हेलम्बुको एउटै वडामा १४ क्वारेन्टाइन

हेलम्बु, १५ वैशाख
जिल्लाको हेलम्बु गाउँपालिकाको एउटै वडामा कोभिड १९ लक्षित १४ वटा क्वारेन्टाइन वार्ड स्थापना गरिएको छ । हेलम्बुको विकट हिमाली गाउँमा अवस्थित वडा नं. १ का विभिन्न टोलमा गरि १४ वटा क्वारेन्टाइन वार्ड स्थापना गरिएको हो ।
वडामा रहेका विद्यालय, गुम्बा, पाहुनाघर, आमा समूहको भवनलगायतमा क्वारेन्टाइन निर्माण गरिएको छ । विदेशलगायत देशका विभिन्न स्थानबाट गाउँ फिरेकाहरुका लागि सुरक्षित आवास गराउन क्वारेन्टाइन निर्माण गरिएको हेलम्बु गाउँपालिका वडा नं. १ को कार्यालयले जनाएको छ । १४ वटा क्वारेन्टाइनमा ४८ बेडको क्षमता बनाइएको वडाअध्यक्ष मिङमार लामाले जानकारी दिए । वडा नं. १ सहित हेलम्बु गाउँपालिकाभर ३४ क्वारेन्टाइन छन् ।
यो वडामा हरेक १५ देखि २० घर रहेको बस्तीमा सामुदायिक भवन अथवा गुम्बा रहेको छ । ती बस्तीका नागरिक बाहिरबाट गाउँ आएमा सुरक्षित रुपमा घर नजिकै बस्न सहज होस् भन्ने हेतुले हरेक टोलमा एउटा क्वारेन्टाइन निर्माण गरिएको वडाअध्यक्ष मिङ्मारले बताए । ‘क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्ति टाढा नरहेर आफ्नै टोलमा सुरक्षित बस्दा सहज हुनेछ भन्ने अपेक्षाले क्वा।ेन्टाइन निर्माण गरिएको हो,’ उनी अध्यक्ष लामाले भने, ‘अन्य बस्तीमा बस्नुभन्दा आफ्नै टोलमा रहँदा निकट हुने र क्वारेन्टाइन्मा रहेकाहरुलाई दिक्क हुने वातावरणको सिर्जना नगराउन यस्तो युक्ति गरेका हौं ।’ उनले सबै क्वारेन्टाइनमा स्वास्थ्यकर्मीसमेत राखिएको जानकारी दिए ।
वडामा रहेको फुम्बुच्चे पाहुना घर, रिबर्मा पाहुना घर, दकपार्खा पाहुना घर, ढोङदिङ पाहुनाघर, नाकुते स्कुल र गाउँघर क्लिनिक, लाङायुङा येल्मुनेसा सामुदायिक भवन र गाउँघर क्लिनिकमा क्वारेन्टाइन स्थापना गरिएको छ । त्यस्तै तिम्बु गोल्मादेवी मा.बि., सर्कथली आधारभूत बिद्यालय, पारगाङ डोम्बो छोसा, घ्याङ्युल आमा समूह भवन, तार्केघ्याङ गोरखनाथ आधारभूत बिद्यालयमा वार्ड राखिएको हो । अध्यक्ष लामाकाअनुसार तार्तुङ सामुदायिक भवन, ब्रासाङ स्थित सेती देवी आधारभूत विद्यालय, तेम्बाथाङ ककनी गाउँघर क्लिनिक र मेलम्चीघ्याङ गुम्बामा क्वारेन्टाइन निर्माण गरिएको छ ।
अहिले सबै क्वारेन्टाइनमा बिरामीहरु छैनन् । विदेशबाट आएका नागरिकहरु अहिले गाउँमा नभएकाले क्वारेन्टाइन खाली जस्तै छ । तीन दिनअघि काठमाण्डौंबाट यो वडामा एक सय ७४ जना गाउँ भित्रिएका छन् । उनीहरु सुरक्षित रुपमा होम क्वारेन्टाइटनमा बसिरहेको उनले बताए । ‘काठमाण्डौंबाट आएकाहरुको आरडीटीसमेत गरिएको छ, सबैको नेगेटिभ आएकाले सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्न सुझाएका छौं ।’ अध्यक्ष मिङ्मारले भने ।
जनतालाई जोगाउने काम स्थानीय सरकारको भएकाले धेरै सुविधा र सहज बसोबासका लागि बस्तीपिच्छे क्वारेन्टाइन निर्माण गरिएको हो । ‘जनता बचाउने काम सरकारको हो,’ उनी भन्छन्, ‘जनता नभइ सरकार हुँदैन ।’ उनले खाली रहेका क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी हरेक दिन गाउँवासीको स्वास्थ्य परीक्षण गर्न टोलटोलमा पुग्ने दाबी गरे । सबै क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गर्नका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको छ । ‘उहाँहरुको काम नभएपछि हामीसँगै गाउँमा लग्ने गरेका छौं ।’ उनले भने ।
हेलम्बु गाउँपालिकाले लकडाउनपछि टोलटोलमा पुगेर गाउँवासीको स्वास्थ्य परीक्षण गरिरहेको छ । दुई जना डाक्टरसहितको टोलीले स्थानीयको घरमै गएर स्वास्थ्य परीक्षण र उपचार गर्ने गरेका छन् । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा हरेक दिन डाक्टर अनि स्वास्थ्यकर्मीको टोलीसँगै गाउँ पुग्छन् ।
‘हेलम्बुभर रहेका दीर्घरोगीहरुलाई घरमै निःशुल्क औषधि पु¥याउने गरेका छौं,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन भन्छन्, ‘लकडाउनको समयमा औषधि किन्न टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दे यो अभियान ल्याएका हौं ।’ स्वास्थ्य परीक्षणका क्रममा अन्य रोग भेटिएकालाई पनि निःशुल्क औषधि वितरण गरिरहेको उनको भनाई छ । उनले गाउँवासीमा उच्च रक्तचाप, मुटु रोग, चिनी रोगलगायत समस्या देखिएको जानकारी दिए ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस