शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजबाढीले बिजोग :अरनिको राजमार्ग अवरुद्ध, यात्रुको विचल्ली

बाढीले बिजोग :अरनिको राजमार्ग अवरुद्ध, यात्रुको विचल्ली


बनेपा । गए राति राजधानी काठमाण्डौंमा यो वर्षकै धेरै वर्षा भयो । जसकारण राजधानीका विभिन्न स्थानमा गरि करिब चार सय घर डुबानमा परे ।
काठमाण्डौं आसपास पनि भारी वर्षा भएकाले राजधानी हुँदै बाहिरी जिल्ला जाने ठाउँमा आएका बाढी र सडक डुबानमा पर्दा यात्रुको विचल्ली भएको छ ।
अत्याधिक वर्षाले बनेपास्थित पूण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । गए रातीदेखिको अविरल वर्षाका कारण अरनिको राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले पुण्यमाता खोलामा आएको बाढीका कारण पुलबजार क्षेत्र डुबानमा परेको बताए । बजार डुबानमा पर्दा सवारी आवतजावतमा समस्या भइरहेको छ । जसकारण राजधानी हुँदै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली जाने यात्रुहरु बिचल्लीमा परेका छन् ।
पुलबजार क्षेत्र डुबानमा परेपछि अरिनको राजमार्ग भएर सञ्चालन हुने यातायातको साधन आवतजावत बन्द रहेको छ ।

बनेपा पुल बजार, गोदामचोक, श्रीखण्डपुर, इलाका प्रहरी कार्यालय बनेपा वरपर समेत डुबान परेकाले जनजीवन प्रभावित भएको छ । बनेपा पनौती मार्गको धनेश्वरमा पुण्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेको छ ।
बाढीका कारण केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!