Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठसमाजशैक्षिक गुणस्तरको खोजी गर्दै भर्चुअल छलफल– ‘गैससको भूमिका फेरिनुपर्छ’

शैक्षिक गुणस्तरको खोजी गर्दै भर्चुअल छलफल– ‘गैससको भूमिका फेरिनुपर्छ’


सिन्धुपाल्चोक । भूकम्पपछि जिल्लामा अत्याधुनिक विद्यालय भवनको निर्माण तिब्र गतिमा भए पनि प्रविधिसँग जोड्न नसक्दा कोरोना भाइरस (कोभिड–१९) को संकटमा संरचनाहरुको सही ढंगले उपयोग गर्न नसकिएको गुनासो सरोकारवालाले गरेका छन् । उनीहरुले संरचना निर्माणका क्रममा सक्रिय गैरसरकारी संस्थाले शैक्षिक गुणस्तर बढाउने योजनामा भने चासो नदिएको बताए । उनीहरुले प्रविधिमैत्री हुन नसक्दा करोडौं खर्चेर बनाइएका कक्षा कोठाको उपयोग सही ढंगले गर्न नसकिएको बताए ।

‘महाभूकम्पलाई फर्केर हेर्दा तथा कोरोना भाइरस(कोभिड–१९) रेस्पोन्समा स्थानीय गैरसरकारी संस्थाको भूमिका’ बारेमा अनलाइनको सहायतामा शुक्रबार गरिएको भर्चुअल छलफलमा भौतिक संरचनाले मात्र सन्तुष्ट हुने ठाउँ नभएको उनीहरुको भनाइ छ । उनीहरुले पठनपाठनमा धेरै सुधार गर्नुपर्ने बताए ।

छैठौं भूकम्प स्मृति दिवसको दिन पारेर हेल्प नेपालले आयोजना गरेको छलफलमा पुनर्निर्माणमा गैरसरकारी संस्थाले निर्वाह गरेको भूमिका स्मरण गर्दै सरोकारवालाले अब शैक्षिक विकासमा गैरसरकारी संस्थाहरुको भूमिका के हुन सक्छ भन्ने सन्दर्भमा विचार राखेका थिए । भौतिक विकासमा मात्र खुशी भएर बस्न नहुने उनीहरुको तर्क छ । उनीहरुले आगामी दिनमा प्रविधिसँग जोडेर गरिने शैक्षिक गुणस्तरको विकासमा लाग्न गैससको पहल जरुरी रहेको बताए ।

आयोजक हेल्पका अध्यक्ष जिमी लामाले संयोजन गरेको उक्त छलफलमा सरोकारवालाले अबको शैक्षिक विकासमा गैससको स्थान, सरकारी प्राथमिकता र स्थानीय तहसँगको समन्वयमा केन्द्रीत रहेर सुझाव दिए ।

संघीय सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले भूकम्पपछि विद्यालय निर्माणमा सबै एकै मापदण्ड बनाउन नसक्दा संस्थाहरुको आ–आफ्नै ‘मोडल’ मा विद्यालय भवन बनेको बताए । त्यतिबेला हामीले जो आउँछ त्यसैलाई विद्यालय बनाउन स्विकृति दिने नीति बनाउँदा एकै मोडलको विद्यालय निर्माण गर्न नसकेको ठहर उनको छ ।

विद्यार्थी अनुपात हेरेर विद्यालय मर्ज गर्नुपर्ने र बनेका संरचनालाई टाढाबाट आउने विद्यार्थीका लागि होस्टेलको रुपमा विकास गर्नुपर्ने भनाइ उनले बताए । विद्यार्थी अनुपातमा कतै आवश्यकता भन्दा बढी र कतै कम संख्यामा शिक्षकले अध्यापन गराइरहेको उनले बताए । स्थानीय आवश्यकता हेरेर स्थानीय तहले नै शिक्षकको व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको धारणा उनको छ ।

विद्यालय प्रविधिमैत्री बनाउने हिसाबले गत साल जिल्लाका १० वटा विद्यालयलाई प्रविधिमैत्री बनाइएको थियो । जिल्लाका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्ने उनको धारणा छ । उनले विश्व नै कोरोनाले आक्रान्त भएको यो समयमा अब अन्तर्राष्ट्रिय गैरसरकारी संस्था नेपाल आउन कठिन भएको बताए । उनले अबको विद्यालयको पढाई कृषिमैत्री हुनुपर्ने बदाउँदैं त्यसतर्फका शैक्षिक पाठ्यपुस्तक निर्माण गर्न स्थानीय तहलाई अनुरोध गरेका छन् ।

भूकम्पपछि सिन्धुपाल्चोकका ५० प्रतिशत भन्दा बढी विद्यालय गैरसरकारी संस्थाको सहयोगमा पुनर्निर्माण गरिएको छ । भूकम्प पछि जिल्लामा पाँच सय ४७ विद्यालयको पुनर्निर्माण गरिएको छ ।

