभर महिला तर्फ पीपलडाँडा तेक्वान्दो डोजाङकी सञ्जिता खड्का र पुरुष तर्फ कर्थली तेक्वान्दो डोजाङका विनोद थामी उत्कृष्ट फाइटर बने ।
पदक बिजेतासहित उत्कृष्ट फाइटरलाई पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रमाणपत्र र मेडल प्रदान गरे ।
प्र्र्तियोगितामा जिल्ला तेक्वान्दो संघ अन्तर्गतका १२ डोजाङका खेलाडी सहभागी भएको प्रतियोगिताका संयोजक गंगा तामाङले बताए । ‘विभिन्न २० तौल समुहमा दुईसय भन्दा बढी खेलाडी सहभागी भएका थिए,’ तामाङले भने, ‘प्रतियोगितामा बाह्रविसे, कुविण्डे, चौतारा, चौतारा जुगल, चौतारा हिराहरी, सानोसिरुवारी, खाडीचौर, तातोपानी, मान्द्रा, किस्टोन सहित कर्थली क र ख समूहले सहभागिता जनाएका थिए ।’
प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लामा तेक्वान्दो खेल भित्र्याई विगत २३ वर्षदेखि लगातार तेक्वान्दो खेलमा सक्रिय भई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक समेत हात पारेका प्रेम भण्डारीलाई सम्मान गरिएको थियो । भण्डारी तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष हुन् । उनलाई पूर्व मन्त्री बस्नेतले सम्मानपत्र प्रदान गरेका हुन् । कार्र्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कपन टाइगरको डेमोस्ट्रेसन समेत गरिएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस