शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठसमाजमेलम्ची क्षेत्रमा बाढीको त्रास, रातभर निदाउँदैनन् स्थानीय

मेलम्ची क्षेत्रमा बाढीको त्रास, रातभर निदाउँदैनन् स्थानीय


मेलम्ची । पहिले मेलम्ची–७ दुवाचौरका जितु भारतीले सजिलै सामान लैजाने गरेका थिए । अहिले सडक र पुलमा क्षति पुगेपछि सामान बोकेरै खोला तार्ने गरेका छन् । सामान ढुवानी गर्दा नै बढी लागत लाग्ने हुँदा सामानको भाउ बढेको उनले बताए ।

गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेको थियो । असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायीरूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ ।

सडक अवरुद्ध हुँदा अहिले मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी गाउँपालिका १ र २ र हेलम्बु गाउँपालिका २ र ३ का नागरिकले सास्ती भोगिरहेका छन् । मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा अहिले घुमेर धेरै समय लाग्ने गर्छ । स्थानीयवासीलाई पुल नहुँदा घुमाउरो बाटोबाट ४५ मिनेटदेखि डेढघण्टा हिँडेर बजार पुग्छन् । सडक पनि हिँड्न सजिलो छैन । हिलो बाटोमा गोडा गाडिएर यात्रा गर्न गाह्रो भएको छ ।

पाँच पोखरी–१ र २, मेलम्ची–७ र ८ र हेलम्बु गाउँपालिका–१, २, ३ र ४ का नागरिक पहिले खट्टेबाट जाने गरेका थिए । त्यो बगाएपछि अहिले चनौटेबाट यात्रा गर्न परेको छ । मेलम्चीका दुई, हेलम्बुका दुई र पाँच पोखरीका दुई वडाका बासिन्दा चनौटे पुलबाट पनि आवतजावत गरिरहेका छन् । तर हेलम्बु–१ र २ का नागरिक हिँडेर जान नसक्ने छ ।

हेलम्बुमा केही समय पहिले सेनाले चनौटेमा पुल निर्माण गरेको थियो । सो पुलभन्दा माथिल्लो क्षेत्रमा यात्रा गर्न गाह्रो रहेको स्थानीयवासी हस्त पण्डितले बताए । बिरामी हुँदा र खाद्यान्न ढुवानीमा समस्या पर्ने गरेको उनको भनाइ छ । सरकारले सकेसम्म चाँडो यहाँको समस्या समाधान गर्नुपर्ने उनले बताए ।

असार लागेदेखि एक दिन पनि राम्रोसँग निदाउन नसकेको हेलम्बु–२ का गङ्गानाथ भण्डारीले बताए । खोला किनारमा रहेको घरमा कुन दिन खोला पस्छ भन्ने त्रास उनी र उनको परिवारमा छ ।

गत वर्षको बाढीले पक्की तथा झोलुङ्गे पुल बगाएपछि मेलम्ची तथा हेलम्बु क्षेत्रको माथिल्लो भेगका स्थानीयवासीले कष्टकर जीवन बिताउँदै आएका छन् । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुल र ईन्द्रावती पाँच पोखरी जोड्ने अस्थायी पुलमा क्षति पुगेपछि आवतजावत बन्द छ । वैकल्पिक बाटो प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पालिकावासीलाई आग्रह गरे ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!