हेलम्बुले दियो शिक्षकलाई उपचार खर्च

हेलम्बु । हेलम्बु गाउँपालिकाले शिक्षकलाई उपचार खर्च दिएको छ । सरस्वती मावि ग्याल्थुममा अध्यापन गराउने शिक्षक किशोर कुमार भट्टलाई उपचार खर्च दिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दीए । उनलाई ५१ हजार ४२१ रुपैयाँ उपचार खर्च दिइएको हो ।
उनको पीत थैलीमा ट्युमर भएर उपचार गर्नुपर्ने भएपछि गाउँपालिकाले शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोषबाट सो रकम सहयोग गरेको शिक्षा प्राविधिक विश्वनाथ भण्डारीले जानकारी दिए । गाउँपालिकाले सो कोषबाट पहिलो पटक भट्टलाई सहयोग रकम दिएको हो । उनी बैतडीबाट सिन्धुपाल्चोकमा अध्यापन गर्न आएका हुन् ।
धेरै खर्च लाग्ने बिमारी भएका शिक्षकलाई उपचार खर्च दिन गाउँपालिकाले निति लिएको छ । शिक्षक बिरामी भएर तलबको एक तिहाइ भन्दा बढीको खर्च भएमा उपचार गराएको कागजात अनुसार सहयोग रकम दिने गरिएको शिक्षा प्राविधिक भण्डारीले बताए ।
हेलम्बुले २ लाखसम्म उपचार खर्च भएका शिक्षकलाई कोष सञ्चालक समितिले निर्णय गरेर उपचार खर्च दिनेछ भने त्यसभन्दा बढी उपचार खर्च भएकाको हकमा गाउँ कार्यपालिकाले निर्णय गरेर उपचार खर्च दिइने शिक्षा शाखा प्रमुख प्रकाश दत भट्टले जानकारी दिए । यो उपचार खर्च सबै किसीमका शिक्षकहरुले पाउनेछन् ।
यो कोष गाउँपालिकाले १० लाख रकम राखेर सुरु गरेको थियो । वर्षेनी गाउँपालिकाले १० लाख थप्दै जान्छ भने कोषमा प्रत्येक शिक्षकले महिनाको एक सय रुपैयाँ जम्मा गर्ने छन्। हेलम्बुमा दुई सय २५ शिक्षक छन् । यस्तो शिक्षक कर्मचारी उपचार कोष नेपालमै पहिलो रहेको हेलम्बुको दावी छ ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस