Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठसमाजपैरेमा अवैध ढुंगाखानी संचालन, स्थानीयलाई तनाव

पैरेमा अवैध ढुंगाखानी संचालन, स्थानीयलाई तनाव


बलेफी । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–१, जलबिरे (पैरे, बाहुनगाउँ)मा संचालित एक अवैध ढुंगा खानीका कारण स्थानीय समस्यामा परेका छन् । अवैध रुपमा संचालित त्यस ढुंगाखानी रोक्नका लागि विगत एक वर्षदेखि ताकेता गर्दापनि नरोकिएपछि स्थानीय पीडितले गुनासो पोखेका हुन् । उक्त जग्गाबाट निकालिएको ढुंगाखानीका कारण सँगै रहेको अर्को व्यक्तिको जग्गामा असर परेपछि पीडितले सहयोग गर्न आग्रह गरेका छन् ।

स्थानिय बिमल आचार्यको जग्गामा पहिरो गएको भन्दै एक वर्षअघि नै ढुंगाखानी बन्द गर्नका लागि अनुरोध भएको थियो । वडाले उक्त खानी बन्द गर्नका लागि अनुरोध समेत गरेको थियो । तर, अहिलेपनि लगातार त्यहाँबाट ढुंगा निकालेपछि स्थानिय तनाबमा परेका छन् । जबकी, बलेफी गाउँपालिकाले ढुंगा निकाल्न पाउने भन्ने कुनै निर्णय नभएको बताएको छ । गाउँपालिका अध्यक्ष केदार क्षेत्रीका अनुसार गाउँपालिकाभित्रका क्षेत्रमा भएका ढुंगा निकाल्न र बेचबिखन गर्न कुनै निर्णय भएको छैन् ।

यसरी गाउँपालिकाको निर्णयभन्दा बिल्कुल फरक शैलीमा पटक–पटक बन्द गर्न आह्वान गर्दापनि बन्द नभएपछि स्थानीय पीडित आचार्यले पीडा पोख्दै भने, ‘कता छ सेटिङ ? कस्को संरक्षणत्वमा चलेको छ यो सबै ?’ ढुंगा खानीका लागि खनेको बाटोको कारण पूरानो सार्वजनिक बाटोसमेत नभएको, स्थानियको बारिमा पहिरो गई वर्षेनी क्षति भएको, पटक–पटक बन्द गर्नका लागि भन्दा पनि सुनुवाई नभएको लगायतका पीडा बोक्दै स्थानीय पीडितले जानकारी गराएका छन् ।

कुनै सुनुवाई नभएपछि बुधबार प्रहरी कार्यालयसम्म निवेदन लिएर पुगेका पीडित आश्वासनमात्रै लिएर फर्किएका छन् । वडा कार्यालयमा निवेदन दिएको एक वर्ष बितिसक्दापनि सुनुवाई नभएर प्रहरीकोमा पुगेका पीडित स्थानीय ठाउँमै मिल्नुस् भनेर प्रहरीले फर्काएको बताउँछन् । गाउँपालिकाकी उपाध्यक्ष कमला कायस्थको घर नजिकैको बस्तीमा रहेको उक्त समस्यामा समाधान पटक–पटकको आग्रहपछि पनि नभएपछि स्थानीय आजित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल भने स्थानीय तहको कार्यविधिमा नै यो विषय पर्ने भएकाले स्थानीय तहसँग समन्वय गरेर समस्या समाधान गर्नपर्ने बताउँछन् । गाउँपालिका उपाध्यक्ष कायस्थले चाँडोभन्दा चाँडो समस्या समाधानका लागि पहल गर्ने बताइन् । जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारी पनि स्थानीय सरकारले पाएको जिम्मेवारी भएकाले स्थानीय तहबाटै मिल्नपर्ने विषय भएको बताउँछन् । स्रोतमाथिको अधिकार स्थानीय तहको भएको भन्दै उनले ढुंगा खानी लगायतका विषयहरु निकाल्दा वातावरणीय प्रभाव लगायतका विषय हेरेर मात्र गर्नुपर्ने उनले बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस