मंगलबार, माघ १७, २०७९
गृहपृष्ठखेलकुदसिएससी नगरस्तरीय फुटबल : कृष्ण रत्नगंगा च्याम्पियन

सिएससी नगरस्तरीय फुटबल : कृष्ण रत्नगंगा च्याम्पियन



चौतारा स्पोर्टिङ क्लव (सिएससी) ले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन कृष्ण रत्नगंगाले उपाधिको साथमा नगद १५ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता जुगलले ट्रफी र नगद १० हजार रुपैयाँ पुरस्कार हात पा¥यो ।


चाैतारा-विशाल रायमाझी (जंगे) को अलराउण्ड प्रदर्शनमा कृष्ण रत्नगंगा माविले प्रथम चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय अन्तर मावि ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।

प्रतियोगिताको फाइनलमा जुगल बोर्डिङ स्कुललाई १–२ गोलले स्तब्ध पार्दै कृष्ण रत्नगंगाले उपाधि जितेको हो । विभिन्न प्रतियोगिता खेलेर खारिएका रायमाझीले विद्यालयलाई च्याम्पियन बनाउन उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे ।

दुबै गोलमा उनको प्रत्यक्ष योगदान रह्यो । रायमाझीले एक गोलमा असिस्ट गर्दा अर्को एक गोल आफैँले गरे । तीनवटै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरस्थित दरवारडाँडा खेलमैदामा सोमबार भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको मध्यतिर रायमाझीले प्रहार गरेको फ्रिकिक पोष्टनजिक अनमार्क रहेका करुण घलेले हलुका हेड टचमा उत्कृष्ट गोल गरेर कृष्ण रत्नगंगालाई अग्रता दिलाए ।

आफूले बनाएको सुरुवाती मुभमा विपक्षी पोष्टमा नाचिरहेको बललाई चलाखीपूर्वक जाली चुमाएर रायमाझीले अग्रता दोब्बर पार्दै जितको आधार खडा गरे ।

लगत्तै परिवर्तित खेलाडी अनिल धिमालकोटीले उत्कृष्ट गोल फर्काउँदै अग्रता २–१ मा साँघुरो पारेर खेलमा फर्कँने जुगलको आशा जीवितै राखे । त्यसपछि दुबैतर्फबाट थप गोल ननिस्कँदा २–१ को अग्रता बचाएर कृष्ण रत्नगंगा च्याम्पियन बन्यो ।

उपविजेता जुगल बोर्डिङका खेलाडी ट्रफीसहित

सेमिफाइनलको खेलमा घाइते भएपछि जुगल आफ्ना क्याप्टेन तथा मुख्य स्ट्राइकरविनै मैदान उत्रिएको थियो । खेलको म्यान अफ द म्याच कृष्ण रत्नगंगाका हरि न्यौपाने भए । उनले ट्रफी जिते ।

सेमिफाइनलमा कृष्ण रत्नगंगाले ज्ञानमन्दिर नमुना मावि मेलचौर र जुगलले सेतीदेवी मावि स्याउलेलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

चौतारा स्पोर्टिङ क्लव (सिएससी) ले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन कृष्ण रत्नगंगाले उपाधिको साथमा नगद १५ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता जुगलले ट्रफी र नगद १० हजार रुपैयाँ पुरस्कार हात पा¥यो ।

प्रतियोगितामा जुगल बोर्डिङ स्कुलका मनिष सापकोटा उत्कृष्ट गोलकिपर, जुगलकै विवेक बागदास उत्कृष्ट डिफेन्डर, कृष्ण रत्नगंगाका साजन लामा उत्कृष्ट मिडफिल्डर र सेतीदेवी स्याउलेका व्रिजेन श्रेष्ठ उत्कृष्ट फरवार्ड घोषित भए ।

सिद्धिकमला मावि पीपलडाँडाका सचिन कुँवरले सर्वाधिक गोलकर्ताको उपाधि गोल्ड्रेन बुथ पाए । उनले कम खेल खेलेर प्रतियोगिताभर चार गोल गरेका थिए ।

कृष्ण रत्नगंगाका विशाल रायमाझी (जंगे) प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले गोल्ड्रेन बल पाए । जनजागृित मावि साँगाचाेकले फेयर प्लेकाे उपाधि पायाे । उत्कृष्ट खेलाडीले ट्रफीको साथमा खेल टिसर्ट सेट पुरस्कार पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित विशाल रायमाझी (जंगे) (बाँया) ।

प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा, वडा नं. ७ का वडाध्यक्ष डम्बरबहादुर तामाङ, वडा नं. ८ का वडाध्यक्ष अमृतबहादुर दंगाल तथा वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष रामबहादुर घले लगायतले विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

जिल्ला फुटवल संघले प्राविधिक सहयोग उपलब्ध गराएको प्रतियोगितामा नगरभित्रका १६ मावि (कक्षा १० सम्म) ले भाग लिएका थिए । प्रतियोगिताको समापनमा आयोजक चौतारा स्पोर्टिङले सहयोगीलाई सम्मान गरेको थियो ।

‘पहिलो प्रतियोगितामै अपार समर्थन र सहयोग पायौँ । आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिन उत्साह मिलेको छ,’ आयाेजक चौतारा स्पोर्टिङका अध्यक्ष सविन श्रेष्ठले भने ।

क्लवका सचिव राकेश रानाले विद्यार्थीलाई फुटबलमा लाग्न प्रोत्साहन गर्दै खेल प्रतिभा पहिचान गर्न यस्ता प्रतियोगिता बर्सेनी सञ्चालन गर्ने बताए ।

 


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!