भर्चुअल बैठकमा वागमती प्रदेश सांसद निमा लामाले भूकम्पपछि पनि विद्यालयको पुनर्निर्माणमा गैससले निर्वाह गरेको भूमिका स्मरण गर्दै भने, ‘विद्यालयमा सबै किसिमका सुविधा भएर पनि कोभिड-१९ को संक्रमणका बेला पठनपाठन कसरी गराउने अन्यौल छ ।’ केही सांसद र स्थानीय तहका प्रमुखसँग पठनपाठन सञ्चालन गर्ने बारे आफूले छलफल गरिरहेको उनले बताए । ‘सबै जना अन्यौलमा नै हुनुहुन्छ,’ उनले भने, ‘पठनपाठनलाई कसरी निरन्तरता दिने अहिले यो जटिल विषय बनेको छ ।’ इन्टरनेटमार्फत पढाउन सकिने भएपनि ग्रामीण पहुँच बाहिरको कुरा रहेको उनले बताए । सरोकारवाला बसेर एउटा निष्कर्षमा पुग्नुपर्ने उनले सुझाव दिए ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरिएकाले पठनपाठन गराउन स्थान अभाव हुने बताए । उनले शैक्षिक ऐन निर्माण नहुँदा शैक्षिक कार्यक्रम के कसरी अगाडि बढाउने भन्ने अन्यौल रहेको बताए । तुरुन्त शैक्षिक ऐन निर्माणमा संघीय संसदको ध्यान जानुपर्ने धारणा उनको छ । उनले स्थानीय तहलाई शिक्षाको सम्पूर्ण जिम्मेवारी दिन आग्रह गरे । यस्तो जिम्मेवारी पाएमा केही वर्षमा नै आफूले स्थानीय तहमा शिक्षाको अवस्थामा निकै ठूलो सुधार गर्ने उनले बताए ।

अबको शिक्षा स्थानीय आवश्यकता अनुसारको हुनुपर्ने तर्क उनको छ । कोभिड-१९ को विषम परिस्थितिमा टेलिभिजन, रेडियो वा इन्टरनेट माध्यम अथवा दूरी कायम गरी अध्ययन गर्ने गराउने विषयमा सरोकारवालासँग छलफल भइरहेको उनले जानकारी दिए । अब गैर सरकारी संस्थाहरुले काम गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने धारणा उनको छ । सवै स्थानीय तहले पञ्चवर्षे योजना निर्माण गरेको प्रसंग जोड्दै उनले गैससले पनि त्यसैलाई सहयोग पुग्ने गरी कार्यक्रमहरु ल्याउन सुझाए । ‘कार्यक्रमको मेनु लिएर नआउनुस हामी सँगै बसेर बनाउनुपर्छ’ उनले भने ।

समाज कल्याण परिषदका उपनिर्देशक रामराज भट्टराईले गैससले अब आफ्नो परियोजना संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रत्येक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससले परियोजनाको २० प्रतिशत कोभिड-१९ का लागि खर्च गनुपर्ने सरकारी नीति लागू गर्नुपर्ने बताए । परिषद्ले अनलाइनमार्फत नै सबै काम गर्ने जानकारी दिए । उनले परियोजनालाई परिवर्तन गरी स्वास्थ्य, शिक्षा, राहत , सरसफाइलगायतमा प्राथमिकता दिन आग्रह गरे ।

शिक्षक कुमार खतिवडाले अब गैससले अनलाइन कक्षा सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम ल्याउन पर्ने सुझाव दिए । ११ र १२ कक्षाहरुलाई रेडियो मार्फत कक्षा सञ्चालन गर्न सम्भव भएतापनि विद्यालयको आधारभूत तहमा यो सम्भव नभएको उनले बताए । उनले ग्रामीण भेगमा टोल टोलका विद्यार्थी समेटेर सामाजिक दूरी कायम गर्दै अध्यापन अघि बढाउन सकिने बताए । स्थानीय तहले गाउँ, नगर र वडा शिक्षा समितिसँग छलफल गरेर समस्याको हल गर्नुपर्ने धारणा उनको छ ।

गैसस महासंघ सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटाले भूकम्पमा शिक्षामा काम गर्न आएका गैसस नफर्केको बताए । उनले अहिले शिक्षामा पाँच वटा संस्था मात्रै काम गरिरहेको बताए । गैसरकारी संस्थाहरुको परियोजना परिवर्तन गरेर भएपनि कोभिड १९ को नियन्त्रणका लागि काम गर्ने जानकारी उनले दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले एसइई एवं ११ र १२ को परीक्षा बाहेक हालसम्म अन्य शैक्षिक कार्यक्रम नियमित भएको बताए । अहिले भर्ना अभियान चलिरहेकाले पढाई आगामी १५ बाट मात्रै सञ्चालन गर्ने जानकारी उनले दिए । ‘कक्षा नौ सम्मको रिजल्ट गर्ने गृहकार्यमा लागिरहेका छौ’, उनले भने, ‘स्थानीय शिक्षा समितिलाई बैठक गराएर तुरुन्त परीक्षाफल प्रकाशन गर्न भनेका छौं ।’

कोरोना संक्रमणको त्रासले लकडाउन लागु गरेपछि मुखमै आएको एसईइ परीक्षा पनि सरकारले स्थगित गरेको थियो । त्यसपछि हुने ११,१२ तथा त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित गरिएको छ । निजी विद्यालयहरुले इन्टरनेट मार्फत पढाई सञ्चालन गर्ने तयारी गरेता पनि साना कक्षाका विद्यार्थीमा यो प्रभावकारी नहुने वहस चलेको छ । केही स्थानीय तहहरुले एसईइ र ११, १२ का विद्यार्थीहरुलाई लोकल टेलिभिजन तथा रेडियोबाट भर्चुअल पढाइ सुरु गरेका छन् । तर देशभर नै कस्तो निति अपनाएर शैक्षिक कार्यक्रम अगाडि बढाउने भन्ने विषयमा शिक्षा मन्त्रालय पनि अनविज्ञ छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस