Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजविकट गाउँको एकै वडामा ठडिए ११ एकिकृत बस्ती

विकट गाउँको एकै वडामा ठडिए ११ एकिकृत बस्ती


मार्मिङ । पूर्वाधार निर्माणमा सहज र आकर्षक समेत देखिने भएपछि भूकम्पपछि सिन्धुपाल्चोकमा सुरु भएको एकिकृत बस्ती निर्माणले तीब्रता पाउँदा एकै वडामा ११ बस्ती निर्माण भएको छ । जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिकाको वडा नं. ५ स्थित मार्मिङ गाउँमा ११ एकिकृत बस्ती निर्माण भएको हो ।
भूकम्पपछिको पुनर्निर्माणमा सहजता ल्याउन सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौरमा धुर्मुस सुन्तलीले एकिकृत बस्तीको अवधारणा पहिलोपटक ल्याएका थिए । सो बस्तीको प्रभावकारिताबारे चर्चा चुलिदैं गएपछि जिल्लामा २९ बस्तीको निर्माण सुरु गरिएको थियो । मार्मिङको ११ बस्तीसहित २३ वटा बस्ती निर्माण सम्पन्न भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन ले जनाएको छ । इकाई प्रमुख सन्तोषकुमार निरौलाले बाँकी रहेका बस्तीहरुको निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै सबै बस्ती निर्माणले पूर्णता पाउने बताए ।
मार्मिङमा निर्माण भएको ११ मध्ये ९ बस्तीमा रहेका घरहरुमा एकरुपता नभएको उनको भनाई छ । यहाँ रहेका १० घर धुरीको राउत टोल एकिकृत बस्ती र २३ घर धुरी रहेको ट्यांगथली एकिकृत बस्तीमा रहेका घरहरु मात्रै समान छन् ।
गाउँमा पूर्वाधार निर्माण र अन्य विकास निर्माणको काममा सहजता हुने भएकाले एकिकृत बस्ती निर्माण सुरु गरेको बस्ती स्थापनामा अगुवाई गरेको समृद्ध नेपाल संस्थाका अध्यक्ष कुमार राउतले जानकारी दिए । ‘जिविकोपार्जन र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने गरी हामीले बस्तीको डिजाइन गरेका छौं,’ राउतले भने ।
एकिकृत बस्ती निर्माणपछि प्राधिकरणले पूर्वाधार निर्माणमा प्रति घर तीन लाखका दरले अनुदान दिने भएकाले पनि बस्ती निर्माणमा उत्साह थपिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । मार्मिङमा मात्रै तीन सय ६० परिवार एकिकृत बस्तीमा समेटिएका छन् । जिल्लाभर एक हजार एक सय ७७ परिवार एकिकृत बस्तीमा समेटिएको तथ्यांकमा उल्लेख छ ।
एकिकृत बस्ती निर्माणमा अधिकांश ठाउँमा संघ संस्थाले सहजीकरण गरेका छन् । केही ठाउँमा भने समुदायको अगुवाइमै बस्ती निर्माणले गति लिएको छ । स्थानीयको सक्रियतामा संस्थाले सहजीकरण गर्दा बस्ती निर्माणमा सहज हुने गरेको हेलम्बुको तेम्बाथान, जुगलको सेलाङ लगायत ठाउँमा एकिकृत बस्ती निर्माणमा सहजीकरण गरेको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए ।
हरेक ठाउँमा भएका एकिकृत बस्तीको विशेषता पनि फरक भएकाले बस्ती निर्माणले पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने शर्मा बताउँछन् । हरेक एकिकृत बस्तीका बासिन्दा पनि बस्ती निर्माणपछि पर्यटक आउने अपेक्षा गर्दछन् । हेलम्बुमा रहेको ह्योल्मो संस्कृतिको मर्चेगुम्बा शैलीका घरहरु निर्माण गरिएको छ । हाम्रो बस्तीमा पनि अन्यत्रका मान्छेहरु घुम्न आउनेछन् भन्ने आशा रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । एकिकृत बस्ती सुन्दर देखिने भएकाले नूमना हुने हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणमा पर्ने गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!