Techie IT
Wednesday, October 28,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाजपहिरो विस्थापितको दुखेसो–‘कहिले सकिएला हाम्रो दुःख ?’

पहिरो विस्थापितको दुखेसो–‘कहिले सकिएला हाम्रो दुःख ?’


बाँसखर्क ।
‘आकाशको पानी सिधै ओछ्यानमा आइपुग्छ, यहाँ कसरी रात काट्न सकिएला ?’ जुगल गाउँपालिका लिदीबाट विस्थापित भइ बाँसखर्क आएका साङ्बो दोङले दुखेसो पोखे । एकसय ७२ परिवारका केही घरमुलीसँगै बासखर्क आएका लिदी लामागाउँका ४५ वर्षका साङ्बो दोङ जंगलतर्फ हेरेर टोलाइरहेका भेटिए ।

लेकाली जंगलबीच लस्कर निला टेण्ट, चिसो भुइमा ओछ्याइएको दुईवटा पाल । दुईवटा टेण्ड बराबर एक बोरा चामल, केही भाँडाकुडा टेण्डभित्रको एउटा कुनामा राखिएको छ । जुगल गाउँपालिका वडा १ बाँसखर्कमा सरेका लिदी लामागाउँका शोकाकुल विस्थापित परिवारको बसाईको दृश्य हो यो ।

आफू एक्लैलाई बस्न समस्या भइरहदा परिवारलाई कसरी यहाँ मिलाएर राख्ने के गरी दुई महिना बाँच्ने अन्यौलता थपिएको उनको भनाइ छ । ‘कतिन्जेल सेलाङमा अरुको घरमा गएर गुहार्दै  खाना पकाएर खाने, कतिन्जेल यसरी टेण्टभित्र बस्ने ?’ उनले भने ।

सिमसिमे वर्षात झर्न थालेपछि टेण्डभित्रको ओछ्यानमा पानी चुहिन थालेपछि दिक्क भएका जुगल २ लिदी लामागाउँका ५७ वर्षका रेशम दोङ अरुसँगै पानीमै भिज्दै बाहिर निक्लिएर बासखर्कको जंगल हेर्न थाले । बिहिवार बिहानै हिडेर सेलाङ गाउँमा गएर गुहार माग्दै राहतकोे खाना पकाएर खाएपछि साथीसगै टेण्टभित्र छिरेका दोङ बाहिर निक्लिएपछि एकाएक हताश देखिए । ‘कहिले सकिएला हाम्रो दुःख ?, भूकम्पपछि त दौडिरहेका छौं, कति ठाउँमा दौडने, बिरालोले बच्चा सारेभन्दा चर्को भइसक्यो, दिक्क लागिसक्यो,’उनले भने ।

बाँसखर्कमा ९८ वटा टेण्ट हालिएको छ । भुकम्पपछि जनप्रतिनिधिद्वारा गरिएको अस्थायी आपतकालिन स्थानन्तरणमा आएका ४२ परिवारलाई वन क्षेत्रमा बस्न नमिल्ने भन्दै फर्काएको थियो । ती परिवार आजित भएर लिदीकै पहिरोमुनी फर्किए । बासखर्क आउनेबित्तिकै लिदी पहिरोमा गुमाएका श्रीमती र छोराको यादले सताएपछि साङ्बोलाई रातदिन मनमा केही गाँठो परेजस्तै लाग्छ । ‘त्यतिखेर सुरक्षित आश्रयको खोजीमा परिवारसहित आएको थिए, बस्न नदिएपछि फर्कियौ, श्रीमती र छोरा गुमाए, अब कति दिन यहाँ बसेर फेरि लिदी फर्कनुपर्ने हो की ,’उनले भने । टेण्ट र पालले बर्खे वर्षात नछेक्ने देखिएपछि सास्ती भोगिरहेका उनले चाडै सुरक्षित बासको व्यवस्था गर्न गुहारे ।

जुगल गाउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठकाअनुसार बासखर्कमा हालै आपतकालिन अस्थायी स्थानन्तरण मात्रै गरिएको हो । यसबारे दिर्घकालिन कार्ययोजना बनाएर मोडेल एकिकृत बस्तीका कसरी कहाँ बनाउने भन्नेबारेमा निश्चित खाका कोरिदैंछ । ‘माथिल्लो निकायसँग छलफल गरेर यसबारे तत्कालै अगाडी अगाडी बढ्नेछौ,जनतको दुखदर्द हामीले बुझेका छौ,’उनले भने ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस