Techie IT
Monday, March 8,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठसमाजसहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती

सहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती


चौतारा ।  साना तथा मझौला आकारका चिटिक्क परेका घर । रातो, निलो, हरियो रङ भएका जस्तापाताले रंगिन गाउँ तथा बस्ती । टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानीका धारा । घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली ।

२०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याउँदा खण्डहरमा बदलिएको सिन्धुपाल्चोकको फेरिएको रूप हो यो । सिन्धुवासी पुनर्निर्माणमा जुरुक्क जाग्दा ठडिएका गाउँ खानेपानी, शौचालय, बिजुलीलगायत न्युनतम सुविधासहितका आकर्षक सहरोन्मुख बस्तीमा बदलिएका छन् ।

‘भूकम्पपछिको साढे पाँच वर्षमा पुनर्निर्माणमार्फत सिन्धुपाल्चोकको मुहारै फेरिएको छ,’ भूकम्प पीडितका आवास निर्माणको नेतृत्व गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ, (भवन) का प्रमुख सन्तोष निरौलाले भने । उनका अनुसार जिल्लामा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ ।

भवनको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा ८२ हजार ५ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको छ । २०६८ को राष्ट्रिय जनगणनालाई आधार मान्दा जिल्लाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । अर्थात्, जनगणनामा कायम घरधुरी संख्याभन्दा झण्डै १५ हजार घर बढी बनेका हुन् । उक्त जनगणनामा जिल्लाको घरधुरी संख्या ६८ हजार मात्रै थियो । तर लाभग्राही संख्याको आधारमा भने झण्डै ९४ प्रतिशत घरको पुनर्निर्माण सकिएको हो । भूकम्प पीडित लाभग्राही संख्या भने ९० हजार ९ सय चार छ ।

यो संख्याका आधारमा झण्डै थप साढे पाँच हजार घरको पुनर्निर्माण अझै जारी छ । ५ हजार घरको पुनर्निर्माण अन्तिममा पुगेको छ, भने झण्डै ३ सय परिवारले पुनर्निर्माण अघि बढाएका छन् । साढे दुई हजारले मात्रै घर बनाउन सुरु गर्न बाँकी रहेको तथ्यांकमा उल्लेख छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक निजी आवास पुनर्निर्माणमा अग्रस्थानमा रहेको छ ।

८८ हजार १ सय १० परिवारले पहिलो र ८७ हजार ८ सय ७० परिवारले दोस्रो किस्ता पाइसकेका छन् । तेस्रो किस्ता पाउने साढे ८२ हजारभन्दा बढीले पुनर्निर्माण सकेको बताइएको छ । भूकम्पको मुख्य प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति भएको थियो । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्मको पुनर्निर्माण अन्तिममा पुगेको छ । साविक ७९ गाविसमध्ये अधिकांशले पुनर्निर्माणलाई अन्तिम चरणमा पुर्‍याएका छन् ।

भूकम्पले सिन्धुपाल्चोकमा ३ हजार ५ सय ७३ जनाको ज्यान लिँदै ९० प्रतिशत घरसंरचना पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । सबै गाउँ–बस्ती खण्डहरमा बदलिँदा जिल्ला झण्डैै संरचनाविहिनको अवस्थामा पुगेको थियो । गाउँ, बस्ती, आफन्त गुमाउनुको पीडा, चौरतर्फी सत्यानास, विनास र लगातारका पराकम्पनले उत्पन्न गराएको त्रास, भोको पेटमा खुला आकाशमुनिको बास देख्दा यसरी सजिलै सिन्धुपाल्चोक बन्न सम्भव थिएन ।

तर, पीडितमा शोकलाई शक्तिमा बदल्ने जागरण पैदा हुँदा भूकम्पको साढे पाँच वर्ष र पुनर्निर्माण अभियान थालनीको साढे चार वर्षमै सिन्धुपाल्चोक जुरुक्क ठडिएको छ । पुनर्निर्माणलाई पीडितले साझा संकल्प बनाउँदा जिल्लाका गाउँ–बस्ती भूकम्पअघिककै पूर्ववत अवस्थामा मात्र पुगेका छैनन्, अझै राम्रा, चिटिक्क र सुन्दर भएका छन् । जिल्लाको जुनसुकै भागबाट नियाल्ने हो भने चारैतिर रंगिन बनेर ठडिएका गाउँ, बस्ती देख्न सकिन्छ ।

