गृहपृष्ठ ∕
समाज ∕
यी चार रणनीतिले कोरोना सामना गर्दै इन्द्रावती
यी चार रणनीतिले कोरोना सामना गर्दै इन्द्रावती

नवलपुर, २६ चैत ।
ईन्द्रावती गाउँपालिका कोरोना भाइरस (कोभिड १९)को सामना गर्न चार रणनैतिक योजना बनाएर अघि बढेको छ । मंगलबार बसेको सर्बदलीय, सर्बपक्षीय बैठकको निर्णयले (कोभिड १९) विरुद्ध एक्सन टिम निर्माण गरेर रणनीति साथ उत्रेको हो ।
रणनीतिअनुसार तीन तहको कार्य समूह बनाएर गाउँपालिका टिम परिचालन भएको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङको नेतृत्वमा गाउँपालिका स्तर, वडा अध्यक्षको नेतृत्वमा वडा स्तर र टोल स्तरको नेतृत्वमा स्वयमसेवक टोली निर्माण गरेर कोरोना सामना गर्न सिंगो स्थानीय तह उठेको हो ।
तिनै तहको समितिमा सबै राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय संघ संस्थाका प्रतिनिधि तथा महिला स्वयमसेविकाहरु पनि संयुक्त रुपमा परिचालन हुने छन् । गाउँपालिका अध्यक्ष वंशलालका अनुसार सबै टोल स्वयमसेबक समितिले स्वदेश तथा विदेशबाट आएका व्यक्तिहरुको लागत राख्ने, पहिचान गर्ने, परिचालन गर्ने र रिपोर्ट बनाउने चार वटा रणनीति तयार गरिएको हो ।
पहिलो रणनीति योजना अनुसार हरेक घरको हरेक सदस्यको विवरण समेटिने छ । घर या टोलमा कहिलेदेखि बसिरहेको र यात्राबारे अभिलेख टिपोट गरिनेछ । दोस्रो योजना अन्तर्गत सम्भावित लक्षण, जोखिमका परिवार र अन्य आवश्यकताको पहिचान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार लकडाउनको बेलामा घर भित्र बस्ने, सरसफाईमा ध्यान दिने, सामाजिक अनुशासन अनुशरण गराउने तेस्रो रणनीत हो । यदि सम्भावित लक्षण देखा परे तुरुन्त सम्पर्क गर्ने, तथ्य रिपोर्ट गरेर प्रेषण गर्ने र स्वास्थ्य अवस्था बुझ्ने रणनीति ल्याइएको उनको भनाई छ ।
साथै समितिले गाउँ गाउँमा खाद्य स्थितिको अभाव हुन नदिन बिहान ७ देखि ९ बजे सम्म पसल खोल्ने समय निर्धारण गरि बजारको ब्यबस्थापन गर्नेछ । समितिले लकडाउनको पालना राम्रोसंग गर्न सचेतना कार्यक्रम संचालन गर्ने, भाइरस नियन्त्रण बिषादी छर्ने कार्यमा सहयोग गर्ने अध्यक्ष तामाङले बताए । उक्त समितिको दैनिक गतिबिधिको विवरण वडा समितिले गाउपालिका समितिलाई र गाउँपालिका समितिले सम्बन्धित तहमा दैनिक प्रतिबेदन बुझाउने छ ।

रणनीति निर्माण गर्ने बैठकमा जगतमान ताल्चाभादेल, नेपाल कम्युनिस्ट पार्टीका प्रमुख नुन बहादुर सापकोटा, नेपाली कांग्रेस पार्टीका प्रमुख फुर्पा तामांग, स्वस्था संयोजक परसुराम श्रेष्ठ, नवलपुर प्राथमिक अस्पतालका डाक्टर धर्मेन्द्र झा, ईलाका प्रहरी कार्यालयका प्रमुख होम प्रकाश चौधरी लगायत पालिकाका सम्बन्धित कर्मचारी समेतको उपस्थिति थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेल, वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ७का अध्यक्ष बिर बहादुर तामांगले संकटको सामना गर्न जाति, बर्ण, धर्म, राजनीतिक बिचार भन्दा माथि उठेर एकजुट भै काम पर्ने भएकोले यो संरचना प्रभाबकारी हुने विश्वास गरे ।
क्याटेगोरी :
समाज
ट्याग : #breaking