शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजथुम्पाखरमा सुविधासम्पन्न प्रसुति गृह निर्माण सुरु

थुम्पाखरमा सुविधासम्पन्न प्रसुति गृह निर्माण सुरु


थुम्पाखर, २ मंसिर ।
घरमै असुरक्षित रुपमा सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जाने क्रम रोक्न सुनकोशी गाउँपालिका ६ थुम्पाखरमा प्रसुति गृह निर्माण गरिन लागिएको छ । मातृ स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्धेश्य अनुरुप आइतबार भवनको शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष श्रवण जिसी(विनोद)ले भवनको शिलान्यास गरे ।
दुर्गम स्थानका महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिन लागिएको हो । केयर नेपालको आर्थिक सहयोग, टुकी संघ सुनकोशीसँगको साझेदारी र सुनकोशी गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा प्रसूति केन्द्र भवन निर्माण सुरु गरिएको सुनकोशी गाउँपालिका ६ का अध्यक्ष रामकुमार थापाले जानकारी दिए ।
कुल ३५ लाख ३६ हजार, ६२५ रुपैयाँको लागतमा निर्माण हुन लागेको प्रसूति भवन फागुनमा हस्तान्तरण गरिने लक्ष्य छ । भवनलाई राधाकृष्ण एण्ड ब्रदर्श कम्पनीले ठेक्कामार्फत बनाउन लागेको हो । सुविधासम्पन्न भवन निर्माण भएपछि उपकरणसहितको सेवाले आमा र शिशृ मृत्युदर रोक्ने स्थानीयले विश्वास राखे । टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले भवनमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि आवश्यक पुर्वाधार र उपकरणहरु समेत भवनमा हुने बताए ।
भवन निर्माणपछि सेवाप्रवाह भएपश्चात सुनकोशी वडा नं. ५, ६ का साथै लिसंखुपाखर गाउँपालिकाका स्थानीयले सेवा पाउनेछन् । अहिले प्रसुती गराउन सिन्धु सदावहार अस्पताल खाडीचौरका साथै धुलिखेल र राजधानी लैजानुपर्ने बाध्यता रहेको वडाअध्यक्ष थापाले जानकारी दिए । अहिले गाउँमै रहेको थुम्पाखर उप स्वास्थ्य चौकीमा सामान्य प्रसूति सेवा उपलब्ध हुने भने गरेको छ ।
भवन निर्माणपछि आवश्यक जनशक्ति गाउँपालिकाले जुटाउने अध्यक्ष श्रवण जिसीले प्रतिबद्धता गरेका छन् । केयर नेपालको सहयोगमा थुम्पाखरसहित बाह्रविसे नगरपालिकाको घुम्थाङमा पनि प्रसूति केन्द्र भवन निर्माण हुँदैछ । केयरकै सहयोगमा सेतीदेवी माध्यमिक विद्यालय थुम्पाखरमा छात्रा शौचालयसमेत निर्माण सुरु गरिएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!