सिन्धुपाल्चोक । घुम्थाङको भिषण पहिरोमा परी बाबु गुमाएकी १७ वर्षीया अञ्जु प्रधानको आँखा दसैं नजिकिएसँगै थप रसाउन थालेको छ । पहिरोमा परी बाुबको मृत्यु भएपछि अपाङ्ग आमा र आफू भन्दा साना भाई बहिनी पालन पोषण गर्ने जिम्मेवारी पाएकी अञ्जुलाई नजिकिंदो दसैं कसरी मनाउने भन्ने चिन्ताले थप सताउन थालेको हो ।
पहिरोले बस्ती नै उजाड पारेपछि गाउँ नजिकैको तीनखुरे जलधरे चौरमा छिमेकीसहित टेण्टमा बास बस्दै आएकी अञ्जु कमाउने बाबुको निधनले आफू भन्दा साना भाइ बहिनीको दसैं कसरी मनाउने भन्ने चिन्तामा परेकी छिन् ।
‘पोहोर तिर दसैं आउँदा बाबाले सबै व्यवस्था गरिदिने भएकाले मलाई पनि खुब रमाइलो लाग्थ्यो’, अञ्जु भन्छिन् ‘यसपटक त आफैले सबै जोरजाम गर्नुपर्ने छ, कसरी टार्ने भन्ने चिन्ता लाग्न थालेको छ ।’ भूकम्पपछि अघिल्लो हिउँदमा मात्र पुर्ननिर्माण सकेर सरेको घरमा एउटा दसैं मनाउन नपाउँदै पहिरोले घरसँगै बाबुलाई पनि बगाएपछि फेरी कति वर्षको दसैं टेण्टमा बिताउनुपर्ने हो भन्ने चिन्ताले रातको निद्रा न दिनको भोक भएको उनी सुनाउँछिन् । ‘भूकम्पले घर भत्काएपछि बल्ल नयाँ घर बनाएर सरेका थियौं’, अञ्जुले भनिन्, ‘पाँच वर्ष टहरोमा बसेर बल्ल बस्न थालेको घरपनि पहिरोले लग्यो अब फेरि कति समय टेण्टमा बिताउनुपर्ने हो ?’
तीनखुरे चौरमै टेण्टमा बस्दै आएका रघु श्रेष्ठ पनि आफ्नो अबस्था देखेर आफै भक्कानिन्छन् । पहिरोले घर पुरिंदा बाबु , आमा र बहिनी गुमाएर एक्लिएका श्रेष्ठ चाडबाडले परिवारको सदस्यको याद बढाएको बताउँछन् । ‘परिवार र घर सबै हुँदा चाडबाड रमाइलो हुन्थ्यो’, श्रेष्ठ भन्छन्, ‘अब त एक्लो भएको छु, चाडबाड सम्झिंदा पनि भक्कानिएर रुन मन लाग्छ ।’ स्थानीय तहको समन्वयमा दाताले दिएको राहतले खानपानको समस्या नभएपनि चाडबाडको रौनकले झन चिन्ता थपिएको उनको भनाइ छ । ‘भएको घर पहिरोले लग्यो, अब घर बनाउने जग्गा पनि छैन, एक्लो मान्छेले कसरी घर बनाउनु ?’, श्रेष्ठले गुनासो गरे, ‘सरकारले घर बनाइदिन्छ भन्छन् त्यो पनि आशा मात्रै हो ।’
बस्ती नै सखाप पार्नेगरी आएको पहिरोबाट जोगिएका जुगल गाउँपालिका–२, लिदिका आसमान दोङ अब सुरक्षित र स्थायी घर कसरी बनाउने भन्ने चिन्तामा छन् । नजिकिंदै गएको दसैंमा परिवारको चित्त कसरी बुझाउने भन्ने चिन्ताले पनि उनलाई गाँजेको छ । सेलाङको बाँसखर्कमा टेन्ट हालेर अस्थायी सेल्टर लिएका आसमान बुद्ध धर्मी भएपनि दसैं मनाउने भएकाले खर्चको जोहो गर्न समस्या भएको बताउँछन् । चिसो बढ्दै गएपछि हिमाली डाँडामा टेन्ट भित्र रात गुजार्न कठिन हुने भएकाले स्थायी बासस्थानको चिन्तामा पनि छन् उनी । पहिरोले सबै गुमाएर अर्काको ठाउँमा आश्रय लिएर बसेका आफूहरुका लागि दसैं मान्न सरकारले केही सहयोग गरिदिए हुन्थ्यो भन्ने आसमानको अपेक्षा छ ।
बाँसखर्क मै सेल्टर लिएर बसेका निमाछिरिङ दोङ पहिरोबाट बाँचेकोमा अझै ढुक्क हुन सकेका छैनन् । तत्काललाई पहिरोले नभेट्ने ठाउँमा अस्थायी बास पाएपनि बाँच्नुपर्ने लामो जीवन अब कहाँ बिताउने भन्ने चिन्ताले उनी ढुक्क हुन नसकेका हुन् । परिवारका आमा, श्रीमती र छोरी गुमाएका निमा आफू एक्लो भएपनि अबको बास कहाँ हुने हो भन्ने अन्यौलले तत्काल बास पाएको टेन्ट भित्र निर्धक्क निदाउन नसकेको बताउँछन् । ‘पहिरोमा गुमाएका परिवारको सम्झनाले मुटु खाने त छँदैछ भएको जग्गा र घर गुमाएका हाम्रो लागी अबको स्थायी बासस्थान कहाँ बनाउने भन्ने चिन्ताले पनि निद्रा हराउने गरेको छ’, निमाले भने, ‘पहिरोबाट बिस्थापित भएका हामीलाई राहत बाँड्न आएका नेताले दिएको आश्वासनले हामीले केही दिनमा सुरक्षित बासस्थान पाउँछौं भन्नेमा ढुक्क बनाउन सकेको छैन ।’
गत असार यता जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले भूकम्पपछि पुर्ननिर्माण भएका सात सय बढि घर बगाएको छ । पहिरो आसपासका तीन सय भन्दा बढि घर जोखिममा परेका छन् । पहिरो लागेर जोखिममा परेका क्षेत्रको बस्ती स्थानान्तरणका लागि आबश्यक पहल भइरहेको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘पुर्नवासका लागि प्रकृया सुरु गरिसकिएको छ’, ढकालले भने, ‘असुरक्षित बस्ती स्थानान्तरणका लागि विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकृया अघि बढाएको छ ।’
ढकालका अनुसार जोखिम रहेका सबै बस्तीको विवरण मन्त्रालयमा पठाइसकिएकाले विशेषज्ञ टोलीले अध्ययन गरेर आबश्यकता अनुसार स्थानान्तरण गरिने उनले जानकारी दिए । पहिरो पीडितका लागि अत्याबश्यक सामाग्री उपलव्ध गराएको उल्लेख गर्दै अब सुरक्षित बासस्थानको अभियानमा लाग्नुपर्ने बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा बताउँछन् । तत्काल दैनिक गुजाराका लागि पहिरो पीडितलाई कुनै समस्या नभएकाले स्थायी समाधानका लागि संघीय सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए ।
क्याटेगोरी :
समाज
ट्याग : #breaking