Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठसमाजपहिरोबाट विस्थापित सुत्केरी र दिर्घ रोगीलाई बस्नै समस्या

पहिरोबाट विस्थापित सुत्केरी र दिर्घ रोगीलाई बस्नै समस्या


चौतारा ।

सिन्धुपाल्चोकका विभिन्न स्थानमा गएका बाढी र पहिरोबाट विस्थपित भएका सुत्केरी र दिर्घ रोगीलाई समस्या उत्पन्न भएको छ । बढ्दो चिसो र टेण्टको बास भएकाले अन्यको तुलनामा सुत्केरी र दिर्घरोगी समस्यामा परेका हुन् ।
जिल्लाको धुम्थाङ, लिदीलगायतका पहिरोबाट विस्थापितहरुलाई बसोबासमा समस्या छ । एउटै टेण्टमा सिंगो परिवार खुम्चिएर बस्नुपर्ने बाध्यता भएकाले बालबालिकासहित सुत्केरी र दिर्घरोगी मारमा परेका हुन् ।
पहिरो पीडित सुत्केरी आमा र दीर्घरोगीहरु अहिले चिसो टेन्ट मुनि रात काटिरहेका छन् । तातो खाना खाँदै न्यायोमा बस्नुपर्ने समयमा रातभर पानी चुहिने टेन्टमा रात काट्न उनीहरुलाई बाध्यता छ । चिसोले सुत्केरी आमा, तिनका बच्चा र दीर्घरोगी मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । सिन्धुपाल्चोकको घुम्थाङमा पहिरोमा दुई सय ८५ परिवार विस्थापित भएका छन् भने लिदीमा पनि एक सय ७२ परिवार विस्थापित भएका छन् ।
बाह्रविशे नगरपालिका घुम्थाङ ७ की ३१ वर्षीया बुद्धिमाया तामाङ महिना दिनकी सुत्केरी हुन् । भदौ महिनामा झरेको पहिरोले घर बगाएपछि टेन्टमा बस्दै आएकी उनी काखको बच्चासहित अर्की एक छोरीलाई चिसोबाट कसरी बचाउने भन्ने चिन्तामा आफू रहेको उनको भनाई छ । अस्थायी टहरामुनि रात बिताउन निकै सास्ती हुने गरेको उनी बताउँछिन् ।
पहिरोका कारण बुद्धिमाया तामाङ जस्तैघुम्थाङका १३ जना सुत्केरी र दश जना गर्भवती महिला चिसो टेण्टमा बसिरहेका छन् । ह्वीलचियरको सहारामा रहेकी सानु तामाङलाई चिसोका कारण ढाड दुख्ने समस्या देखिएको छ ।मुसालधारे पानीपर्दा टेण्टको वरिपरि कुलोखनेर पानीको निकास दिनुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन् ।
दीर्घरोगी, वृद्धवृद्धा, दमका रोगी र बालबालिकाको दैनिकी यहाँ निकै कष्टकर बनेको छ । सुत्केरी र दीर्घरोगी मात्र होइन, महिनावारी भएका बेला किशोरीले पनि विभिन्न समस्या भोग्दै आएका छन् । चिसो समयमा एकसरो कपडामा उनीहरु रात बिताउन बाध्य छन् । यस्तो अवस्थामा चिसोका कारण विभिन्न रोगले सताउने चौतारा अस्पतालका डा. अशोक यादव बताउँछन् ।
घुम्थाङसहित लिदी पहिरोबाट विस्थपित भएर बाँसखर्कमा बस्दै आएका पीडितहरु बसेका स्थानमा न फलफूल पाइन्छ, न तरकारी न दही दूध नै । राहतस्वरुप प्राप्त गरेको पैसा भएर पनि किनेर खाना सकिने अवस्था छैन । मनकारी व्यक्तिहरुले राहतस्वरुप खाएको दाल चामलको सहारामा उनीहरुले कष्टपूर्ण जीवन गुजार्दै आएका छन् । असार साउन र भदौ महिनामा झरेको पहिरोले सिन्धुपाल्चोकको घुम्थाङ, लिदी ,लार्चा,जम्बु खागदल, मेलम्ची लगायतका स्थानमा पहिरो जाँदा तीन हजार दुई सय ९७ परिवार विस्थापित भएका छन् । उनीहरु अहिले टेण्टमुनि कष्टकर जीवन गुजारिरहेका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस