सागकी स्वर्ण पदक विजेता कसुम फेरि सम्मानित

चौतारा, २६ पुस ।
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णपदकधारी कसुम खड्का फेरि सम्मानित भएकी छिन् । चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाकी खड्कालाई नगर खेलकुद विकास समितिले नगद ५० हजारसहित सम्मान गरेको हो ।
उनलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । कसुमले १३औं सागमा कराते खेलतर्फ ४५ केजी तौल समूहबाट स्वर्णपदक जितेकी थिइन् । यसअघि स्वर्णपदकधारी कुसुमलाई विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । राष्ट्रका लागि स्वर्ण दिलाएको भन्दै गृह जिल्ला सिन्धुपाल्चोकसहित राजधानीमा सम्मान गरेका थिए ।
खड्कालाई राजधानीस्थित शंखमुल डोजो, ग्लासियर कलेजले सम्मान गरेको थियो । स्वर्ण पदक जितेर सिन्धुपाल्चोकको नाम उच्च गरेको भन्दै जिल्लाका विभिन्न संघ संस्थाहरुले पनि उनलाई सम्मान गरेको छ । जलवायू दिवशको मूल समारोहमा जिल्ला समन्वय समितिले मेलम्ची नगरपालिकाको गुफाडाँडामा, श्रीकृष्ण रत्न गंगा माध्यमिक विद्यालयले आफ्नो ७३ औं बार्षिकोत्सवमा सम्मान गरेको हो ।
त्यस्तै गृह गाउँ रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ६ को कार्यालय, श्री सिद्धि कमलादेवी माध्यमिक विद्यालय र कालिका सामुदायिक वन उपभोक्ता समितिले उनलाई सम्मान गरेको छ । विद्यालयले आफ्नो सेवा क्षेत्र भित्रको र पूर्व विद्यार्थी रहेको भन्दै सम्मान गरेको हो ।
कार्यक्रममा प्रथम जलवायु दिवस तथा शैक्षिक सम्मेलन २०७६ को प्रतिस्पर्धात्मक वक्तृत्वकलाका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सोही कार्यक्रममा नगरपालिकाको खेलाडीहरुलाई खेलकुद सामग्रीको वितरण गरिनुको साथै नगरपालिकामा खेल प्रशिक्षणको शुभारम्भ भएको घोषणा गरिएको थियो । नगर खेलकुद विकास समिति र कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको कार्यक्रमको समापन नगर खेलकुद विकास समितिका अध्यक्ष गणेश श्रेष्ठले गरेका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस