सुनकोसीले काठमाडौंमा रहेकालाई कोठामै पुर्यायो खाद्यान्न

काठमाडौं । सुनकोसी गउँपालिकाले काठमाडौंमा रहेर दैनिक छाक टार्न समस्या भएका गाउँपालिकाका जनतालाई खाद्यान्न राहत वितरण गरेको छ । गाउँपालिकाले गाउँ जान नसकेका तर काठमाडौंमा दैनिक काम गर्न नपाएर छाक टार्नै समस्या भएका एक सय ४ परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
वितरणका लागि गाउँपालिकले वडा नम्बर ६ का अध्यक्ष राम कुमार थापा तथा स्थानीय नेता प्रमोद लामा र रुपकाजी लामालाई जिम्मा दिएको थियो । सोही अनुसार काठमाडौंका विभिन्न ठाउँमा रहेका एक सय ४ परिवारलार्ई आइतबार र सोमबार खाद्यान्न राहत वितरण गरेको प्रमोद लामाले जानकारी दिए । आज पनि पाटनका केही परिवारलाई खाद्यान्न राहत वितरण गरिने उनले बताए । खाद्यान्नमा ३० किलो चामल, दाल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री छन् ।
विभिन्न कारणबाट गाउँ जान नपाएका अशक्त, एकल महिला, दलित, गलैचामा काम गर्ने, घर ढलान काम गर्ने, फर्निचरमा काम गरेर गुजारा चलाउनेहरुको तथ्याकं संकलन गरेर गाउँपालिकाले खाद्यान्न वितरण गरेको हो । राहत वितरणको क्रममा भुकम्पमा परेर घर भत्किएको तर हालसम्म घर नबनाएका कारण घर पनि नगएको र खाने सामल पनि नभएकाहरु समेत पाएको लामाले बताए । गाउँपालिकाले कोही भोको नराख्ने भन्दै काठमाडौंमा रहेका खानै नपुगेकाहरुलाई खाद्यान्नका लागि सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस