Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठखेलकुदभोटेकोशी अध्यक्ष कप राष्ट्रिय महिला भलिवल : उपाधिका लागि न्यू डाइमण्ड र एपिएफ भिड्ने

भोटेकोशी अध्यक्ष कप राष्ट्रिय महिला भलिवल : उपाधिका लागि न्यू डाइमण्ड र एपिएफ भिड्ने


तातोपानी ।
तातोपानी । बुधबारबाट जारी भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधिका लागि हाङगाञ्जी न्यू डाईमण्ड स्पोर्टस् क्लब र एपीएफ भिड्ने भएका छन् । आज भएको सेमिफाइनल खेलमा न्यू डाइमण्डले नेपाल पुलिस क्लब र एपिएफले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि होडमा पुगेका हुन् ।
विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । आज भएको पहिलो सेमिफाईनल खेलमा न्यू डाईमण्डले २५–१०, १९–२५, २५–१५ र २५–१९ को सेटमा पुलिसलाई हरायो । खेलमा वुमेन अफ दि म्याच न्यू डाइमण्डकी प्रतिभा माली घोषित भइन् । उनले ट्रफी र नगद दुई हजार रूपैयाँ पाईन् ।
त्यस्तै प्रतिष्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा एपिएफले ३०–२८, २२–२५, २५–१९ र २५–२३ को सेटमा आर्मीलाई पराजित गर्यो । यो खेलमा वुमेन अफ दी म्याच भएर आर्मीकी सोफिया पुनले नगद दुई हजार र ट्रफी हात पारिन् ।
भोटेकोशी गाउँपालिकाको आयोजनामा गरिएको प्रतियोगितामा पाँच टिम सहभागी थिए । आर्मी, न्यू डाइमण्डसहित एपीएफ, नेपाल पुलिस क्लब र ढोरपाटन क्लबले सहभागिता जनाएका हुन् । प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने टिमलाई एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र चौथो हुनेलाई पचास हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका हरेक खेलको वुमेन अफ दि म्याचलाई ट्रफीसहित नगद दुई हजार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता भरको बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई नगद सात हजार र ट्रफी प्रदान गरिन्छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद बीस हजार रुपैयाँ पाउनेछन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!