शुक्रबार, असोज १, २०७८
गृहपृष्ठखेलकुद‘सि डिभिजनमा छनोट नै अन्तिम लक्ष्य’–चौतारा स्पोर्टिङका सचिव राना

‘सि डिभिजनमा छनोट नै अन्तिम लक्ष्य’–चौतारा स्पोर्टिङका सचिव राना


गएको भदौ १० गतेबाट सहिद स्मारक सि डिभिजन लिग छनोट प्रतियोगिता भइरहेको छ । देशभरका विभिन्न ७८ क्लबले सहभागिता जनाएको प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाबाटै पहिलोपटक यो छनोट खेलमा क्लब सहभागी भएको छ । चौतारा स्पोर्टिङ क्लबले समूह एक्समा रहेर प्रतिष्पर्धा गर्ने भएको हो ।
अहिले क्लब तयारीमा रहेको छ । आगामी असोज ४ गते क्लबले पहिलो खेल खेल्दैछ । खेलको पूर्व तयारी, प्रतियोगिताको लक्ष्य र अन्य खेलकुदको पक्षमा आधारित रहि सिन्धु खबर डटकमले चौतारा स्पोर्टिङ क्लबका सचिव तथा व्यवस्थापक राकेश रानासँग गरेको कुराकानीको सारसंक्षेप । संं.

सिन्धुपाल्चोकबाट पहिलोपटक सि डिभिजन छनोट खेलमा क्लब सहभागी हुँदैछ, कस्तो अनुभव भइरहेको छ ?

सिन्धुपाल्चोक, विशेषतः चौताराका अग्रज खेलाडीहरु सबैको पहिले देखिकै लक्ष्य र सपना जस्तै थियो यस प्रकारका राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा जिल्लाबाट पनि सहभागिता जनाउने, जुन विविध कारणले पूरा हुन सकिरहेको थिएन । उक्त लक्ष्य र सपनालाई आत्मसाथ गर्दै विविध चुनौतिहरुका बावजुद पनि यस पटक हामीले जमर्को गरेका छौं । हाम्रो यस जमर्कोमा वर्तमान खेलाडीहरु, क्लवका प्रतिनिधिहरुको मात्र नभई चौतारालगायत सिन्धुपाल्चोक जिल्लाका पूर्व खेलाडीहरु तथा खेलप्रेमीहरुको पनि उत्तिकै सक्रिय सहभागिता छ । यस प्रतियोगितामा सहभागिता पश्चात हाम्रो ठाँउको खेलकुद गतिविधि अझै कृयाशिल भई अगाडि बढ्नेछ भन्ने हामीले विश्वास लिएका छौं । त्यसैले सिन्धुपाल्चोक जिल्लाबाट पहिलोपटक सि डिभिजन छनौट प्रतियोगितामा सहभागी हुँदै गर्दा हामीमा नयाँ जोश, जाँगर र उत्साहको अनुभव भईरहेको छ र यसका साथसाथै हाम्रो काँधमा एक किसिमको जिम्मेवारी थपिएको महशुस समेत भईरहेको छ ।

कसरी सोच आयो, यो प्रतियोगितामा सहभागी जनाउने भनेर ?

वि.सं. २०७० सालमा क्लवको स्थापना काल देखि नै हामी खेलकुद क्षेत्रमा सकृय भएर केही नयाँ उपलब्धीहरु हासिल गर्न सकिन्छ कि भनेर लागिरहेका थियौं । यस बिचमा हामीले जिल्ला भित्र र जिल्ला बाहिर आयोजना भएका साना ठूला विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागिता जनायौं । वि.सं. २०७२ को सिन्धुपाल्चोक जिल्ला लिग फुटबल प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भयौं र त्यस पछि वि.सं. २०७४ सालको सिन्धुपाल्चोक जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि उचाल्यौं । यस बाट हामीलाई थप हौसला मिल्दै गयो । तर क्लवका सदस्य तथा खेलाडीहरु विदेशिनु पर्ने बाध्यता, कोरोना महामारी जस्ता विविध कारणले पछिल्लो समय क्लवको गतिविधि निस्कृय बन्दै गईरहेको थियो ।
यसै बीचमा अखिल नेपाल फुटबल संघले सि डिभिजन छनोट प्रतियोगिता आयोजना गर्न लागेको जानकारी प्राप्त भयो । फुटबलमा लागि रहेका केही खेलाडी भाईहरुले सकृयताका साथ क्लवलाई सहभागिताको लागि कुरा अगाडी बढाई रहेका थिए । खेलाडी भाईहरुको यस किसिमको सकृयता तथा उर्जाका कारण हाम्रो क्लवलाई पनि थप उर्जा मिल्यो र हामी सहभागिताको लागि छलफल मा जुट्यौं । छलफलको क्रममा हामीले अग्रज खेलाडी, खेलप्रेमी तथा सरकोकारवालाहरु सँग विभिन्न चरणमा बैठक बस्यौं र सहभागिताको निष्कर्षमा पुग्यौं ।

