मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठसमाजपिङ संस्कृति जोगाउन पाखरदोभानका युवाहरु सक्रिय

पिङ संस्कृति जोगाउन पाखरदोभानका युवाहरु सक्रिय


सुनकोशी । दशैं र तिहारको अवसरमा गाउँघरमा खेलिने लिङ्गे पिङ लोप हुँदै गएपछि सुनकोशी-६ पाखरदोभानका युवाहरू पिङ संस्कृति संरक्षण गर्न लागिपरेका छन् । पिङ नै हराउन थालेको भन्दै स्थानीय पाखरदोभान एकता समाजले पाखरदोभानमा लिङ्गे पिङ सुरु गरेका हुन् ।

दशैं तिहारको समयमा युवाहरूलाई रमाइलो दिन र हराउँदै गएको संस्कृति संरक्षण गर्न पिङ हालिएको पाखरदोभान एकता समाजका उपाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

“गाउँघरमा दशैं सुरु भइसक्यो, वातावरण पनि दशैंको माहौलमा रम्न थालिसकेको छ । दशैंको रमझम सुरु भएसँगै गाउँघरमा लिङ्गे पिङ खेल्दै रमाउने बेला भइसक्यो तर गाउँका अरू क्षेत्रमा लिङ्गे पिङ थापेको कहीँ कतै देखिँदैन” समाजका सदस्यहरूको भनाइ छ ।

दशैंमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । यही ओझेलमा परेको परम्परा संरक्षण गर्ने अभियान चलेको हो । अभियानमा पाखरदोभान समाजका युवाहरू अगाडि देखिएका छन् । पुरानो संस्कृति संरक्षण गर्नुपर्छ भन्ने धारणाले अभियान सुरु गरिएको उहाँहरूको बुझाइ छ । बाबु बाजेको पालादेखि सुरु भएको परम्परा र संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यले पाखरदोभानमा  यो वर्ष  पिङ हालेका छन् ।

पाखरदोभान एकता समाजले यो वर्ष  पहिलो पटक लिङ्गे पिङ हालेको छ । समाजका पदाधिकारीहरू पनि पिङ संस्कृति संरक्षण गर्ने प्रयास थालेको बताएका छन् । समाजका अध्यक्ष भूपेन्द्र भण्डारीले गाउँघरमा रमाइलो गर्ने माध्यम नै नहुँदा युवाहरू बरालिने डर भएको र पुरानो संस्कृति पनि संरक्षण गर्ने उद्देश्यले यो वर्ष पिङ हालेको बताउनुभयो । भण्डारीका अनुसार वर्षमा एक पटक धर्ती छाड्नै पर्ने मान्यता रहेकाले पनि पुरानो संस्कृति संरक्षण गर्न र लोप हुनबाट जोगाउन पिङ हालिएको हो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!