चौतारा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड साँगाचोकमा सुरु

साँगाचोक–चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुक्रबारदेखि साँगाचोकमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गरे । प्रतियोगिताको उद्घाटन समारोहमा उनले नगरले खेलकुद उत्पादनमूखि क्षेत्र रहेको मान्यता राखेर उच्च प्राथमिकता राखेर लगानी गरिरहेको बताए ।
‘खेलकुदले स्थानीयदेखि राष्ट्रकै पहिचान बोक्नेमा नगर विश्वास गर्छ । त्यही विश्वासमा नगरले खेलकुदलाई प्राथमिकतामा राखेको छ,’ प्रमुख सापकोटाले भने ।
प्रत्येक स्पर्धाको बिजेताले ट्रफी तथा खेलाडीले मेडल पाउने छन् । त्यस्तै समग्रमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १५, १२ र ९ हजार रुपैयाँ नगर पुरस्कार पाउने छन् ।
तीन दिन चल्ने प्रतियोगितामा नगरका २३ मध्ये २१ विद्यालयले भाग लिएको नगर खेलकुद विकास समितिका सहसंयोजक अमृतमान श्रेष्ठले बताए । उनका अनुसार ती विद्यालयका झण्डै साढे ७ सय विद्यार्थीले प्रतियोगिताको विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आट्र्स, कराँते, तेक्वान्डो, उसु लगागयत स्पर्धा समेटिएको छ । यी बिधामा छात्र र छात्राको लागि छुट्टाछुट्टै स्पर्धा भइरहेको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितालाई वडा नं. १२, जनजागृति मावि र साँगाचोक युवा क्लवले व्यवस्थापन गरेको सहसंयोजक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रत्येक स्पर्धाको बिजेताले ट्रफी तथा खेलाडीले मेडल पाउने छन् । त्यस्तै समग्रमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १५, १२ र ९ हजार रुपैयाँ नगर पुरस्कार पाउने छन् ।
च्याम्पियन विद्यालयले रनिङशिल्ड हात पार्ने छ । सदरमुकाम चाैताराकाे कृष्ण रत्नगंगा मावि डिफेन्डिङ च्याम्पियन हाे । प्रतिकोगिताको समापन आइतबार हुनेछ ।
क्याटेगोरी : खेलकुद
तपाईको प्रतिक्रिया दिनुहोस