२०७३ वैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै क्षति बेहोरेको सिन्धुपाल्चोकको चौताराबाटै पुनर्निर्माण अभियानको थालनी गरेका थिए । त्यसको एक वर्षपछिसम्म पुनर्निर्माणले अपेक्षित गति लिन सकेको थिएन । २०७४ वैशाखमा स्थानीय तहले जनप्रतिनिधि पाउनुका साथै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरण प्रक्रियालाई सरल र सहज बनाउँदै किस्ता लिने समय सीमा तोकेपछि पुनर्निर्माण अभियानकै रूपमा अघि बढ्यो ।

स्थानीय तहले जनप्रतिनिधि पाउँदासम्म जिल्लामा १ सय ६३ घरको मात्रै पुनर्निर्माण भएको थियो भने करिब १० हजार पीडितले मात्रै पुनर्निर्माण थालेका थिए । जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा भौतिक पूर्वाधार (जिमाली) का व्यवस्थापक भरत आचार्य स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुनर्निर्माणमा निकै सघाउ पुगेको बताउँछन् । ‘पीडितका अनुदान किस्ता वितरण सम्बन्धी र अन्य गुनासाका बोकेर जनप्रतिनिधि आफैं सदरमुकाम पुग्छन्,’ उनले भने, ‘जिल्लादेखि केन्द्रसम्म धाएर समस्याको गाँठो फुकाउँछन् ।’ चुनावी अभियानमा पुनर्निर्माणलाई नै मुख्य एजेन्डा बनाएका उनीहरूले यसैलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

पुनर्निर्माणको कारण सडक, खानेपानी, शौचालय, सरसफाई, विद्युतका क्षेत्रमासमेत ठूला काम भएका छन् । घर बनाउन पानीको जोहो गर्दा प्रत्येक जनस्तरबाट बस्तीमा खानेपानी सुविधा पुगेको छ । सरकार र संघ संस्थाको सहयोगमा ‘पम्पिङ’, ‘लिफ्टिङ’ सहित साना–ठूला दर्जनौं खानेपानी आयोजना पुगेका छन् । त्यस्ता ठाउँका बस्तीका हरेक घरमा धारा जडान गरिएको छ । ‘सार्वजनिक र व्यक्तिगत त्यस्ता धारा अपांग र बाल मैत्रीसमेत छन्,’ भूकम्पपछि एक दर्जनभन्दा बढी खानपानी आयोजनामा काम गरेको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने ।

जिल्लाका साविक सबै गाविस भूकम्पअघि नै सडक सञ्जालले जोडिएका थिए । तर टोल, बस्ती र गाउँमा सडक पुगेको थिएन । निर्माण सामग्री ढुवानी गर्न ट्रयाक खोलिँदा प्रत्येक टोल र बस्तीमा सडक पहुँच विस्तार भएको छ । इकाइले अन्तिम किस्ता प्राप्त गर्नका लागि अनिवार्य गरेपछि प्रत्येक घरमा शौचालय बनेको छ । पुनर्निर्माणकै बलमा सिन्धुपाल्चोक खुला दिसामुक्त घोषित भएको थियो । पीडितले नयाँ संरचनामा बलियो ‘वायरिङ’ गरेर विद्युत लाइनलाई व्यस्थित मात्र गरेका छैनन्, चट्याङले निम्त्याउने सम्भावित दुर्घटना रोक्न ‘लाइटिङ रड’समेत प्रयोग गरेर घर र बस्तीलाई नै चट्याङबाट सुरक्षति बनाएका छन् ।

अधिकांश पीडित ‘लोड वियरिङ’ संरचनामा आकर्षित देखिए । गारोले भार बोक्ने भूकम्पप्रतिरोधी यो संरचना निकै बलियो मानिन्छ । ढुंगामाटो र काठ तथा इँटा, सिमेन्ट र छड प्रयोग गरी बनाइने यस्ता घर आधुनिक र आकर्षकसमेत देखिन्छन् । धेरै इँटा, सिमेन्टका घर बनेका छन् । कतिपय पीडितले ढुंगामाटो र काठ प्रयोग गरि घर बनाए पनि ती भूकम्पप्रतिरोधी छन् ।

