सिन्धुपाल्चोक प्रहरीलाई सुविधासम्पन्न ब्यारेकमा

चौतारा । सिन्धुपाल्चोक प्रहरीको नव निर्मित प्रहरी ब्यारेक भवन उद्घाटन गरिएको छ । आज प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञावलीले सिन्धुपाल्चोकको चौतारा पुगेर प्रहरी ब्यारेक भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटनसँगैं अब प्रहरीहरु सुविधासम्पन्न ब्यारेकमा बस्न पाउने भएका छन् । भूकम्प पछि लामो समय जिल्लाका प्रहरी कष्टकर रुपमा बस्दै आएका थिए ।
महानिरीक्षक ज्ञावलीले भवन उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना भाईरस ले सृजना गरेको बिषम परीस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर विचलित नभई निर्वाह गरेको भुमिकाको चर्चा गरेका थिए । राष्ट्रमा नागरिकलाई आईपर्ने जुनसुकै विषम परिस्थिमा पनि अहोरात्र खटि जिम्मेवारी निर्बाह गर्न प्रहरी कटिवद्ध रहेको ज्ञवालीले बताए ।
प्रहरी पिडा र अन्यायमा परेका नागरिकलाई न्याय दिलाउने सारथी भनेको भन्दै उनले समाजमा शान्ति शुरक्षा कायम राख्न तथा प्रहरीवाट हुने सम्पुर्ण सेवा प्रवाहमा थप सुधार ल्याउन प्रहरी कर्मचारीलाई आफ्नो दायित्वप्रति दत्तचित्त भई नागरिककको सेवामा सदैव समर्पित हुनु पर्ने बताए ।
आम नागरिकको स्वास्थ्य सुरक्षित राख्न नेपाल सरकारले जारी गरेको लकडाउनको उचित पालना गरी सुरक्षित रहन आम नागरिकलाइ आग्रह गरे । यसका लागि आगामी दिनहरुमा पनि सबै सरोकारवाला निकायहरुसँग आबश्यक समन्वय तथा सहकार्य गरी प्रहरी अगाडि बढ्ने उनले बताए ।
सिन्धुपाल्चोकमा हाल आत्महत्याको दर बढेको र यसको कारण मनोसामाजिक विचलन भएकाले यसको रोकथाम र नियन्त्रणका लागि परिवार, समाज र स्थानीय सरोकारवाला निकायहरुसँगको समन्वय गरी उपयुक्त कार्यक्रम संचालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।
नागरिकको सुरक्षालाई प्राथमिकता दिदैँ जिल्लाको सुरक्षा चुनौतीलाई मनन गरी गत बर्ष यस जिल्लामा ४ वटा नयाँ प्रहरी चौकीहरुको दरबन्दी भएको र आगामी बर्षहरुमा पनि जिल्लाको सुरक्षा चुनौतीलाई बिश्लेषण गरी थप ईकाईहरुको निकासा गरिने महानिरिक्षक ज्ञवालीले बताए ।
UKID को सहयोग र UNOPS को सहकार्यमा कुल ५ करोड ६१ लाख ८१ हजार ९४३ को लागतमा प्रहरी ब्यारेक भवन निर्माण भएको हो । प्रहरी महानिरीक्षक ज्ञवालीले भवन निर्माणमा सहयोग पुर्यारउने सबैलाई प्रशंसापत्रसहित धन्वाद दिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले शुभकामना मन्तब्य राखेका थिए भने प्रहरी प्रमुख प्रज्वल महर्जनर्ले स्वागत मन्तब्य राखेका थिए ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस