Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठसमाजबलेफि ३ मा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

बलेफि ३ मा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी


चौतारा । बलेफी गाउँपालिका वडा नम्बर ३ मा भ्रष्टाचार भएको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरी दर्ता गराएका छन् । स्थानीय सरकार आएपछि वडामा  भएका विकास निर्माणका लागि विनियोजित २ करोड २९ लाख ३० हजार बराबरको काममा सामान्य ऐन, नियमलाई समेत लत्याएर चरम आर्थिक अनियमितता गरि भ्रष्टाचार गरेकोले अख्तियारमा उजुरी दर्ता गरेको स्थानीय स्थानीय अमित लामाले बताएका छन् ।

वडा भित्र अवस्थित भिमसेन माध्यमिक विद्यालयलाई आनन्द संघ नामक संस्थबाट प्राप्त ८ कोठे भवन र डीएलपीयुबाट प्राप्त ४ कोठे भवन निर्माणको क्रममा गुणस्तर हिन सामाग्री प्रयोग, प्राविधिक स्टेमेट भन्दा फरक निर्माण सामाग्री प्रयोग, निर्माण स्थलमा बिना ईन्जिनियर भवन निर्माण, ८ कोठे भवन उद्घाटन भैसकेपनी अझै निर्माण पुर्ण रुपमा सम्पन्न नगरिएको, प्रअ र विद्यालय व्यवस्थापन समितीका अध्यक्षको मिलेमतोमा विद्यालयको छापको दुरुपयोग गरि व्यक्तिको हस्ताक्षरमा खाता सन्चालन गरेको जस्ता आरोप सहित अख्तियारमा उजुरी दर्ता भएको छ ।

त्यस्तै आर्थिक वर्ष ७६/७७ मा सांसद बिकास कोषबाट प्राप्त २७ लाख ३० हजारको ‘फुल्पिङ धुस्कोट सिमासिङ सडक’ का लागि प्राप्त बजेट जनप्रतिनिधि, प्राविधिक र उपभोक्त समितिको मिलेमतोमा आधी बजेट भन्दा बढी बाँडेर खाएको र बाँकी बजेटबाट बनेको संरचना निर्माण गरेको ५ महिना मै भत्केकोले चरम भ्रष्टाचार भएको स्पष्ट रहेको स्थानीयहरुको गुनासो छ ।

अख्तियारमा उजुरी दर्ता गरेका लामाका अनुसार गाउँ भित्रको विकास निर्माणको काम पारदर्शी र गुणस्तरीय हुनुपर्छ भन्दै आवाज उठाउँदा उल्टै सकेको गर भन्दै धाकधम्की दिने गरेको बताए । विद्यालय भवन होस् या कुनै पनि उपभोक्त समिति गठन गर्दा कुनै पनि गाउँलेहरुलाई भेला नै नगरी आफ्नो दाजुभाइ आफन्तलाई अनिवार्य भाइटल पोस्ट राख्ने र सबै बजेटको काम नगरी झ्वाम पार्ने गरेको उनले सुनाए ।

‘हामीले केही असहमति जनाउँदा उल्टै वडा अध्यक्षको आदेशमा रक्सी खुवाई पठाएका युवाहरुले रिपोर्टिङ गर्न गएका पत्रकारलाई समेत पटकपटक अपशब्द बोलेर आक्रमण गर्न खोजेको देखेपछि हामी सानोतिनो मान्छे डरले बोल्न समेत सकेनौं,  लामाले सुनाए । उनीहरुले विद्यालय भवन निर्माणको क्रममा प्रयोग गरिएको सामाग्री गुणस्तरहिन भएको, रडको प्रयोग हुनुपर्ने ईस्टेमेट भन्दा फरक तरिकाले प्रयोग गरेको फोटो भिडियो समेत अख्तियारमा दिएका छन् ।

भिमसेन माबीको तत्कालीन व्यवस्थापन समिती अध्यक्ष नर बहादुर तामाङले एक मिडियाकर्मी संग गरिएको संवादमा कसम खाँदै ८ कोठे भवन बनाउने क्रममा ७ लाख मात्र खाएको हुँ भन्ने कबुल गरेको भोईस रेकर्ड समेत फेला परेको छ ।

त्यस्तै हाल वडा अध्यक्ष बिरमान तामाङ आफैं विव्यस अध्यक्ष रहि निर्माण गरिएको ४ कोठे भवनमा पनि कमसल र गुणस्तरहिन सामाग्री प्रयोग गरेको र रड समेत ईस्टेमेट भन्दा फरक प्रयोग गरेको भिडियो र फोटो समेत प्राप्त भएको छ ।

साथै सोही वडा भित्र आर्थिक वर्ष २०७६/०७७ सांसद बिकासकोषबाट प्राप्त बजेटबाट निर्माण गरिएको ढलाने बाटो निर्माण अघि नयाँ सोलिङ हाल्नु पर्नेमा माटो माथी नै रड ओछ्याई ईस्टेमेट भन्दा फरक रडको प्रयोग गरेकोले ५ महिना नपुग्दै भत्किएर रड बाहिर निस्केका छन् । उक्त बजेटमा उपभोक्त समिती बन्नु अगावै समितीका मुख्य व्यक्तिहरु मिलेर लाखौं बाँडेर खाने सहमति समेत भएको खुलेको छ ।

 


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस