भदौरे गणेश कप : मकवानपुर, चितवन र ललितपुरको विजयी सुरुवात

सानोसिरुवारी, २६ पुस ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका –७ मा सुरु भएको प्रदेश नं. ३ स्तरीय पुरुष भलिबल प्रतियोगितामा मकवानपुर, चितवन र ललितपुरले विजयी सुरुवात गरेका छन् । आज(शनिबार)बाट सुरु भएको खेलमा तीनै जिल्लाले आफ्ना प्रतिष्पर्धीलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेका हुन् ।
आज भएको पहिलो खेलमा मकवानपुरले भक्तपुरलाई २५–१८ र २५–२१ को सेटमा हरायो । त्यस्तै चितवनले सिन्धुलीलाई २५–११ र २५–१७ मा पराजित गरेको छ । आज भएको तेस्रो खेलमा ललितपुरले दोलखालाई २५–२० र २५–१६ मा हराएको हो ।
जिल्लाकै सर्वा्धिक पुरस्कार राशी रहेको भलिवल प्रतियोगिता भदौरे गणेश सामाजिक संस्थाले गरेको हो । नेपाने युथ क्लबको सह आयोजक रहेको प्रतियोगितामा भोलि पाँच खेल हुनेछ । खेलको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले गरे ।
भ्रमण वर्ष २०२० को सफलताको लागि सिन्धुपाल्चोकसहित चौतारा साँगाचोकगढी नगरपालिका र सानोसिरुवारी क्षेत्रका पर्यटकीय महत्वका सम्पदाको प्रचारप्रसार गर्नका लागि यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रदेश नं. ३ का १३ मध्ये ११ जिल्ला सहभागी भएको आयोजक संस्थाका अध्यक्ष रविन गौतमले बताए । ‘रसुवा र काठमाण्डौं बाहेक सबै जिल्लाका खेलाडीहरु प्रतियोगितामा सहभागी हुदैं हुनुभएको छ,’ अध्यक्ष गौतमले भने । पर्यटन र खेलकुद एकैसाथ जोडिएकाले प्रतियोगितामा सहभागी हुन खेलाडी तथा दर्शकलाई समेत अध्यक्ष गौतमले निमान्त्रणा गरे ।
प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख दुई हजार बीस रुपैंया नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टीमले भने एक लाख एक हजार दश रुपैंया नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको सो प्रतियोगितामा खेलभरिकै उत्कृष्ठ खेलाडी तथा विधागत उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
सिन्धुपाल्चोक जिल्लामा यति धेरै जिल्ला सहभागी भएको यो भलिबल प्रतियोगिता हालसम्मकै ठूलो प्रतियोगिता पनि हो । प्रतियोगिता सञ्चालन गर्न चौतारा साँगाचोकगढी नगरपालिकाका साथै वडा कार्यालय र प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले समेत समन्वय गरिरहेको सह आयोजक क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए ।
प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई आवास तथा खानाको व्यवस्था समेत आयोजक संस्थाले नै व्यहोर्नेछ भने पर्यटकीय स्थलको चिनारी झल्काउने प्रचार समाग्री समेत प्रदर्शन गरिनेछ ।
क्याटेगोरी : खेलकुद
तपाईको प्रतिक्रिया दिनुहोस