Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठसमाजलिदी पहिरो पीडित भन्छन्, ‘सिरेटो र शितले ज्यान जोगाउनै कठिन’

लिदी पहिरो पीडित भन्छन्, ‘सिरेटो र शितले ज्यान जोगाउनै कठिन’


चौतारा । लिदि पहिरोले घरसँगै आमा पनि गुमाउन पुगेका सानु तामाङ पुसको सुरुवातमै जाडोले आँत्तिन थालेका छन् । हिमाली डाँडो बाँसखर्कमा टेन्टमा आफ्नो परिवारसहित आश्रय लिइरहेका सानु जाडो यामको सुरुवातमै टेन्टले नथेग्ने शितका कारण आत्तिन थालेका हुन् । घर र आमालाई सँगसँगै पहिरोले पुरेपछि पुख्र्यौली थलो जुगल गाउँपालिका–२, लिदि छाडेर सेलाङको बाँसखर्कमा आश्रय लिइरहेका सानु चिसो बढ्दै गएपछि आफ्नो दुधे छोरालाई कसरी जोगाउने भन्ने चिन्ता लिन थालेका छन् ।

गोठबाट घर पुग्नै लाग्दा केही मिनेटको मात्र अन्तरले बाँचेका सानु अबको जाडोबाट बाँच्न कठिन हुने हो की भन्ने भयमा रात बिताउने गरेको बताउँछन् । ‘बिहान उठ्दा टेन्टबाट शित चुहिरेको हुन्छ’, सानु भन्छन्, ‘पुस नलाग्दै यस्तो छ झन् हिउँ पर्न थालेपछि यहाँको अबस्था के होला ?’ पहिरो जाँदा आफू गोठबाट घरमा नपुगेकाले मात्र बचेको बताउने सानु अहिले टेन्टमुनि चिसो रात बिताउनु पर्दाको पीडा सुनाउँछन् । भूकम्पले घर भत्काएपछि मुस्किलले बनेको घर पनि पहिरोले लगेपछि आफ्नो जीवन त्रिपाल, टेन्ट र टहराको चिसो मै बित्ने भयले उनलाई सताउन थालेको छ । उनी आफू भन्दा पनि हिउँ पर्ने डाँडोमा टेन्ट मुनि कम्बलको भरमा रात बिताउँदा टोलका वृद्ध वृद्धाको अबस्था के होला भन्ने चिन्ताले सताउने गरेको बताउँछन् ।

पहिरो गएको केही दिनमा आफ्नो थलो छाडेर बाँसखर्क आएका निमाछिरिङ दोङ अभाबै अभावले हैरान बिस्थापित जीवनमा चिसोले अझै मारमा पारेको गुनासो गर्छन् । दिनभर ज्याला मजदुरीको कामले बितेपनि साँझको हिमाली सिरेटो र रातमा टेन्टबाट चुहिने शितले ज्यानै लाला जस्तो हुने समस्याले सताउने गरेको उनले बताए । ‘भर्खर हिउँदको सुरुवातमै चिसोले अत्याइसक्यो’, निमाले भने, ‘अझ माघे झरी र हिमपातको सुरुवात भएपछि कसरी ज्यान जोगाउने हो अहिलेदेखि चिन्ता लाग्न थालेको छ ।’ हिमाली डाँडाको सिरेटो छेक्ने ओढ्ने ओक्षाउने र पकाउने ठाउँ नहुँदा बिस्थापितहरुले आफ्नो थातथलो छाड्नु परेको पीडा बिर्साउन नसकेको उनले बताए ।

डाँडाको बसाई हिमाली सिरेटो र शितले ज्यान जोगाउनै कठिन भएको जिममाया दोङ बताउँछिन् । टेन्ट मुनि एकसरो ओढ्नेले जाडो कटाउन मुस्किल हुने उनको ठम्याइ छ । भएको सबै पहिरोले लगेपछि लगाएको एकसरो कपडाको भरमा बाँसखर्कमा सेल्टर लिन आएकी दोङ शिरक किन्ने हैसियत नभएकाले पनि जाडो थेग्न कठिन हुने बताउँछिन् । साँझमा आगो तापेर जाडो कटाएपनि राती सुत्दा आउने चिसोले बिस्थापितहरुको दैनिकी कष्टकर बन्दै गएको उनले सुनाइन् ।

गत साउन ३० गते विहान बस्ती माथिबाट आएको पहिरोले ३७ घर पुरिंदा ३८ जनाको मृत्यु भएको थियो । पहिरोपछि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जोखिम रहेको बस्तीबाट एक घण्टा टाढाको बाँसखर्कमा अस्थायी आवासको व्यवस्था गरी स्थानान्तरण गरेर खाद्यान्न लगायत राहत उपलव्ध गराएपनि थातथलो छाडेका बिस्थापित समस्या समाधान हुन नसकेको गुनासो गर्छन् । लिदिबाट पहिरोमा परेका र थप पहिरोको जोखिममा रहेका एक सय ५० परिवारलाई बाँसखर्कमा स्थानान्तरण गरिएको छ ।

बिस्थापितहरलाई प्रयाप्त व्यवस्था हुन नसकेपनि न्युनतम आधारभूत आबश्यकताको व्यवस्थापन गरिएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन् । उनीहरुका लागि स्थायी व्यवस्थापन र हालको अस्थायी वासस्थानमा आबश्यक पूर्वाधार निर्माणका लागि योजनावद्ध रुपमा अघि बढ्ने प्रयास भइरहेको श्रेष्ठले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस