आईतबार, फागुन ४, २०८१
गृहपृष्ठखेलकुदतेस्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेस कात्तिक १७ मा

तेस्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेस कात्तिक १७ मा


चौतारा–दौडमार्फत ऐतिहासिक युद्धकिल्ला दुगुनागढीको संरक्षण एवम् प्रचार गर्ने उद्देश्यले यस वर्ष पनि तेस्रो संस्करणको माउन्टेन ट्रेलरेस प्रतियोगिता आयोजना गरिएको छ ।

भोटेकोसी गाउँपालिकाको आयोजना र गोरख बक्स गणको सहकार्यमा तेस्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेस हुन लागेको हो । साढे २४ किलोमिटर दुरीको यो दौड आउँदो कात्तिक १७ गते सञ्चालन हुने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको अगुवाइ गरिरहेको गोरख बक्स गणले आवश्यक व्यवस्थापकीय तथा तयारीको काम सुरु गरिसकेको छ । गणका अनुसार खुला, महिला र जिल्लावासीका लागि गरी तीन विधामा दौड सञ्चालन हुनेछ । सबै विधाका बिजेताका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

दौडको खुला बिधाका उत्कृष्ट ६ जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । महिला र जिल्लावासी विधामा भने पहिलो, दोस्रो र तेस्रो हुनेले पुरस्कार पाउने छन् । खुलातर्फ पहिलो हुनेले नगद १ लाख १० हजार, दोस्रोले ७५ हजार र तेस्रो ५५ हजार पाउँदा चौथो र पाँचौ र छैठौँ हुनेले क्रमशः ४०, ३० र २० हजार रुपैयाँ हात पार्ने छन् ।

महिला बिधातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ६०, ३५ र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै जिल्लावासीतर्फ पहिलोले ३०, दोस्रोले २० र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद पाउने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा भाग लिने खेलाडीको सम्भावित जोखिमलाई ध्यान दिँदै ५ लाख रुपैयाँ बराबरको बिमाको व्यवस्थासमेत गरिएको छ ।


प्रतियोगिताको भाग लिनका लागि आइतबारदेखि नाम दर्ता सुरु भइसकेको छ । आयोजकका अनुसार कात्तिक १५ गतेसम्म नाम गर्दा गर्न सकिने छ । गोरख बक्स गण चौतारा व्यारेक, जलेटार व्यारेक बाह्रविसे तथा लामोसाँघु र झीर्पूस्थित नेपाली सेनाको व्यारेकमा नाम गर्दा गर्ने व्यवस्था आयोजकले मिलाएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने दौड प्रतियोगिता भोटेकोसी गाउँपालिका–३ स्थित सुख्खा बन्दरगाह भन्सारबाट सुरु हुनेछ । १ हजार २ सय ३५ मिटरको उचाइबाट सुरु हुने दौड नयाँ पुल, पाङलाङ, भालढुङ्ग, लिस्तिकोट हुँदै २ हजार ४ सय २५ मिटर उचाइको गुम्बा पुगेर सिल्दुम, धारापानी, गोदाम भएर २ हजार १ सय २२ मिटर उचाइको दुगुनागढीमा पुगेर सम्पन्न हुनेछ । खेलाडीलाई दर्ता शुल्क नलाग्ने आयोजकले जनाएका छन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!