Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाज‘सरकार ! बरु यहीं मर्छाै, गाउँ जान सक्दैनौं’

‘सरकार ! बरु यहीं मर्छाै, गाउँ जान सक्दैनौं’


सेलाङ ।
३९ जना पुर्ने गरि बस्ती माथिबाट आएको पहिरोले विस्थापित भएका जुगल गाउँपालिका–२ स्थित लिदीबाट विस्थापित भइ आएकाहरु अब सुरक्षित स्थानमा बस्न चाहन्छन् । गएको साउन ३० गतेको पहिरोपछि बिस्थापित भएकाहरु अहिले सेलाङको बाँसखर्कमा आश्रय लिइरहेका छन् ।भूकम्पपछि जमिन चिरा परेकै कारण लिदीबासी यसअघि पनि बाँसखर्कमै आश्रय लिएका थिए । अहिले त्यही स्थानमा पहिरो गएको हो ।

‘हाम्रो गाउँमा सबै जमिन फाटेको छ, त्यहाँ गएर बस्न सक्दैनौं,’ सेलाङस्थित बाँसखर्कको विस्थापितहरुको बस्तीमा बसिरहेकी गोल्चे–१ लिदिकी जुनुमाया दोङले भनिन्, ‘त्यहाँ जानू भनेको मर्न जानु हो, हामीले यहीं बस्न पाउनुपर्छ ।’ पहिरोले उनलाई थिचेपछि घाइते भएकी थिइन् । घाइते अवस्थामा जुनुमायाको उद्धार गरिएको हो । उनी यहीं सुरक्षित स्थानमा आफ्नो बस्ती बसाउनपर्ने तर्क राख्छिन् ।

भुईंचालो गएलगत्तै सुरक्षित स्थानको खोजी गर्दै लिदीवासी सेलाङ आइपुगेका थिए । अहिले पहिरो पीडाले लखेटेपछि फेरि लिदीवासी यहाँ आइपुगेका हुन् । आफ्नो पुरानो गाउँमा चाहेर पनि जान नसक्ने भन्दै अहिले बसिरहेको स्थानमा घर बनाएर बस्ने प्रवन्ध मिलाइदिन स्थानीय निमा दोङको भनाई छ । ‘हामी पहिला गाउँ छाडेर आयौं, यही बस्न पाउनुपर्छ,’ उनले भने, ‘सरकारले बिस्थापितलाई त्यतिकै छाड्न मिल्दैन ।’ उनले आफ्नो जग्गा साटेर यहीं बस्न पाउनुपर्ने माग राखे ।

त्रिपालको छाप्रोमा कठांग्रिएर रात काट्नु परेको पीडा सुनाउँदै विस्थापितले आफ्नो नाममा लिदिमा भएको सबै सम्पति लिएर पनि सरकारले अहिले बसेकै ठाउँमा बासको व्यवस्था मिलाउन आग्रह गरे । ‘हामी हाम्रो सबै सम्पत्ति सरकारलाई दिन्छौं, त्यसको बदलामा सरकारले हामीलाई सुरक्षित स्थान दिनुपर्छ,’ गुम्बास्थित बोल्देगाउँबाट विस्थपित भई बाँसखर्क आएका निमा भन्छन्, ‘घर पनि छैन जग्गा पनि छैन, त्यहाँ गएर पनि के गर्ने ?’

विस्थापित शिबिरमा बस्दै आएकाहरुलाई जिल्ला विपद व्यवस्थापनसमितिले प्रति परिवार एउटा टेण्ट दिएको छ । यो पर्याप्त हैन । विस्थापित बासी चिसो सहने र भोकले मर्नु परेपनि पूरानो थलो नफर्कने अडानमा छन् । लिदीवासीलाई त्यहाँ फर्किएपनि पहिरोले पुर्छ भन्ने त्रास छ ।‘हामी पहिरोले पुरिने ठाउँमा जानै सक्दैनौं,’ लिदीका अर्का विस्थापित रेखबहादुर दोङ भन्छन्, ‘त्यहाँ भीर पाखा छ , भुकम्प आएर जमिन हल्लाए माथितिरको ढुंगा खस्छन् ।’ उनले त्यहाँ बस्नु साह्रै जोखिम भएकाले बाँसखर्कमा आफूहरुलाई पाउ टेक्ने ठाउँ चाहिने सुनाए ।

विस्थापितहरुको भनाईमा बाँसखर्कको तुलनामा लिदीमै बढी उब्जाउ हुन्छ । लिदीवासी आफूहरु मर्ने ठाउँमा नजाने अडानमा छन् । ‘सरकारले घर बनाउनका लागि दिने भनेको दुई लाख चाँहिदैन, हामी यही बस्न चाहन्छौं,’ रेखबहादुर भन्छन् ‘दुई लाखको लोभमा आइमाई र बालबच्चा लिएर जाँदैनौं ।’ उनले सुरक्षित घर बनाइदिएर आफूहहरुलाई उब्जाउका लागि पर्याप्त जग्ग दिनुपर्ने बताउँछन् ।

थप पहिरोले बगाउन लागेको आफ्नो गाउँ फर्कनुपर्ला भन्ने विस्थापितमा चिन्ता छ । ‘भुकम्पमा बाँचियो, पहिरोमा पनि बाँचियो,’ रेशम दोङ भन्छन्, ‘खेती पाती पहिरोले लग्यो, घर लग्यो के गर्न जानु त्यहाँ ?’ उनीजस्तै अन्य लिदीबासी खान नपाएर मरे पनि बाँसखर्क छाडेर पुरानो थातथलो नजाने अडानमा छन् ।

बाँसखर्कमा बसेकाहरु सरकारले जग्गा दिएर व्यवस्थित रुपमा बस्ने व्यवस्था मिलाउनुपर्ने माग गर्छन् । सरकारले अहिलेसम्म बिस्थापितहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने नीति बनाएको छैन । घर बनाउन दिने अनुदानको कार्यविधि आएपनि त्यसले बिस्थापितहरुको सम्बोधन गर्दैन । सरकारको पुर्नवास नीतिमा आफ्नो या परिवारका सदस्यको नाममा अन्यत्र कतै जग्गा छ भने पुर्नवासमा जान नपाउने प्रावधान छ ।

जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ विस्थापितका लागि जिविकोपार्जनसहितको सुरक्षित आवास दिलाउने पहल भइरहेको बताउँछन् । ‘हामी हाम्रा जनतालाई सुरक्षित रुपमा राख्न चाहन्छौं ।’ उनले भने ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस