आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजझाडापखालाबाट ३ को मृत्यु, करिब २ सय बिरामी

झाडापखालाबाट ३ को मृत्यु, करिब २ सय बिरामी


कपिलवस्तु । झाडापखाला प्रकोपबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ । नगरपालिकाको तीन वटा वडामा फैलिएको प्रकोपबाट करिब २ सय विरामी रहेका छन् ।
नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या बढेको हो । नगरपालिकास्थित वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीका अनुसार झाडापखालाबाट वडा नं. ९ का ५ वर्षीय राज काश्यप, वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं. ७ का एक वृद्धको मृत्यु भएको हो । यहाँ सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको थियो ।
झाडापखाला र बान्ता भएर शिवराज अस्पताल बहादुरगन्जमा पुगेका बिरामीको बेड अभाव भएपछि बाहिरै राखेर उपचार गरिएको छ ।
अहिले एकसय भन्दा बढी बिरामीको बहादुरगञ्जमै उपचार भइरहेको कुर्मीले जानकारी दिए। अस्पतालका चिकित्सक मुकेश चौधरीका अनुसार सिकिस्त भएका ७ जनालाई थप उपचारको लागि अन्यत्र पठाइएको छ।

नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन्।

बिरामी बढ्दै जाँदा अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि स्थानीय क्लिनिकमा पनि बिरामीको उपचार भइरहेको नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिए।
झाडापखाला के कारण फैलिएको हो भन्ने एकिन कारण पत्ता लागिनसके पनि वर्षायाममा दूषित पानीको कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!