पर्यटकीय क्षेत्र हेलम्बु, मेलम्चीघ्याङका कामी लामा भूकम्पपछि गाउँ सहर जस्तै देखिन थालेको बताउँछन् । ‘हेलम्बुको बजार…. भनेर गीत बने पनि यहाँका बस्ती गाउँ नै थिए,’ उनले भने, ‘अहिले गीतले भने जस्तै भएको छ ।’

२९ एकीकृत नमुना बस्ती

धुर्मुस–सुन्तली फाउन्डेसनले मेलम्ची नगरपालिकाको गिरानचौरमा ६५ घरधुरीको एकीकृत नमुना बस्ती बनाएर २०७३ कात्तिकमा समुदायलाई हस्तान्तरण गर्‍यो । जनस्तरबाट संकलित पाँच करोड रुपैयाँभन्दा बढी लगानीमा निर्मित आकर्षक र सुन्दर गिरानचौर बस्ती नमुना योग्य छ ।

कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेको अगुवाइमा बनेको यो बस्तीले मुलुकको ध्यान मात्रै खिचेन जिल्लामा एकीकृत बस्तीको लहरै ल्यायो । यसलाई संस्थागत गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत भूकम्प प्रभावित जिल्लाका प्रत्येक स्थानीय तहमा एउटा नमुना एकीकृत बस्ती बसाल्ने नीति लिएको छ ।

बिनासकारी भूकम्पपछिको विपद्मा प्रगाढ पारिवारीक र दरिलो सामाजिक एकताको महत्व बुझेका पीडितले त्यसलाई जीवन्त राख्न २९ एकीकृत नमुना बस्ती ठड्याएका छन् । एकीकृत बस्तीमा घरैपिच्छे सडक, खानेपानी, शौचालय, अपांग र बालमैत्री वातावरणसहित सामुदायिक भवन, खेलमैदानलगायत न्युनतम सहरी पूर्वाधारको पहुँच उपलब्ध छ । एउटै आकार, एकै प्रकृतिको रंग त्यस्ता एकीकृत बस्तीका प्रमुख विशेषता छन् ।

इकाइ (भवन) का प्रमुख निरौला एकमुष्ट विकासका पूर्वाधारको पहूँच पुग्ने भएकाले पीडित एकीकृत बस्तीमा आकर्षित भएको बताउँछन् । पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती निर्माणमा जोड दिने नीति लिएको बताउँदै उनले भने, ‘एकीकृत बस्ती भन्नासाथ त्यहाँ सडक, खानेपानी, सामुदायिक भवन, विद्यालय, स्वास्थ्य चौकी लगायत एकमुष्ट विकासका पूर्वाधार तयार हुन्छन् । छरिएका घर–घरमा यस्ता पूर्वाधार पुग्न सहज छैन ।’ पूर्वाधार अर्थात सुविधाभोग नै एकीकृत बस्तीप्रतिको आकर्षण भएको उनी सुनाउँछन् ।

भूकम्पपछिको पुनर्निर्माणसँगै सिन्धुपाल्चोकले अर्को पहिचान थपेको छ । त्यो हो धेरै एकीकृत नमुना बस्ती भएको जिल्ला । गिरानचौरबाट सुरु भएको एकीकृत बस्ती फैलिँदै जाँदा जिल्लामा यस्ता २९ बस्ती बनेका हुन् । प्रमुख निरौला सिन्धुपाल्चोक मुलुकमै सबैभन्दा धेरै नमुना एकीकृत बस्ती भएको जिल्ला बनेको दाबी गर्छन् । उनका अनुसार ती एकीकृत बस्तीमा अहिले एक साथ सडक, सामुदायिक भवन, स्वास्थ्य चौकी, ढल व्यवस्थापनलगायत भौतिक पूर्वाधारको काम भइरहेका छन् । ‘आगामी असारभित्र पूर्वाधार विकासको काम सकिएपछि यी एकीकृत बस्ती आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बन्ने निश्चित छ,’ उनले भने ।

नागरिक


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस