गृहपृष्ठ ∕
समाज ∕
इन्द्रावतीमा कोरोना फैलन नदिन यस्तो छ अध्यक्ष वंशलालको तयारी
इन्द्रावतीमा कोरोना फैलन नदिन यस्तो छ अध्यक्ष वंशलालको तयारी

नवलपुर, २३ चैत ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नेपाल भित्रिनुअगावै इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले नयाँ जुक्ति लगाए, ‘सिंगो गाउँपालिका छिर्ने जो कसैको स्वास्थ्य परीक्षण गराएर मात्रै प्रवेश ।’ अध्यक्ष तामाङले यो काम त्यत्तिकै गरेका होइनन् । आफ्नो गाउँपालिकाभित्र कोरोना संक्रमण रोक्न उनले यस्तो जुक्ति लगाएका हुन् ।
नेपाल अहिले कोरोना संक्रमणको दोस्रो चरणमा छ । योसँगै देशभर दुई साताअघि लगाइएको लकडाउन कडाई गरिएको छ । इन्द्रावतीमा संक्रमण फैलन नदिन यसअघि नै कोरोना सचेतनाका लागि हातेपर्चा, विभिन्न सञ्चारमाध्यमबाट पूर्व सावधानीका सन्देश प्रवाह भएका छन् । गाउँपालिका अध्यक्ष आफै विभिन्न टोलमा पुगेर स्थानीयवासीलाई मास्क वितरण गरिएको छ । यो क्रम अझै चलिरहेको छ ।
नेपाल भित्रिएको संक्रमण इन्द्रावती गाउँपालिकामा नफैलियोस् भनेर अहिले इन्द्रावतीमा पीपीइ गाउन लगाएर डाक्टर दिनहुँ बस्ती बस्तीमा जाने गरेको गाउँपालिका अध्यक्ष वंशलाल बताउँछन् । ‘विशेष गरेर विदेशबाट आएकाहरु, बृद्धबृद्धालाई स्वास्थ्य परीक्षण गर्ने गरिएको छ,’ उनले भने, ‘कोरोना संक्रमण फैलन नदिन विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरि उनीहरुलाई निगरानीमा राखिएको छ ।’ विदेशबाट आएकाहरुको दिनहुँ स्वास्थ्य परीक्षणसमेत गर्ने गरिएको छ ।
कोरोना नफैलनका लागि पूर्वतयारीमा इन्द्रावती पूर्ण रुपमा जुटेको छ । विभिन्न स्थानमा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ । चेतना प्रवाहका लागि माइकिङ भइरहेको छ । अध्यक्ष तामाङले विदेशबाट आएकाहरुलाई परिवार तथा छिमेकीसँग सामाजिक दुरी कायम गर्ने, नियमित साबुन पानी, सेनिटाइजरले हात धुने अनि घरभित्रै रहने सुझाव दिएका छन् । वडा समितिले संकलन गरेअनुसार इन्द्रावतीभर २४ जना विदेशबाट नेपाल फिरेकाहरु छन् ।
पूर्व तयारी अन्तर्गत अध्यक्षले गाउँपालिकामा रहेका स्वास्थ्य चौकी हरुमा आबश्यक उपकरण पठाइसकेका छन् । पिपिई, इन्फारेड थर्मामिटर, सानिटाइजर, मास्कको ब्यबस्था गरिएको छ । अध्यक्ष वंशलालका अनुसार आवश्यक परे थप स्वास्थ्य सामग्री पठाइनेछ । गाउँपालिकाका सबै स्थानमा साबुन, मास्क वितरण भएको छ ।
थप स्वास्थ्य सामग्री खरिद मात्रै नभई तथा कोरोना संक्रमण फैलन नदिन गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना गरिसकेको छ । ५० लाख रुपैयाँको सो कोष कोरोना रोकथामकै लागि स्थापना गरिएको हो । अहिले वडा वडामा समन्वय समिति गठन तथा परिचालन भइरहेको छ । समितिले कोरोना सम्बन्धि चेतना प्रवाह गर्ने गरेको छ । संक्रमण रोक्नका लागि सबै वडा कार्यालय, स्वास्थ्य चौकी तथा सार्बजनिक स्थल हरुमा औषधि छर्किएको उनले बताए ।
इन्द्रावतीसँगै ४ वटा स्थानीय तह (मेलम्ची नगरपालिका, इन्द्रावती, हेलम्बु र पांचपोखरी) मिलेर मेलम्चीमा क्वारेन्टाइन को ब्यबस्था गरिएको छ । त्यो विश्व स्वाथ्य संगठन को मापदण्ड बमोजिम छ । ईन्द्रावतीले नवलपुर अस्पतालमा ६ बेडको आइसोलेसन बेड तयार गरेको छ जुन मापदण्ड अनुसार छ । आवश्यक परेको खण्डमा क्वारेन्टाइन र आइसोलेसन विस्तार गर्ने गरि अहिलेलाई यति व्यवस्था गरिएको हो ।
सरकारले लकडाउन गरेको दुई साता पुग्दैछ । यो अवस्थामा दैनिक आधारभूत आवश्यकता पुर्ति गर्न र गराउन अध्यक्ष तामाङ आफै खटिरहेका छन् । आधारभूत खाध्य सामाग्री ढुवानीको लागि अहिले सम्म प्रतिबन्ध लगाएइको छैन । गाउपालिका भरि बिहान ७ देखि ९ बजे सम्म पसलहरु खुल्ला गरेर सहजीकरण गाउँपालिकाले गरिरहेको छ । अहिले सम्म इन्द्रावती गाउँपालिकामा सामान अभाब भयो भनेर गुनासो कसैले गरेका छैनन र कालोबजारी पनि भएको छैन । गुनासो आएमा सहजीकरण गरेर सर्वसुलभ तरिका ले ब्यबस्थापन गरिने अध्यक्ष तामाङले आफ्नो योजना सुनाए ।
बाहिरी जिल्लाबाट इन्द्रावतीमा आएका कामदारलाई आफ्नो घर फर्कन गाउँपालिकाले सहजीकरण गरिरहेको छ । तथ्यांक संकलन गरेर घर जान चाहेको लाइ घर पठाउने ब्यबस्था गरेको र घर नजानेलाई सघिय सरकारले तोकिएको मापदण्ड बमोजिम राहत को ब्यबस्था गरेको राष्ट्रिय गाउँपालिका महासंघका महासचिवसमेत रहेका अध्यक्ष वंशलालले बताए ।
गाउँपालिका भित्र कोरोना भाइरसको शंका लागेकालाई क्वारेन्टाईनमा राखेर निगरानी गरिने छ । नमुना परीक्षण को ब्यबस्था गरि कोरोना रोग लागेको निश्चित भएमा उपचारको लागि केन्द्रीय सरकारलाई समन्वय गरि उपचार गर्न पठाइने तयारीसमेत गरिसकिएको अध्यक्ष तामाङले जानकारी दिए । उनले सवै नागरिकलाई सुरक्षित रुपमा घरभित्रै बस्न अपिल गरेका छन् ।
क्याटेगोरी :
समाज
ट्याग : #breaking