Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजसुनकोशीका पहिरोपीडितलाई सुरक्षित स्थानमा सारियो

सुनकोशीका पहिरोपीडितलाई सुरक्षित स्थानमा सारियो


थुम्पाखर ।

सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरोपीडित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । थप पहिरोको जोखिम बढेपछि थुम्पाखरस्थित पाखरदोभानका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो ।
गाउँपालिकाले आवश्यक सामग्री प्रदान गरेर सुरक्षित स्थानमा लगिएको वडा नं. ६ का अध्यक्ष रामकुमार थापाले जानकारी दिए ।

गएको भदौ ९को पहिरोले ६२ घर जोखिममा थिए । पहिरो गएको तेस्रो दिन अर्काे पहिरोले चार घर पुरेको थियो ।
वडाअध्यक्ष थापाका अनुसार पाखरदोभानको ७ परिवारलाई अहिले सारिएको हो । गाउँपालिकाले उनीहरुका लागि आवश्यक ७ थान टेण्ट, पाँच बण्डल जस्ता र खानेपानीका लागि पाइप वितरण गरेर सारिएको हो ।

हाललाई सूर्यबहादुर श्रेष्ठ, ढकलबहादुर श्रेष्ठ, शिव श्रेष्ठ, मेखबहादुर श्रेयठ, कृष्णबहादुर श्रेष्ठ, रामशरण श्रेष्ठ र कुमार श्रेष्ठको परिवारलाई स्थानान्तरण गरिएको अध्यक्ष थापाले सिन्धुखबरलाई जानकारी दिए ।
पहिरोमा घर पुरिएका प्रति परिवारलाई सुनकोसी गाउँपालिकाले ५ लाख घर बनाउन दिने भएको छ । पीडित परिवारसमक्ष पुगेर गाउँपालिका अध्यक्ष श्रवण जिसीले घर बनाउन प्रतिपरिवार ५ लाख दिने घोषणा गरेका हुन् ।

पहिरो रोकथामका लागि दुई वर्ष अघि नै सम्बन्धित कार्यालय र प्रदेश सरकारसँग बजेट माग गरिएको थियो । तर कतैबट सुनुवाई नहुँदा पहिरो रोकथाममा पहल गर्न नसकिएको वडाअध्यक्ष थापाले जानकारी दिए ।
बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस