उन्नतितिर अघि बढ्दै धुस्कुन (भिडियो रिपोर्ट)
धुस्कुन । सिन्धुपाल्चोकमा तीन नगरपालिकासहित १२ स्थानीय तह छन् । तीमध्ये ऐतिहासिक महत्व बोकेको पिस्कर गाउँ केन्द्रविन्दु रहेको त्रिपुरासुन्दरी गाउँपालिका पनि एक हो । धुस्कुन गाउँ त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. ३ मा पर्छ । अरनिको राजमार्गको बाह्रविसेबाट सुनकोशी हुँदै यो गाउँ पुग्न सकिन्छ । भौगोलिक रुपमा विकट मानिने यो गाउँमा स्वास्थ्य, शिक्षालगायत भौतिक पूर्वाधारको विकासले गति लिएको छ ।
गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नका लागि स्थानीय तहले ल्याएको विभिन्न योजनाले जनता लाभान्वित भएका छन् । समृद्ध धुस्कुन निर्माणका लागि व्यवसायिक कृषि उत्पादन, पशुपंछि पालन र उद्यमको विकासलाई वडा कार्यालयले प्राथमिकतामा राखेको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा नमूना काम गरेका यहाँका जनप्रतिनिधिहरु धन्यवादका पात्रसमेत बनेका छन् ।
गाउँमा रहेका किसानहरुको प्रमुख आयस्रोतको रुपमा रहेको दुग्ध उत्पादनलाई मध्यनजर गर्दै यहाँ सञ्चालित धुस्कुन कृषि सहकारी संस्थाले बजारीकरण गरिरहेको छ । झण्डै ६० घरपरिवारबाट दैनिक ६ सय लिटर सम्म उत्पादन भएको दुध काभ्रेको बनेपामा खपत हुन्छ ।
गाउँको अर्थतन्त्रलाई अब्बल बनाउन वडा कार्यालयले ल्याएका विविध योजनामध्ये कृषि तथा पशुपंछिपालन यस वडाको पहिलो प्राथमिकतामा रहेको छ । यहाँका किसानहरु विशेषगरी कुखुरा र बाख्रापालनबाट पनि आत्मनिर्भर बनेका छन् । यसका साथै यहाँका किसानहरु तरकारी उत्पादनमा समेत अग्रसर छन् । त्यसको उदाहरण गाउँमा टनेलहरु प्रशस्त देख्न सकिन्छ । सामान्य घरायसी कामका साथै पारिवारिक प्रयोजनका लागि गाउँमै कृषि पेशा गरिरहेका धुस्कुनवासीले अहिले तरकारी खेतीबाट पनि एक सिजनमै करिब डेढ लाख रुपैयाँसम्म आर्जन गर्ने गर्दछन् । गोलभेँडा, खुर्सानी, करेलालगायत सिजनअनुसारको तरकारी खेतीबाट यो रकम एउटै टनेलबाट किसानले कमाउने गरेका हुन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुधको उचित व्यवस्थापन र बजारीकरणका लागि कृषि सहकारी संस्था स्थापना गरि एक करोड रुपैयाँसमेत लगानी गरिएको छ ।
यसअघि घरमै प्रयोग हुने गरि करेसाबारीमा उत्पादन गर्ने किसानहरु अहिले तरकारी उत्पादनबाटै व्यवसायिक बनेका छन् । वडाले किसानका लागि ल्याएको आधुनिक कृषि कार्यक्रम अन्तर्गत खेती गर्न थालेसँगै किसानको कमाईमा बृद्धि भएको छ । तरकारी खेतीमा रमाएका कारण यहाँका बासिन्दाले बैकल्पिक रोजगारीका लागि अन्य पेशा सोच्नुपरेको छैन ।
यहाँ दुई सय पचास भन्दा बढी टनेलमा अर्गानिक तरकारी उत्पादन हुने गर्दछ । जसले जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाह्रविसेलाई थेग्ने गरेको छ ।
सिंचाई सुविधाले किसानलाई थप सहज बनाएको छ । यहाँका स्थानीयवासीले स्वच्छ खानेपानीको सुविधा पाएका छन् । एक घर एक धाराको अवधारणाले यहाँ पूर्णता पाएको छ ।
यसका अलावा अरनिको राजमार्ग अन्तर्गतको बाह्रविसे हुँदै सुनकोशी–धुस्कुन–पिस्कर सडकको स्तरोन्नतिको काम अहिले भइरहेको छ । प्रदेश र संघीय सरकारको समपूरक बजेटबाट यो सडक निर्माण भइरहेको हो । करिब १५ किलोमिटर लामो यो सडकलाई कालोपत्रे गर्नका लागि ३९ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । यहाँका अन्य शाखा सडकहरुमा बाह्रै मास सवारी चल्ने गरी स्तरोन्नति गरिएको छ । सोलिङसहितको सडक निर्माण गरिएकाले सडकमा पानी जम्ने, खाल्डाखुल्डी हुने समस्याबाट जनताले मुक्ति पाएका छन् । सडकको टिकाउका लागि कज वे, ग्याविन बक्स र जालीसमेत राखिएको छ ।
करिब तीन करोड रुपैया लगानीमा बाह्रविसेबाट धुस्कुन जोड्ने पक्की पुल निर्माणको प्रक्रिया अघि बढेको छ भने दाबी खोलामा पक्की पुल निर्माणका लागिसमेत बजेट विनियोजन भइसकेको छ ।सुनकोशी नादि पारी रहेको धुस्कुन जोड्न जुरेमा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको छ । अन्य तीन स्थानमा पुल निर्माण प्रक्रियामा रहेको छ ।
