Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजबोल्देका ६१ परिवार सुरक्षित स्थानमा सरे

बोल्देका ६१ परिवार सुरक्षित स्थानमा सरे


गुम्बा ।

आफूहरु बस्दै आएको गाउँ पहिरोको उच्च जोखिममा परेपछि जुगल गाउँपालिका गुम्बास्थित बोल्देका दुई बस्ती सुरक्षित स्थानमा सरेका छन् । बोल्देमा रहेको कुण्डिम्राङ र घट्टेखोलाका ६१ घर परिवार सुरक्षित स्थान खोज्दै कोम्भोच्यत डाँडामा सरेका हुन् ।
पहिला बस्दै आएको स्थानमा माथिबाट पहिरो जाने र तलबाट पनि भास्सिदै गएको थियो । बर्खा रहेसम्म गाउँमा बस्न जोखिम भएकाले तत्कालका लागि अस्थायी रुपले आजबाट डाँडामा गएर बस्न थालेको स्थानीय जितेन पाख्रिनले जानकारी दिए ।
जु्गल गाउँपालिकाले प्रदान गरेको त्रिपाल लिएर माथि डाँडामा गएको उनको भनाई छ । ‘त्रिपाल नपुगेपछि घरबाट भकारी लिएर पनि स्थानीयवासी सुरक्षित स्थानमा सरेका छन्,’ पाख्रिनले सिन्धुखबरसँग भने । बस्नका लागि ठाउँ सुरक्षित भएपनि खानेपानी र शौचालयको समस्या रहेको उनले जानकारी दिए ।
बस्ती जोखिम भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिन्धुपाल्चोकका प्राविधिक, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि सो स्थान जोखिम भएको निष्कर्ष भएपछि स्थानीयलाई सुरक्षित स्थानमा बसोबास गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुझाएको हो ।
अहिले तत्कालका लागि सारिए पनि केही दिनमा अन्य बन्दोबस्त र आवश्यक परे जिविकोपार्जनसहितको बस्ती स्थानान्तरणसमेत गर्न सकिने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!