हेलम्बुमा जलवायु परिवर्तनकाे असरबारे सराेकारवालाबीच छलफल

‘हेलम्बुको स्याउ भनेर परिचीत यो क्षेत्रमा स्याउ फल्नै छोड्यो, लामखुट्टे लाग्न थाल्यो, हिउँ पर्नै छोड्यो, याकहरु लोप हुन थाल्यो । त्यति मात्रै होइन आजभन्दा डेढ बर्ष पहिला तेत्रो बाढी पहिरोबाट जनधनको क्षति हुँदा राज्य किन बोल्दैन ?’
हेलम्बु-सिन्धुपाल्चोकको हेलम्बुमा जलवायु परिवर्तनले हेलम्बुमा परेको असरबारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हेलम्बु गाउँपालिका र साथसाथै फाउन्डेसनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा जलवायु परिवर्तनको असर र न्यायका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनकै कारण हेलम्बुले प्राकृतिक परिवर्तन मात्र नभई महाविपत्ती समेत भोग्नुपरेको बताए ।
‘हेलम्बुको स्याउ भनेर परिचीत यो क्षेत्रमा स्याउ फल्नै छोड्यो, लामखुट्टे लाग्न थाल्यो, हिउँ पर्नै छोड्यो, याकहरु लोप हुन थाल्यो । त्यति मात्रै होइन आजभन्दा डेढ बर्ष पहिला तेत्रो बाढी पहिरोबाट जनधनको क्षति हुँदा राज्य किन बोल्दैन ?’ उनले अगाडि भने, ‘यो महाविपत्ती आउनुमा हेलम्बु को के दोष थियो ? राज्यको नीति तथा कार्यक्रममा किन समेटिएन ? हामीले कहाँबाट न्याय पाउने ?’
हेलम्बुको मुद्दा अन्तर्राष्ट्रियकरण भैसकेकोले अब न्याय पाउने कुरामा आशावादी रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वनस्पति विभागका निर्देशक डा.राधा वाग्ले, नास्ट्का पुर्व उपकुलपति डा.जिबराज पोख्रेलले जलवायु परिवर्तन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका गरेका थिए ।
कृषि विभागका सबनम सिवाकोटी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.प्रभु बुढाथोकीले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा.बिमला राई पौड्यालले यो मुद्दा सदनमा उठाउने बताइन् ।
साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्किले हेलम्बुमा जलवायु परिवर्तनको असर र न्यायका लागि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने बताइन ।
क्याटेगोरी : समाज
तपाईको प्रतिक्रिया दिनुहोस