गाउँमै उद्यम बढाई बेरोजगारी समस्यालाई न्यून गर्ने र यहाँका स्थानीय महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सिपमूलक र आयमूलक तालिममा जोड दिइएको छ । यहाँका अधिकांश महिलाले सिलाई कटाईको तालिमसमेत लिएका छन् । जसको कारण सिलाइकटाइबाटै राम्रो आयआर्जन गर्दे आएका छन् । यसका साथै स्थानीयहरु बाँसको मुढा बनाउने काममा समेत निपूर्ण छन् ।
आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणका लागिं खाजिलुङमा बुद्ध पार्क निर्माण गरिएको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको करिब डेढ करोडको लागतमा बुद्ध पार्क निर्माण गरिएको हो । यो पार्क निर्माणको अन्तिम चरणमा रहेको छ । यसका साथै अतिथि सत्कार तथा गाउँकै अर्गानिक कृषि उत्पादनको प्रवद्र्धन गर्न होमस्टेको अवधारणालाई अघि सारिएको छ । पर्यटन प्रवद्र्धनबाट राम्रो आयआर्जन हुने भएपछि वडावासीहरु खुशी छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका र दोलखाको भीमेश्वर नगरपालिकाको सीमामा रहेको डाङडुङे डाँडामा निर्माणाधिन अवस्थामा रहेको फिल्म सिटीसँग बुद्ध पार्क जोड्ने गरि बुद्ध मार्ग निर्माण गर्ने वडा कार्यालयको योजना छ । धार्मिक गन्तब्यका रुपमा रहेका मठमन्दिर तथा पार्कहरुमा आकर्षक सिढीं निर्माण गरिएको छ । बहुमुल्य जडिबुटीका रुपमा रहेका लोठसल्ला, पाँचऔले, पदमचाल, सतुवालगायतका जडिबुडीहरु स्थानीयले व्यवसायिक रुपमा खेती गरेका छन् ।
उसो त कोविड १९ का कारण सरकारले गरेको लकडाउनले धुस्कुन पनि प्रभावित भयो । संक्रमणलाई न्यूनीकरण गर्न स्थानीयको सहयोगमा क्वारेन्टाइन स्थापना गरिएको छ । क्वारेन्टाइन निर्माणका लागि इच्छुक स्थानीयबाट एक व्यक्ति बराबर एक हजार रुपैयाँ संकलन गरेर क्वारेन्टाइन स्थापना गरिएको हो ।
४० जना क्षमताको यो क्वारेन्टाइनमा बिजुली बत्ती, सोलार, खानेपानी, महिला र पुरुषका लागि छुट्टै बाथरुम, टुवाइलेटको व्यवस्था गरिएको छ । क्वारेन्टाइन स्थापनाका लागि कतैबाट सहयोग नआएपछि स्थानीय युवा, समाजसेवी मिलेर आफ्नो गाउँ आफै बनाऔं अभियान मार्फत क्वारेन्टाइन स्थापना गरिएको हो ।
यो समयमा जिल्लामै पहिलोपटक यो वडाको व्यवस्थापनमा बालबालिकाको घरमै पुगेर शिक्षकले पढाउन थालेका छन् । कोरोना महामारीका कारण विद्यालयले बालबालिकाको सुरक्षाका लागि मास्क र पुस्तक घरमै वितरणको व्यवस्था मिलाएको छ । वैकल्पिक शिक्षण पद्धति अपनाएर डोर टु डोर टिचिङ मेथडमार्फत अध्यापन गराइएको हो ।
यहाँ सरकारी विद्यालयमा पनि निजी विद्यालय जस्तै सुविधा छ । विद्यालयहरुमा कम्प्युटर पढाई हुन्छ । विद्यालय तहपछिका सम्पूर्ण कक्षाहरु कम्प्युटर विषय अनिवार्य छ । कम्प्युटर शिक्षा लिन चाहने स्थानीय महिलाहरुका लागिसमेत यो सुविधा उपलब्ध छ । यस वडामा एघार र बाह्र कक्षाका विद्यार्थीहरुका लागि निशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ । यहाँ रहेका विद्यालयहरुमा सुरक्षित घेराबारसहितको सुविधा सम्पन्न भवन निर्माणसमेत भइसकेको छ ।
स्वास्थ्य सेवाबाट स्थानीयवासीहरु सन्तुष्ट छन् । धुस्कुनका कुनै पनि स्थानमा काठको पोल छैन । विद्युत प्राधिकरणबाट साढे दुई करोडको लगानीमा धुस्कुनलाई काठेपोल मुक्त, चुहावटमुक्त क्षेत्र बनाउन एबीसी केबल जडान गरिएको छ । गाउँमा १२ वटा विद्युत ट्रान्सफर्मर जडान गरिएको छ ।
खेलाडी प्रर्वद्धन तथा नयाँ उत्पादनका लागि खेल मैदान निर्माण गरिएको छ । गाउँमा रहेका खेलाडीहरुलाई अभ्यास गराउनका लागि खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको प्रयोगबाट खेलाडीहरुको खेल क्षमता बढ्ने विश्वास गरिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, भौतिक पूर्वाधारको विकाससँगै बेराजगारीको अन्त्य नजिक भएकाले समृद्ध धुस्कुनको सपना अब टाढा छैन । गाउँमा भएका उत्पादन गाउँमै खपत भएपछि आयात विस्थापन भएको छ भने बार्षिक १२ करोड रुपैयाँ बराबरको कृषि उत्पादन निर्यात गर्ने लक्ष्यमा धुस्कुन अगाडि बढिरहेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस