शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठखेलकुदअष्ट्रेलिया बन्यो टी-२० विश्वकप च्याम्पियन

अष्ट्रेलिया बन्यो टी-२० विश्वकप च्याम्पियन


दुबई- प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले निर्णायक मोडमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाले आइतबार ट्वान्टी–२० विश्वकप जितेको छ । अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई सात बलको खेल बाँकी छँदै आठ विकेटले पराजित गर्‍यो र त्यसमा वार्नरसँगै मिचेल मार्सले पनि अर्धशतक बनाए । कीर्तिमान पाँचपल्ट एकदिवसीय विश्वकप जितेको अस्ट्रेलियाले ट्वान्टी–२० क्रिकेटको विश्वकप जितेको भने यो नै पहिलोपल्ट हो ।

प्रतियोगितामा लक्ष्य पछ्याउने टिम जित्ने परम्परालाई कायम राख्दै अस्ट्रेलिया नै उपाधिको भिडन्तमा विजयी रहेको हो । अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेट गुमाएर १ सय ७३ रन बनाएर विजय लक्ष्य पूरा गर्‍यो । प्रतियोगिताभरि उच्च लयमा रहेका बायाँ हाते ब्याटर वार्नरले ३८ बलमा आक्रामक ५३ रन बनाए । उनको ब्याट्बाट चार चौका र तीन छक्का निस्केको थियो । वार्नरले दोस्रो विकेटका लागि प्लेयर अफ द म्याच मार्ससँग ९२ रनको साझेदारी गरे ।

उनी ट्रेन्ट बोल्टको बलमा बोल्ड भए । अविजित रहेका मार्सले ५० बलको सामना गरेर ७७ रन बनाए । उनले छ चौका र चार छक्का प्रहार गरे । अस्ट्रेलियाका अर्का प्रारम्भिक ब्याटर तथा कप्तान एरोन फिन्चले पाँच रन मात्र बनाए । ग्लेन म्याक्सवेल १८ बलमा २८ रन बनाई अविजित रहे । न्युजिल्यान्डका बलरमध्ये दुवै विकेट बोल्टले नै थिए । अरू कोही पनि बलर प्रभावशाली रहेनन् र सबैले खर्चिलो बलिङ गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । त्यसका कप्तान केन विलियम्सले सर्वाधिक ८५ रन बनाए । त्यसका लागि उनले ४८ बल मात्र उपयोग गरे र १० चौका र तीन छक्का प्रहार गरे । उनले १८ रन बनाएका ग्लेन फिलिप्ससँग ६८ रनको उपयोगी साझेदारी गरे । फिलिप्सले १७ बलको आफ्नो इनिङ्समा एक चौका र एक छक्का प्रहार गरे ।

न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याटर मार्टिन गप्टिलले तीन चौका मद्दतले २८ रन बनाए । अविजित ब्याट्सम्यानमध्ये जेम्स निसमले सात बलमा १३ रन बनाए । अस्ट्रेलियाका बलरमध्ये जस हेजलउड सर्वाधिक सफल रहे । उनले चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए । अर्को एक विकेट एडम जाम्पाको नाममा रह्यो । न्युजिल्यान्ड सन् २०१९ को वान–डे क्रिकेटको विश्वकप फाइनलमा पनि पराजित रहेको थियो । न्युजिल्यान्डले यसै वर्ष आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलमा भने भारतलाई पराजित गरेको थियो ।

वार्नर प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । उनले पाकिस्तानविरुद्धको सेमिफाइनलमा ४९ र वेस्ट इन्डिजविरुद्धको सुपर १२ को अन्तिम खेलमा ८९ रन बनाएका थिए ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!