ताताेपानीसँग सम्बन्ध जाेड्न बेलिब्रिजकाे बिकल्प छैन

काठमाडौं– सडक विभागले अबिरल वर्षाका कारण जुरे–बाह्रबिसे र तातोपान खण्ड सडकको ११ स्थानमा क्षति पुगेको भन्दै यसलाई खुलाउन बेलिब्रिजको बिकल्प नभएको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । स्थानीय तहसँग भएको स्रोतको परिचालन गरेमा त्यसमा विभागले पनि सघाउने जानकारी दिएको छ । बाढीले ठाउँठाउँमा सडक नै भोटेकोशीमा खसालेपछि जुरेदेखि तातोपानी क्षेत्रमा यातायात सञ्ञ्चालन गर्न निकै कठिन हुने देखिएके छ ।
बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्ग खुलाउन सभामुख अग्नीप्रसाद सापकोटाले आज सरोकारवलाहरूसँग आफ्नै कार्यकक्ष सिंहदरबारमा गरेको छलफलका क्रममा विभागका महानिर्देशक केशवकुमार शर्माले उक्त जानकारी दिएका हुन् । सिन्धुपाल्चोकबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीसहितका सरकारी अधिकारी र जिल्लाका राजनीतिक दलका नेताहरूसँग परामर्श गरे । परामर्श लिने क्रममा सभामुखले सडक सम्बन्ध टुटेको स्थानमा मर्मत गरेर वा वैकल्पिक व्यवस्था गरेर यातायात सञ्चालनको व्यवस्था मिलाउन भनेपछि सरकारी अधिकारीह?ले स्थानीय तहको सहयोगको पनि अपेक्षा गरेका थिए । मन्त्रालयका सचिव कार्कीले स्थानीयस्तरमा आउने समस्या हल गर्न सघाउनुपर्ने बताए ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार सभामुख सापकोटाले छलफलका क्रममा जुनसुकै उपाय निकालेर भएपनि सडक अवरूद्ध हटाउन भनेका थिए । सभामुखको धारणापछि सरकारी अधिकारीह?ले आफूहरू सडक खोल्ने प्रयत्न गरिरहेको बताए । परामर्शका क्रममा वागमती प्रदेशकका सामाजिक विकास मन्त्री युवराज दुलाल, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल, नेकपाका सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल, नेकपाका जिल्ला नेताहरू माधव सापकोटा, सूर्य पौडेल(सरल) ले सडक निर्माणका क्रममा आफूहरूू सक्रिय भएर लाग्ने बताए । बुधबारदेखि लगातार परेको बर्षाका कारण आएको बाढीपहिरोले अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्ड छियाछिया भएको छ । जुरे सडकखण्ड, बाह्रबिसे चौकी नजिक हुँदै जलेटार व्यारेक मुनिको सडक, खागदल खोला पक्की पुल, जम्बु, जम्बु बजार क्षेत्र, नयाँ पुलको बुल्कोटे कजवे, डाकलाङ, खोकुण्डोल, लार्चा, बेलिब्रिज क्षेत्र, दशकिलोलगायका स्थानको सडकमा क्षति पुगेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस