भदौरे गणेश कप ः सिन्धुपाल्चोकले दुवै खेल जित्यो, भक्तपुर बाहिरियो (हेनुहोस् भिडियो)

सानोसिरुवारी, २७ पुस ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका –७ मा जारी प्रदेश नं. ३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन टिम सिन्धुपाल्चोकले एकै दिन दुई खेल जित्दा भक्तपुर बाहिरिएको छ ।
आजको पहिलो खेलमा सिन्धुपाल्चोकले भक्तपुरलाई २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गर्दा टिम भक्तपुर प्रतियोगिताबाट बाहिरिएको हो । भक्तपुर पहिलो दिन मकवानपुरसँग पराजित भएको थियो । आज भएको दोस्रो खेलमा नुवाकोटले रामेछापलाई २५–२१ र २५–२३ मा हरायो । त्यस्तै आजको तेस्रो खेलमा चितवनद्धारा काभ्रे २५–१५ र २५–१६ को सोझो सेटमा पराजित भयो भने चौथों खेलमा सिन्धुपाल्चोकसामू मकवानपुर निरीह बन्यो । सिन्धुपाल्चोकले मकवानपुरलाई २५–९ र २५–१६ को सोझो सेटमा हराएको आयोजक भदौरे गणेश सामाजिक संस्थाले जनाएको छ ।
प्रतियोगिताको पहिलो दिन मकवानपुर, चितवन र ललितपुरले विजयी सुरुवात गरेका थिए । खेलमा तीनै जिल्लाले आफ्ना प्रतिष्पर्धीलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेका हुन् ।
उद्घाटन दिनको पहिलो खेलमा मकवानपुरले भक्तपुरलाई २५–१८ र २५–२१ को सेटमा हरायो । त्यस्तै चितवनले सिन्धुलीलाई २५–११ र २५–१७ मा पराजित गरेको छ । तेस्रो खेलमा ललितपुरले दोलखालाई २५–२० र २५–१६ मा हराएको हो ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको भलिवल प्रतियोगिता भदौरे गणेश सामाजिक संस्थाले गरेको हो । नेपाने युथ क्लबको सह आयोजक रहेको छ । भ्रमण वर्ष २०२० को सफलताको लागि सिन्धुपाल्चोकसहित चौतारा साँगाचोकगढी नगरपालिका र सानोसिरुवारी क्षेत्रका पर्यटकीय महत्वका सम्पदाको प्रचारप्रसार गर्नका लागि यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रदेश नं. ३ का १३ मध्ये ११ जिल्ला सहभागी भएको आयोजक संस्थाका अध्यक्ष रविन गौतमले बताए । रसुवा र काठमाण्डौं बाहेक सबै जिल्लाका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।
प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख दुई हजार बीस रुपैंया नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टीमले भने एक लाख एक हजार दश रुपैंया नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको सो प्रतियोगितामा खेलभरिकै उत्कृष्ठ खेलाडी तथा विधागत उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
सिन्धुपाल्चोक जिल्लामा यति धेरै जिल्ला सहभागी भएको यो भलिबल प्रतियोगिता हालसम्मकै ठूलो प्रतियोगिता पनि हो । प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई आवास तथा खानाको व्यवस्था समेत आयोजक संस्थाले नै व्यहोरेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस