Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकका शैक्षिक अगुवा पौडेलको निधन

सिन्धुपाल्चोकका शैक्षिक अगुवा पौडेलको निधन


चौतारा । सिन्धुपाल्चोकका शैक्षिक अगुवा तथा पुराना शिक्षक लिलानाथ पौडेलको निधन भएको छ । ६७ वर्षको उमेरमा बाह्रबिसे नगरपालिकास्थित आफ्नै निवासमा आज बिहान ८ बजे पौडेलको निधन भएको हो । २०१० फागुन २२ मा जन्मिएका पौडेल लामो समयदेखि पक्षघातबाट पीडित थिए ।

२०७७ फागुन ७ गते प्रजातन्त्र दिवस मनाएर साथीभाइसँग रमाइलो गरेर सुतेका उनी फागुन ८ गते पक्षघातबाट पीडित भएका थिए । बिहान अबेरसम्म नउठेपछि परिवारका सदस्यले उनलाई उठाउन खोज्दा उनको शरिरको एक भाग नचलेपछि अस्पताल पुर्याइएको थियो । लामो उपचारपछि पछिल्लो समय साधारण हिडडुल गर्न सक्ने भएका पौडेलको आज बिहान निधन भएको अरनिको कलेजका क्याम्पस प्रमुख यम बहादुर बस्नेतले जानकारी दिए ।

रिटायर्ड हुन १४ दिन मात्रै बाँकी रहँदा पौडेल पक्षघातबाट पीडित भएका थिए । आज बिहान सामान्य जाउलो तथा सुप खाएका पौडेलको बिहान ७ बजे बोली बन्द भएपछि परिवारले डाक्टरलाई खबर गरेका थिए । बिहान ८ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । लामो समय काठमाडौंमा रहेको घरमा रहेका पौडेल असोज २६ गते बाह्रबिसे आएका थिए ।

४० वर्षसम्म जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गराएका पौडेल पछिल्लो समय जाल्पा मावि कोठेका प्रधानध्यापक थिए । उनले शारदा मावि बाह्रबिसेबाट २०३० सालमा आफ्नो अध्यापनको यात्रा सुरु गरेका थिए । प्राथमिक शिक्षकबाट अध्यापन पेशा सम्हालेका पौडेलले ५० सालबाट माध्यमिकसम्म अध्यापन गराउन थालेका थिए ।

कृष्ण रत्न गंगा मावि चौतारा र महेन्द्रोदय मावि पाटीडाँडामा समेत प्रधानध्यापक भएर उनले अध्यापन गराएका थिए । कुनै समय निमित जिल्ला शिक्षा अधिकारी भएर उनले जिल्ला हाँकेका समेत थिए । सघन पहाडी विकास क्षेत्र (आइएचएए) प्रोजेक्टको अनौपचारिक शिक्षा प्रमुख भएर उनले लामो समय काम गरेका थिए ।

सिन्धुपाल्चोकमा उनले पढाएका विद्यार्थीहरु मन्त्री समेत भएका छन् । पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतलाई समेत पौडेलले पढाएका थिए । पौडेलको निधनले सिन्धुपाल्चोकको शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको क्याम्पस प्रमुख बस्नेत बताउँछन् । उहाँका २ छोरा २ छोरी र एक श्रीमती छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस