बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाजपर्यटकीय धार्मिक गन्तव्य “तातोपानी स्नान मेला” मा भक्तजनको भिड

पर्यटकीय धार्मिक गन्तव्य “तातोपानी स्नान मेला” मा भक्तजनको भिड


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको धार्मिक तथा ऐतीहासीक तातोपानी धारामा स्नान गर्नेको चाप बढेको छ । कार्तिक एक गतेबाट सुरु भएको मेलाका क्रममा स्नान गर्नेको संख्या बढेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

 

कात्तिक महीनाभर लाग्ने सो मेलामा पुगेर स्नान गरेमा रोगव्याधीबाट छुटकारा पाइने धार्मिक विश्वास छ । काठमाडौबाट १ सय ११ किलोमिटरको दुरीमा रहेको तातोपानी धारामा स्नान गर्न संघीय राजधानी काठमाडौ सहित मुलुकका विभिन्न भागबाट सर्वसाधारण आउने क्रम बाक्लिएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

धारामा मेलाका क्रममा महिला तथा पुरुषलाई सामूहिक रुपमा स्नान गर्ने व्यवस्था मिलाइएको छ भने छुट्टा छुट्टै स्नान गर्ने सुविधायुक्त बाथटप धारा समेतको व्यवस्था मिलाइएको छ ।

तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक महत्व भएपनि २०७२ सालको विनासकारी भुकम्प लगाएतका कारणले सडक तथा पूर्वाधार अभावका कारण केहि बर्षदेखी तिर्थालुको संख्यामा कमी आएको थियो ।

प्राकृतिक रुपमा ४४ डिग्री सेन्टिग्रेड तापक्रमको पानी यहाँ हुने गरेको छ । तातोपानी धाराको पानीमा गन्धक नामक लवण मिसिएका हुनाले छाला सम्बन्धी रोगहरु निको हुने विश्वास रहि आएको छ ।

त्रेतायुगमा श्रृंगी ऋषि तपस्याका लागि कैलाश पर्वत जाने क्रममा कार्तिक शुक्ल पुर्णिमाका दिन त्रिशुलले भित्तामा खोपेर तातोपानी उत्पन्न गरी स्नान गरेको हिन्दुधर्म शास्त्रको हिमवत् खण्डमा उल्लेख छ ।

हिमालय पर्वतमा तपस्या गरिरहेकै बेला अयोध्यामा भगवान रामचन्द्रको जन्म भएको खबर पाउनसाथ यसै बाटो भएर फर्किने बेला ऋषिले पुनः चैत्रशुक्ला नवमीका दिन यसै धारामा स्नान गरेकाले प्रत्येक वर्षको कार्तिक र चैत्र महिनाभर स्नान मेला लाग्ने परम्परा बसालेको किम्बदन्ती पाईन्छ ।

यही धार्मिक आस्था र विश्वासका कारण अहिले भोटेकोशी गाउंपालीकाले प्रदेश सरकारसंग समन्वय गरेर एक करोड रुपैंया खर्च गरेर धारा परिसरमा शिवको मूर्ति स्थापना, धारो संरक्षण संगै तिर्थालुको सुविधाका लागि थप पूर्वाधार निमार्णको काम अघि बढाएको गाउंपालीकाका अध्यक्ष पौडेलले वताए ।

धार्मिक तथा आकर्षक पर्यटकीयस्थलको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीको हितलाई ध्यानमा राखी स्वीमिङपुल, पारिवारिक वातावरणमा नुहाउनेका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामूहिक रुपमा नुहाउन सर्वसाधारणलाई सात धाराको व्यवस्था मिलाएको तातोपानी धारा व्यवस्थापन समितिले जनाएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!