तयारी कस्तो छ ?

विभिन्न चरणको छलफल ्पछि हामी प्रतियोगितामा सहभागी हुने निष्कर्षमा पुग्यौं । सहभागिताका लागि हामीलाई सबैभन्दा ठूलो चुनौति भनेको आर्थिक पक्ष रहेको थियो । त्यसका लागि हामीले देश विदेशमा रहेका चौतारावासी तथा जिल्लावासीहरु, व्यापार व्यवसायमा संलग्न रहेका व्यवसायीहरु, खेलप्रेमीहरु, निर्माण व्यवसायीहरु, स्थानीय क्लवहरु, चौतारा साँगाचोकगढी नगरपालिका लगायतका अन्य पालिकाहरु, वडा कार्यालयहरु, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ सिन्धुपाल्चोक लगायतका सरोकारवाला निकायहरुसँग सहयोगका लागि अपिल गर्ने निर्णय ग¥यौं र सोही अनुसार हामी अन्य तयारीमा लाग्यौं । प्रतियोगिता अवधिभर हामीलाई करिव १० लाख रुपैया आवश्यक पर्न आउँछ जसमध्ये हालसम्म करिब ५ लाख बराबरको सहयोग जुटिसकेको छ । थप सहयोग जुट्ने क्रममा छ ।
हामीलाई अर्को ठूलो चुनौती भनेको चौतारा आसपास खेलमैदानको अभाव रहेको छ । खेलाडीहरुलाई नियमित अभ्यासको लागि उपयुक्त मैदान पाउन कठिन भईरहेको छ । चौताराको आसपास इर्खु, मेलचौर, पिपलडाँडा, देउराली लगायतका खेल मैदानहरुलाई विकल्पको रुपमा प्रयोग गर्नका लागि हामीले प्रयास ग¥यौं तर कुनै पनि मैदान अभ्यासका लागि उपयुक्त अवस्थामा थिएनन् । त्यसैले चौताराको टुडिखेलमा निर्माणाधिन अवस्थामा रहेको मिनि रंगशालाको केही भागलाई मेशिनको सहायताबाट सम्याएर अभ्यासका लागि तयार ग¥यौं तर हाल नियमित वर्षाका कारण त्यो खेलमैदानमा पानी जमेका कारण थप समस्या उत्पन्न भईरहेको छ । हामीले लामोसाँघु स्थित वसन्तपुर खेल मैदानमा पनि ५ दिने वन्द प्रशिक्षण सम्पन्न ग¥यौं तर त्यहाँ खेलाडीहरुको खाना तथा बास लगायतका लागि बढी नै आर्थिक भार पर्न जाने र क्लवले उक्त आर्थिक भार व्यहोर्न सक्ने अवस्था नभएकाले हाल हामी चौताराको आहालडाँडा स्थित कभर्ड हल तथा स्याउले स्थित खेल मैदानमा नियमित अभ्यास गराईरहेका छौं । स्याउले स्थित खेल मैदान ९ ए साईड मैदान भएको र दुरीको हिसावले केही टाढा पर्ने भएता पनि हामीसँग अन्य विकल्प नभएको कारण कठिनाईका बावजुद पनि हामी नियमित अभ्यासमा छौं ।
नियमित अभ्यासका लागि हामीले विगत २० दिन देखि लाइसेन्स प्राप्त प्रशिक्षक अनुबन्ध गरेका छौं र प्रशिक्षकको प्रत्यक्ष निगरानीमा खेलाडीहरुले कडा मिहेनत गरि रहेका छन् । हाम्रो पहिलो लक्ष्य भनेको प्रतियोगितामा सहभागीताको थियो र हाल आएर हामीले प्रतियोगितामा राम्रो नतिजा निकाल्ने लक्ष्य सहित नियमित अभ्यास गराईरहेका छौं । समग्रमा भन्नु पर्दा विविध चुनौतीहरुका बावजुद पनि हाम्रो तयारी राम्रो भईरहेको छ ।

खेलाडी छनोट कसरी गरियो ?ःमापडण्ड कस्तो थियो ?

