आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठसमाजमहिनादिनपछि बल्ल लकडाउनमा फसेका जनता सम्झँदै स्थानीय तह

महिनादिनपछि बल्ल लकडाउनमा फसेका जनता सम्झँदै स्थानीय तह


चौतारा, ११ चैत ।
कोरानो भाइरस (कोभिड १९) फैलन नदिन सरकारले गरेको लकडाउनको महिनादिन बितेपछि आफ्ना जनताप्रति बल्ल स्थानीय सरकार उत्तरदायी बन्न थालेको छ । लकडाउनमा फसेका जनताहरुलाई खाद्य संकटलगायत अन्य समस्या पर्न थालेसँगै जिल्लामा रहेका स्थानीय तहहरुले आफ्नो जनताको खोजी थालेका हुन् ।
लकडाउनमा फसेकाहरुलाई यसअघि स्थानीय सरकारले वेवास्ता गर्दै आइरहेको थियो । जनता आफै हप्तौं लगाएर कष्टका साथ हिँड्दै आउन थालेपछि त्यसको चौत्र्फी आलोचना भएपछि स्थानीय सरकारले महिना दिनपछि लकडाउनमा रहेर संकट भोगिरहेका आफ्ना जनता सम्झन थालेको हो ।
राजधानी लगायत विभिन्न स्थानमा रहेका जिल्लावासीलाई स्थानीय सरकारले काठमाण्डौंलगायत विभिन्न सहरमा बसेकाहरुलाई खाद्यान्न वितरण गर्ने र घर फिर्ती गर्न पहल थालेका छन् । राजधानीमा रहेर विभिन्न ज्याला मजदुररी, अध्ययनका लागि बसिरहेकाहरुलाई स्थानीय तह र वडा कार्यालयलेसमेत खाद्यान्न वितरण गरिरहेको छ । त्यस्तै लकडाउनमा फसेकाहरुलाई पनि आफ्नो स्थायी घरमा ल्याउने काम लकडाउनको महिनादिनपछि स्थानीय सरकारले सुरु गरेको हो ।
देशका विभिन्न सहरमा रहेका आफ्ना जनतालाई त्यहाँका स्थानीय तह अथवा प्रहरी प्रशासनलाई खोजी गरि सुरक्षित राखिदिन चौतारा साँगाचोकगढी नगरपालिकाले अनुरोध गरेको थियो । ‘हामीले देशका विभिन्न स्थानमा रहेका जनतालाई खाद्यान्न अभाव तथा आवासका लागि सुरक्षित होस् भन्ने हेतुले सम्बन्धित स्थानमा सहयोगका लागि अनुरोध गरेका छौं,’ चौतारा साँगाचोकगढस्ी नगरपालिकाका प्रमुख अमानसिं तामाङले सिन्धु खबरसँग भने, ‘आज (विहीबार) हामीले राजधानीबाट आउन चाहने नगरवासीका लागि यातायातको प्रवन्ध गरेका छौं, केही सवारी साधन उताबाट हिँडिसकेको छ ।’
नगरपालिकाले आज सवारीको व्यवस्था गरेपनि नगरपालिकास्थित वडा नं. ८ इर्खुले यसअघि नै आफ्नो वडाबासीलाई गाउँ फर्काइसकेको छ । त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकालेसमेत आफ्ना जनता गाउँ फिराएको हो ।
आजै जुगल गाउँपालिका वडा नं. ५ ले पनि राजधानीमा रहेका वडावासीका लागि राजधानीमै बस्न चाहनेहरुलाई आवश्यक खाद्य सामग्री प्रदान गरिएको र आवश्यक परेमा पुनः वितरण गरिने वडाअध्यक्ष सनतकुमार अधिकारीले बताए । सिंगो जुगल गाउँपालिकामा रहने आफ्ना वासिन्दालाई यो सुविधा प्रदान गरेको उनको भनाई छ ।
इन्द्रावती गाउँपालिकाकाअध्यक्ष बंशलाल तामाङले आफ्नो तहको बासिन्दा खोजी कार्य भइरहेको र केहीलाई गाउँ फर्काइसकेको जानकारी दिए । ‘हामीले अन्य स्थानीय तहका बासिन्दालाई पनि सहयोग गरिरहेका छौं,’ उनले भने, ‘हिँडेर आफ्नो गाउँ जाँदै गरेकाहरुलाई खाने बस्ने व्यवस्थासमेत इन्द्रावतीमा भइरहेको छ ।’ इन्द्रावती ३ का वडाबासीलाईसमेत आजै राजधानीबाट घर आउने व्यवस्था मिलाइएको छ ।
लकडाउन अझै लम्बिने संकेत भएसँगै जिल्लाका अधिकांश स्थानीय तह बल्ल जनताको मर्का बुझ्न थालेका हुन् । जिल्लाका हेलम्बु, लिसंखुपाखर, बलेफी, सुनकोशी, मेलम्ची, बाह्रविसेजस्ता स्थानीय तहले राजधानीलगायत अन्य स्थानबाट गाउँ फिर्ने जनतालाई स्वास्थ्य परीक्षणका साथै चौध दिन लकडाउनमा राखेर मात्रै घर पठाइने सम्बन्धित स्थानीय तहले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!