बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजकिसानलाई सस्तो मूल्यमा मल–बीउ

किसानलाई सस्तो मूल्यमा मल–बीउ


बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिको सामना गर्न खाद्यान्न उत्पादनलाई प्राथमिकता दिने रणनीति बनाएको छ । यसका लागि किसानलाई सुपथ मूल्यमा मल–बीउ उपलब्ध गराउने जानकारी नगरपालिकाका मेयर निमफूञ्जो शेर्पाले दिए ।

लकडाउन लामो समय जारी रहन सक्ने र भारतबाट आउने दाल, चामल ,चिनीलगायत खाद्यान्न आपूर्तिमा अवरोध आउन सक्ने भन्दै नगरपालिकाले कृषिमा जोड दिएको शेर्पाले जानकारी दिए । ‘आफूलाई चाहिने खाद्य वस्तु आफैंले उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्न खोजेका छौं’ उनले भने ।

कृषिलाई प्राथमिकता दिँदै सुपथ मूल्यमा किसानलाई रासायनिक मल उपलब्ध गराउन शुरु गरेको जानकारी उनले दिए । साल्ट ट्रेडिङबाट मल किनेर नगरपालिकाले सुपथ मूल्यमा गाउँ–गाउँ पुर्‍याउने व्यवस्था मिलाएको छ । साथै नपाले नपाभरि खाद्यान्न अभाव नहोस् भनेर खाद्यान्न व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ । ‘खाद्यान्न ल्याउन नगरपालिकाले सबैसँग समन्वय गरिरहेको छ उनले भने, गोदाममा राखेर आवश्यक अनुसार गाउँ–गाउँमा पठाउन लागेका छौं ।

नपाले राहत वितरणलाई पनि त्यतिकै तीब्रता दिएको छ । राहत वितरण निम्न वर्गका मानिसलाई गरिने हुँदा उपमेयर सुशीला पाख्रीनको संयोजनमा गाउँ गाउँ गएर व्यक्ति पहिचान भइरहेको उनले बताए । त्यसमा एकल महिला, वृद्धवृद्धा, अपागं, अशक्त, सुकुम्वासी, ज्यालादारी गरेर खाने र दलित नपाको प्राथमिकतामा छन् ।

नपाले काठमाडौंबाट लगेका ५ सय ५० जनालाई ज्वरो जाँचेर गाउँ पठाएको छ । ‘ज्वरो अलि बढी देखिए प्राथमिक स्वास्थ्य केन्द्रको् आइसोलेसनमा राख्ने भनेका थियौं,’ उनले भने, जाँचका क्रममा कोही त्यस्तो भेटिएनन् ।’ उनीहरुको थप स्वास्थ्य अवस्था बुझ्न र परीक्षण गर्न उपमेयरको संयोजकत्वमा समिति नै बनेको छ । उक्त समितिले उनीहरुको स्वास्थ्यस्थिति बारे जानकारी लिइराखेको छ । आवश्यकता अनुसार औषधि वितरण गरिरहेको छ । नपाले दीर्घरोगीको लागि आवश्यक औषधि खरिद गरेर गाउँ–गाउँ पठाउने गरेको छ । ‘हामी तथ्याकं संकलन गरिरहेका छौं त्यही अनुसार औषधि ल्याउने गाउँ पठाउने भइरहेको छ’, उनले भने ।

नपाले खाद्यान्न खरिदका लागि बिहान ७ देखि १० बजेसम्म समय छुट्याइएको छ । निर्माण सामग्री खरिद गर्नका लागि अपरान्ह ४ देखि ६ बजेसम्मको समय तोकिएको छ । विकास निर्माणका कामलाई सुचारु गर्ने निर्णय अनुसार निर्माण सामग्री खरिदको समयपनि छुट्याइएको हो । उनले नपाका सम्पूर्ण नगरवासी र सवै दललाई राजनीति गर्न छाडेर कोभिड–१९ विरुद्ध लड्न आव्हान गरेका छन् । उनले तर्क गरे, ‘हामी रहे राजनीति फेरि फेरि गरौला ।’


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!