शुक्रबार, असोज १, २०७८
गृहपृष्ठकलासाढे चार दसकदेखि भित्तामा गाईजात्रा

साढे चार दसकदेखि भित्तामा गाईजात्रा


चौतारा । सामाजिक, राजनीतिक पात्र र प्रवृत्तिविरुद्ध अभिनय, गीत, संवादबाट व्यँग्य गर्ने प्रचलन बढी पाइन्छ । पछिल्लो समय पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत् पनि व्यँग्य गर्ने प्रचलन बढ्दै गएको छ । तर, सिन्ध्ुपाल्चोकको सवालमा भने भित्तेपत्रिका नै व्यँग्यको गतिलो माध्यम बन्दै आएको छ ।

झण्डै साढे चार दसकदेखि जिल्ला सदरमुकाम चौताराको पुरानोबजारस्थित कृष्णमन्दिरको भित्तामा व्यँग्यले राम्रै स्थान पाउँदै आएको छ । हरेक वर्ष गाईजात्राको अवसरमा ठूला–ठूला पेपरमा मार्करपेनले स्थानीय राजनीतिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक विकृति र विसङ्गतिविरुद्धका सामग्रीहरु व्यँग्यात्मक रुपमा लेखिएर भित्ता टाँस्ने गरिन्छ । यस्ता सामाग्रीहरु हेर्न र पढ्न बालकदेखि वृद्धसम्मको घँुइचो नै लाग्ने गर्दछ । स्थानीय पात्र र प्रवृत्तिविरुद्ध मात्र नभई राष्ट्रिय मुद्दाका सवालहरुमा पनि कसिलो व्यँग्य गरेका कारण शिक्षक, कर्मचारी, व्यापारी, राजनीतिकर्मी, पत्रकार लगायत स्थानीयले उत्सुकताका साथ पढ्ने र हेर्ने गर्दछन् ।

२०१७ सालमा तत्कालिन् राजा महेन्द्रले मुुलुकमा पञ्चायती व्यवस्था लागु गरेपछि जनताको सम्पूर्ण अधिकार कुण्ठित गरियो । न त व्यवस्थाको बारेमा बोल्न पाइन्थ्यो, न त स्थानीय प्रशासनको बारेमा नै । स्थानीय प्रशासन र व्यवस्थाको ज्यादतिबाट हैरान भएका स्थानीय युवाहरुले २०३५ सालमा जुगल सांस्कृतिक परिवार गठन गरेपछि सोही सालको गाईजात्राबाट संस्थागतरुपमै व्यँग्यात्मक भित्तेपत्रिका प्रारम्भ भएको हो । आफ्नै नेतृत्व टाँसिएका त्यस्ता सामाग्रीहरु विशेषतः पञ्चायती व्यवस्थाविरुद्ध र स्थानीय प्रशासनको ज्यादति विरुद्धमा शिष्ट ढङ्गले प्रस्तुत गर्ने गरेको पाइन्छ । त्यो ताका अघिपछि व्यवस्था र प्रशासन विरुद्ध बोल्न र लेख्न पाइँदैनथ्यो, त्यसैले गाईजात्राको दिनमा ‘छुट’ हुनेहँुदा यस्ता सामाग्रीहरु लेखेर टाँस्ने परम्परा सुरु गरिएको हो ।

२०४६ साल पूर्वसम्म विशेषत सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, पशुपति शम्शेर लगायतका राजनीतिक व्यक्तित्वहरुको चरित्र र प्रवृत्तिहरु व्यँग्यका सामाग्री हुन्थे । यसका अलावा स्थानीयस्तरका भक्तध्वज प्रधान, नेत्रविक्रम थापा, प्रमुख जिल्ला अधिकारी र प्रहरी पनि व्यँग्यका गतिलो पात्र बन्थे । अचेल यो कृष्ण मन्दिरको भित्तामा गरिएको व्यंग्यमा स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ता, समाजमा कहलिएका व्यक्ति, कलाकार, पत्रकार, ठेकेदार, नीजि तथा सरकारी कार्यालयका कर्मचारीहरु अटाउने गर्दछन् ।
त्यसो त गाईजात्राको अवसरमा व्यँग्य प्रस्तुत गर्ने नाममा अन्य प्रस्तुतिहरुमा पनि छाडा संस्कृति भित्रिएको छ । त्यसरी नै भित्तामा टाँस्ने गरेका यहाँका व्यँग्य सामाग्रीहरु पनि छाडाबाट अछुतो रहन सकेको छैन । विगत केही वर्षदेखि भित्तामा टाँसिदै आएको गाईजात्रे सामाग्रीहरु छाडा हँुदै आएको स्थानीयहरु बताउँछन् । छाडा कुरालाई छोडेर स्वस्थ व्यँग्य गर्ने हो भने यसको महत्व र परम्परा झन् बढ्ने उनीहरुको भनाई छ ।

तर, पछिल्ला केही वर्षदेखि भित्तामा टाँसिएका गाईजात्रे सामाग्रीहरुमा अश्लिलता र छाडापन केही कम हुन थालेकोे छ । अस्लील सामाग्री पूर्णरुपले बन्द गर्दै छाडा संस्कृतिले विकृति नहट्ने हुँदा श्लील शब्दमा व्यज्य गर्ने गरिएको छ ।

सोमबार गाईजात्राको अवसरमा टाँसिएका सामाग्रीहरुमा राष्ट्रिय राजनीति, सामाजिक विकृति, विसङ्गतिलाई मात्र व्यँग्य कसेका छैनन्, स्थानीय प्रशासन, राजनीतिकर्मी र सधैँ अरुको समाचार लेख्ने पत्रकारहरुको चरित्र र गलत प्रवृत्तिमाथि पनि चोटिलो प्रहार गरिएको छ ।


क्याटेगोरी : कला, समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!