शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठखेलकुदजितविहीन भारतलाई अफगानिस्तानको चुनौती

जितविहीन भारतलाई अफगानिस्तानको चुनौती


एजेन्सी । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतले आज अफगानिस्तासँग खेल्दैछ । अबुधाबीमा हुने यस खेलमा अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा भारत रहेको छ ।

सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुने खतरा समेत छ ।

भारत पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्याण्डसँग ठुलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले गुमाएको भारतले दोस्रो खेलमा न्युजिल्याण्डसँग ८ विकेटको पराजय भोग्न पर्यो । सुरुवाती दुई खेलमा ठुलो अन्तरको हारले भारतीय टिमको मनोबल कमजोर देखिन्छ । प्रतियोगितामा फर्कन भारतलाई ठुलो अन्तरको जित चाहिएको छ ।

अफगानिस्तान समूह बीको दोस्रो स्थानमा छ । उसले तीन खेलमा दुई खेल जितेको छ । यस अवस्थामा अफगानिस्तानलाई कमजोर ठानेको खण्डमा भारतका लागि महङ्गो पर्न सक्छ । अफगानिस्तानसँग लामो सट प्रहार गर्ने ब्याट्सम्यानदेखि विश्वका उत्कृष्ट स्पिनर समेत रहेका छन् । रासिद खान, मुजीबले भारतीय टिमलाई दुख दिने ठानिएको छ ।

लगातार दुई खेल गुमाएको भारत प्रतियोगिताबाट बाहिरिने संघारमा छ । भारतलाई सेमिफाइनल पुग्न अफगानिस्तानविरुद्ध ठुलो अन्तरको जित आवश्यक छ । अफगानिस्तानसँगै भारतले नामिबिया, स्कटल्याण्डलाई समेत ठुलो अन्तरले हराउन आवश्यक छ । पाकिस्तान र न्युजिल्याण्डसँग ठुलो अन्तरले हारेका कारण भारतलाई राम्रो रनरेटको समेत आवश्यकता छ ।

खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सूरु हुनेछ । बुधबारनै हुने पहिलो खेलमा पौने ४ बजे न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन् । सेमिफाइनल पुग्न न्युजिल्याण्डका लागि खेल महत्वपुर्ण छ । यस समूहबाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!