हामीले जिल्ला भित्र तथा जिल्ला बाहिरका हाम्रो सम्पर्कमा रहेका केही खेलाडीलाई यही भाद्र ५ गते देखि ९ गते सम्म लामोसाँघुको वसन्तपुर खेल मैदानमा वन्द प्रशिक्षणमा राख्यौं । उक्त अवधिमा प्रशिक्षकले अभ्यासका विभिन्न चरणहरुमा खेलाडीहरुलाई सहभागी गराउनु भयो । खेलाडीहरुको उक्त वन्द प्रशिक्षण अवधिको प्रदर्शन, विगतमा उनीहरुले विभिन्न प्रतियोगिताहरुमा देखाएको प्रदर्शन, खेलाडीको अनुशासन तथा गतिविधि, प्रशिक्षकका रणनीति अनुसार आवश्यक खेलाडीहरु लगायतका विषयलाई मध्य नजर गर्दै प्रशिक्षक तथा क्लवका पदाधिकारीहरुको बैठकबाट खेलाडी छनोट भएको छ । खेलाडी छनोट गर्दा हामीले विशेषगरी सिन्धुपाल्चोक भित्रका खेलाडीहरुलाई बढी प्राथमिकतामा राखेका छौं जसका कारण हाम्रो जिल्लाका खेलाडीहरुले अनुभव प्राप्त गरी भविष्यमा आफ्नो खेल कौशललाई अझ विकास गर्न सकुन् र नयाँ खेलाडीको उत्पादनबाट जिल्लाको फुटबल क्षेत्रमा केही सहयोग पुगोस् भन्ने हो । अधिराज्यव्यापी प्रतियोगिता भएको कारण हामीले टिमलाई अझ दरिलो बनाउन जिल्ला बाहिरका केही खेलाडीहरुलाई पनि टिममा समेटेका छौं । जिल्ला भित्र र जिल्ला बाहिरका खेलाडीहरुको समिश्रण बाट एउटा राम्रो टिम तयार भएको छ । आशा छ यो टिमले राम्रो नतिजा निकाल्न सफल हुनेछ ।

लिग चरणका दुई प्रतिष्पर्धीलाई कसरी लिनु भएको छ ?

एन्फाले सहभागी ७८ टिमलाई जम्मा २६ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता संचालन गरिरहेको छ जसमा हामी चौतारा स्पोर्टिङ क्लव समूह एक्समा रहेका छौं र हाम्रो समूहमा मकवानपुरको राप्ती रिभर युथ क्लव र बाजुराको रानीबन स्पोर्टस क्लव रहेका छन् । हामीले अहिले यी दुबै क्लवको खेल क्षमताको बारेमा बुझ्न पाएका छैनौं । ग्रुप एक्सको पहिलो खेल नै असोज ४ गते हाम्रो क्लव र मकवानपुरको राप्ती रिभर युथ क्लव सँग रहेकोले उक्त टिमको खेल हामीले अध्ययन गर्ने मौका पाएका छैनौं । अब उक्त खेलको दौरानमा मात्र उक्त टिमको खेल क्षमता देखिने छ र खेल अवधिमा हामी सोही अनुसारको रणनीति बनाई खेल्ने प्रयाश गर्नेछौं । साथै हाम्रो दोश्रो खेल बाजुराको रानीबन स्पोर्टस क्लव सँग असोज ८ गते हुनेछ । हाम्रो दोश्रो खेल भन्दा अगाडी असोज ६ गते हाम्रा दुई प्रतिष्पर्धीहरु राप्ती रिभर युथ क्लव र रानीबन स्पोर्टस क्लव एक आपसमा भिड्नेछ् । सोही अवसरमा हामीले हाम्रो दोश्रो प्रतिद्वन्दी रानीबन स्पोर्टस क्लवको खेल क्षमता बुझ्ने अवसर पाउनेछौं र सोही अनुसार हामी रणनीति बनाएर मैदानमा उत्रनेछौं । हाम्रो यस पालिको लक्ष्य सहभागीता मात्र नभई राम्रो नतिजा निकाल्ने भएको हुनाले सम्भवत हामी यी दुई प्रतिष्पर्धीहरुलाई पछी पार्दै दोश्रो चरणमा प्रवेश गर्नेछौं ।

सि डिभिजनमा छनोट हुन निकै चुनौति देखिन्छ, लक्ष्य के छ ?

