आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदआजबाट इपीएल, पहिलो खेल काठमाण्डौं र ललितपुरबीच हुँदै

आजबाट इपीएल, पहिलो खेल काठमाण्डौं र ललितपुरबीच हुँदै


काठमाण्डौं 

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ खेल्दै छन् । खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुनेछ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ। काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् ।

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ । यस खेलको विजेताले फाइनल स्थान बनाउनेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो ।

इपिएलको इतिहासमा ललितपुर सर्वाधिक सफल टोली हो । पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । ललितपुरले तेस्रो संस्करणको उपाधि जित्दा कप्तान ज्ञानेन्द्र मल्ल कप्तान थिए । तर, यसपटक व्यक्तिगत कारण देखाउँदै मल्लले प्रतियोगिता सुरु हुनु तीन दिनअघि मात्र इपिएल नखेल्ने घोषणा गरेका छन् । ललितपुरले उनको स्थानमा कुशल भुर्तेललाई कप्तानीको जिम्मेवारी दिएको छ ।  काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछाने छन्।

यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन्।

प्रत्येक टिममा ४-४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन्।

ती २४ खेलाडी विभिन्न ११ देशका छन्। श्रीलंकाबाट सबैभन्दा बढी ८ खेलाडीले इपिएल खेल्दैछन्।

यस्तै टेस्ट टिमको कप्तान भइसकेका चार खेलाडी पनि इपिएलमा छन्।

हाल बंगलादेशको एकदिवसीय टिमका कप्तान तमिम एकबालसहित पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, जिम्बावेका टी-२० टिमको कप्तानी गरिसकेका सिकन्दर राजा र श्रीलंकाका पूर्वकप्तान उपुल थारांगा यसपटकको इपिएलमा मैदान उत्रनेछन्।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!