मंगलबार, माघ १७, २०७९
गृहपृष्ठसमाजगाङचेम्पो हिमाल आरोहण गर्न आएको इटालीयन टोली पाँचपोखरीमा

गाङचेम्पो हिमाल आरोहण गर्न आएको इटालीयन टोली पाँचपोखरीमा


चौतारा–जुगल हिमशृंखलामा पर्ने ६ हजार ३ सय ८७ मिटर उचाइको गाङचेम्पो हिमाल आरोहण गर्न इटालीयन आरोही टोली सिन्धुपाल्चोक आइपुगेको छ ।

१५ सदस्यीय टोलीलाई शनिबार पाँचपोखरी गाउँपालिकाले भव्य स्वागत गरेको छ । गाउँपालिकाको प्रवेशद्धार खाल्डे खोलामा अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी लगायतले आरोहण टोलीलाई स्वागत गरेका थिए । पहिलो पटक गाङचेम्पो हिमालको आरोहण हुन लागेको हो । १५ जनाको टोलीमध्ये सात जनाले हिमाल आरोहण गर्ने र बाँकीले बेसक्याम्पमै बसेर आरोहीलाई सहयोग गर्ने जानकारी दिइएको छ ।

गाङचेम्पो हिमाल पाँचपोखरी गाउँपालिकामा पर्छ । पाँचपोखरी पदमार्ग हुँदै यो आरोहण गरेर फर्कँन १० देखि १२ दिनसम्म लाग्ने गाउँपालिका अध्यक्ष लामाले बताए । यो हिमाल राजधानी काठमाडौंबाट करिब एक सय किलोमिटर दूरीमा पर्छ । सन् १९३० मा बेलायती आरोही बिल तिलमानले नेपालका विभिन्न हिमालको अध्ययन तथा आरोहण गर्ने क्रममा जुगल हिमश्रृंखलाका चुचुरा र हिमालहरूको आधार क्षेत्र हुँदै पाँचपोखरी भएर तिलमान पास यात्रा गरेका थिए । उनैले यात्रा परेपछि यो पासको नाम तिलमान रहन गएको थियो । यो नेपालकै सबैभन्दा लामो पास हो ।

त्यस्तै सन् १९५५ मा तीन अमेरिकी महिलाले जुगल आरोहणको प्रयास गरेका थिए । हाईअल्टीच्यूडका कारण एक सदस्य बिरामी पर्नुको साथै मौसम बिग्रिएपछि उनीहरुले ६ हजार १ सय ५१ मिटरसम्म यात्रा गरी फर्किएका थिए ।

आरोहण टोलीमा इटालीको प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोने साल्भानिनि र सगरमाथा आरोही तथा अन्तराष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी।एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोही छन् । दिगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्यसहित उक्त हिमालको आरोहण गर्ने योजना रहेको गरिमा भोयज टुर्स एण्ड ट्राभलका संस्थापक रवीन्द्र आर्यालले बताए। गरिमा भोयज र न्यु भिजन नेपाल संस्थाले संयुक्त रुपमा सुरु गरेको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामु ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गर्न लागेको उनले जानकारी गराए।

स्थानीय निकायको र इटालीस्थित एसएटीको प्राविधिक सहयोगमा ट्रेलहरूको सञ्जाल रहेको मेलम्ची, पाँचपोखरी र हेलम्बु क्षेत्रका लागि सन् २०२४ सम्म दिगो गन्तव्यको रूपमा प्रमाणिकरण प्राप्त गर्ने संस्थाले लक्ष्य लिएको छ। आरोहण दलमा इटालीयन टोलीसँग टिम लिडर रवीन्द्र आर्यल, न्यु भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्ट, विश्वको ८ हजार मिटरको १४ वटै हिमाल दुई पटक आरोहण गरेका विश्वप्रसिद्ध नेपाली माउन्टेन गाईड सानु शेर्पा, ह्योल्मो समुदायकी पहिलो सगरमाथा आरोही कान्छी डोल्मा ह्याल्मोलगायत नेपाली आरोही लालबहादुर वाईबा, रामकाजी तिवारी, सञ्जिव गुरुङ र अन्य सहयोगी दलको सहभागी रहने छ।

गाङछेँपो हिमाल आरोहणको अभियान गरिमा भोयजले गरेको हो भने सम्पूर्ण ग्राउन्ड ह्याण्ड्लिङ तथा आरोहण प्राविधिक सहयोग माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगन) ले गरेको छ। आरोहण टोलीमा विश्वप्रसिद्ध र शीर्ष नेपाली पर्वतारोही गाइडहरू समावेश छन। यो आरोहण अभियान सफल हुनेमा आफू विश्वस्त रहेको गाङछेँपो हिमाल आरोहण टोलीका संयोजकसमेत रहेका मोगनका अध्यक्ष सञ्जिव गुरुङले बताए।

यो आरोहणले पाँचपोखरीको पहिचानमा नयाँ आयाम ल्याउने गाउँपालिका अध्यक्ष लामाको विश्वास छ । यसअघि तीन वर्षअघि जुगल गाउँपालिकाको अगुवाईमा नेमेपेमसालबाट जुगल शृंखलाको एउटा हिमालको सफल आरोहण भइसकेको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!