एन्फाले भरबाट सहभागी ७८ टिमलाई ३÷३ टिमको समूह बनाई जम्मा २६ समूहमा विभाजन गरेको छ जसमा हामी समूह एक्समा मकवानपुरको राप्ती रिभर युथ क्लव र बाजुराको रानीबन स्पोर्टस क्लव सँग लिग चरणमा प्रतिस्पर्धा गर्दैछौं । ७८ वटा टिम सहभागी भएको र लिग चरणमा समूह विजेता हुने २६ टिमले मात्र दोश्रो चरणमा प्रवेश पाउने र दोश्रो चरणदेखि नक आउट विधिबाट प्रतियोगिता संचालन हुने भएकाले सि डिभिजनमा छनोट हुन निकै चुनौतीपूर्ण रहेको छ । मैले अगाडि भने जस्तै शुरुवाती दिनमा हामीले यस प्रतियोगितामा कम्तीमा पनि सहभागिता मात्रै भए पनि जनाउने लक्ष्य राखेका थियौं भने हाल आएर देश विदेशमा रहनु भएको खेलप्रेमी दाजु भाई दिदि बहिनीहरुको साथ र सहयोगले हामीलाई थप उर्जा र हौसला मिलेको छ र हामीले सोही अनुसार कडा मिहेनतका साथ लाइसेन्स प्राप्त प्रशिक्षकको प्रत्यक्ष निगरानीमा नियमित अभ्यास पनि गराईरहेका छौं । हाम्रो अहिलेको लक्ष्य भनेको सि डिभिजनमा छनोट हुने नै रहेको छ । खेल हो, खेलमा जे पनि हुन सक्छ । तर हामी छनोट हुने लक्ष्यका साथ नै मैदानमा उत्रिनेछौं । हाम्रो लक्ष्य भनेको सि डिभिजनमा छनोट भएर हामीलाई देश विदेश बाट साथ र सहयोग प्रदान गर्नु हुने सम्पूर्ण दाजु भाई दिदि बहिनीहरुको विश्वासलाई सार्थक बनाउने हो ।

चौतारा स्पोर्टिङ क्लब छनोट हुने आधार के हुन सक्ला ? खेलले कुन समीकरण लिए चौतारा अगाडि बढ्छ ?

लिग चरणमा समूह विजेता हुने २६ टिम मात्र दोश्रो चरणमा प्रवेश पाउनेछन् । हामी समूह एक्स को समूह विजेता बन्न सक्यौं भने दोश्रो भरणमा प्रवेश गर्नेछौं । दोश्रो चरणमा प्रवेश गर्ने २६ टिमलाई ३ वटा समूहमा विभाजन गरिएको छ जसमा समूह १ मा ८ वटा टिम रहेका छन् भने समूह २ र ३ मा ९÷९ वटा टिम रहेका छन् । हाम्रो चौतारा स्पोर्टिङ क्लव लिग चरणबाट समूह विजेता भई दोश्रो चरणमा प्रवेश ग¥यो भने समूह ३ मा पर्नेछ । दोश्रो चरणदेखि प्रतियोगिता नकआउट विधिबाट संचालन हुनेछ र हामी ४ वटा नकआउट चरणमा विजयी भयौं भने हामी सि डिभिजनको लागि छनोट हुनेछौं ।

जिल्ला फुटबल संघको सहयोग कस्तो छ ? अनि खेलकुद विकास समितिको ?

