शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाजह्योल्मो–सिन्धुको साधारण सभा सम्पन्न

ह्योल्मो–सिन्धुको साधारण सभा सम्पन्न


मेलम्ची- ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको एघारौं वार्षिक साधारण सभा आज मेलम्चीमा सम्पन्न भएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले समिति र मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि अर्यालले काठमाडौं बसेर मेलम्चीको पानी नजाने भन्दै आयोजना स्थलमा आएर अध्ययन गर्न खानेपानी आयोजनालाई आग्रह गर्नुभयो ।

बाढीले यत्रो ताण्डव मच्चाएको देखिरहँदा पनि आयोजनाका पदाधिकारीले चासो नदेखाएको प्रमुख अर्यालको भनाइ थियो । पटक–पटक वार्ताका लागि आग्रह गरे पनि अहिलेसम्म पनि सम्पर्कमा नआउनु दुखद् भएको भन्दै अर्यालले काठमाडौं बसेर पानी झार्ने मिति नतोक्न चेतावनी दिनुभयो ।

आयोजनास्थलमा भएका ढुंगा, गिटी लगायतको गेग्रानको व्यवस्थापन नगरी अहिलेकै स्थितिमा पानी पठाउन नसकिने प्रमुख अर्यालले उद्घोष गर्नुभयो । उहाँले ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलाई पनि जिम्मेवारीका साथ योजना बनाएर मात्रै अगाडि बढ्न सुझाव दिनुभयो । मेलम्ची आयोजनाले पानी लगिसकेपछि संस्थाको योजना के, कसरी अगाडि बढ्छ, योजना के छ भन्दै उहाँले प्रश्न गर्नुभएको थियो । प्रमुख अर्यालले नदी किनारमा भएका समस्या समाधान गर्नका निम्ति र संरक्षणका निम्ति कुनै कार्यक्रम नआएको भन्दै समितिको ध्यानाकर्षण गराउनुभयो । दिगो योजना बनाएर मात्र काम गर्न उहाँले समितिलाई सुझाव दिनुभयो ।

कार्यक्रममा समितिका अध्यक्ष उपेन्द्र तामाङले मेलम्ची प्रभावित र बाढीको क्षतिबारेमा आगामी दिनमा खानेपानी आयोजना र मन्त्रालयलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले समितिमार्फत आएको सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा यहाँका समस्या समाधान गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा आयोजनाका बोर्ड सदस्य चन्द्रबहादुर थापाले खानेपानीले बाढी प्रभावित क्षेत्रमा सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि यहाँका समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । उहाँले उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मेलम्ची खानेपानीका सिनियर डिभिजनल इन्जिनिर माधव नेपालको उपस्थिति रहेको थियो । मेलम्ची खानेपानी विकास समितिबाट प्राप्त सात करोड विभिन्न योजनाहरुमा विनियोजन गरी साधारण सभाबाट पारित गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!