हामीले सि डिभिजन लिग छनोट प्रतियोगितामा सहभागी हुनका लागि छलफल गर्दा देखि नै जिल्ला फुटबल संघका उपाध्यक्ष तथा चौताराका स्थानीय बासिन्दा अमृत श्रेष्ठ दाई लगायतका सरोकारवालाहरु सँग प्रत्यक्ष सम्पर्कमा रहिरहेका छौं । उपाध्यक्ष अमृत दाईले हामीलाई राम्रो साथ सहयोग तथा सल्लाह सुझाव दिदै आउनु भएको छ र उहाँ स्वयं आफू पनि सकृय रुपमा व्यवस्थापनमा लागि परि रहनु भएको छ । यसका साथसाथै हामीले जिल्ला फुटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठ ज्यू सँग पनि समन्वय गरेर लामोसाँघु स्थित वसन्तपुर खेलमैदानमा वन्द प्रशिक्षण संचालन गरि सकेका छौं । उक्त वन्द प्रशिक्षणको क्रममा खेल मैदानमा रहेको घाँसहरु काटेर मैदानलाई खेल्न योग्य बनाउने देखि अभ्यास संचालनका लागि आवश्यक बल, कोन, मार्कर लगायतका केही खेलकुद सामाग्रीहरु पनि जिल्ला फुटबल संघबाट हामीलाई प्राप्त भएको छ । सिन्धुपाल्चोक जिल्ला बाट प्रथम पटक कुनै टिम यस प्रकारको प्रतियोगितामा सहभागी हुन लागेको विषयमा अध्यक्ष ज्यूले खुशी व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ । जिल्ला खेलकुद विकास समिति बाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । जिल्लाका खेलकुद सँग सम्बन्धित संघ संस्थाहरुबाट थप सहयोग हुने आशामा छौं ।

जिल्लावासी अनि खेलप्रेमीबाट कस्तो हौसला आएको छ ?

हामीले यस प्रतियोगितामा सहभागीता जनाउन पाउनुमा साच्चै भन्नु पर्दा देश तथा विदेशमा रहनु भएका जिल्लावासी अनि खेलप्रेमीहरुको ठूलो भूमिका रहेको छ । हामीले सहभागिताको लागि छलफल गर्ने क्रममा शुरु देखि नै देश विदेशमा रहनु भएको जिल्लावासी पूर्व अग्रज खेलाडी, समकालीन खेलाडी साथीहरु तथा खेलप्रेमीहरु सँग छलफल गर्दा उहाँहरु निकै उत्साही हुनु भएको हामीले अनुभव ग¥यौं । उहाँहरुले सिन्धुपाल्चोक जिल्लाको लागि यो एउटा ठूलो अवसर र उपलब्धी भएको र यसका लागि उहाँहरु सदैव सहयोग गर्न तत्पर रहेको कुरा हामीलाई बताउनु भएको छ । यस बाट हामीलाई ठूलो हौसला मिल्यो र हामी आज यो अवस्था सम्म आइपुगेका छौं ।
हामीले हाम्रो क्लवको फेसबुक पेजमा सहयोगको लागि अपिल गरिरहँदा धेरै जनाले स्वस्फूर्त रुपमा हामीलाई आर्थिक सहयोग गर्नु भएको छ ।

देश विदेशमा रहेर दुख र परिश्रम गरेर कमाएको पैसा हामीलाई विश्वास गरेर सहयोग गर्नु भएको छ । २ हजार देखि ३० हजारसम्म व्यक्तिगत सहयोग पनि गर्नु भएको छ । यसले हामीलाई अझ बढी जिम्मेवार बनाएको छ । यसका साथै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ सिन्धुपाल्चोक, विभिन्न स्थानीय क्लव तथा समूहहरु, नगरपालिका, वडा कार्यालयहरु, निर्माण व्यवसायीहरु तथा अन्य व्यवसायमा संलग्न व्यक्तिहरुबाट सहयोग पाईरहेका छौं र सहयोगको प्रतिबद्धता समेत पाईरहेका छौं ।
सिन्धुपाल्चोक जिल्लाको खेलकुद गतिविधि र युवा खेलाडीहरुलाई नयाँ दिशा दिने हाम्रो यस अभियानमा स्वस्फूर्त रुपमा हातेमालो गर्नु भएका सम्पूर्ण आदरणीय महानुभावहरु प्रति चौतारा स्पोर्टिङ क्लवको तर्फबाट उच्च सम्मानका साथ हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं र आगामी दिनहरुमा पनि हामी निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।


क्याटेगोरी : खेलकुद, विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!