तौंथलीमा हिले जात्रा सुरु

तौथली ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित तौंथलीमा हिले जात्रा सुरु भएको छ ।
हरेक वर्षको जनै पूर्णिमा अर्थात गुँला पर्वदेखि पाँच दिनसम्म चल्ने यो मेला स्थानीयका लागि ठूलो पर्व हो । विशेषगरि नेवार सुमुदायले मनाउने यो जात्रा आसपासका गाउँहरुमासमेत प्रख्यात रहेको छ ।
ऐतिहासिक रुपमा रहेको तौंथलीमा विभिन्न जात्राहरु हुने गर्दछ । चैते दसैं, जनै पूर्णिमा, कृष्ण जन्माष्टमी, दसैको फुलपातीलगायतमा हुने जात्रा प्रमुख जात्रा हुन् । जनैपूर्णिमामा लाग्ने हिले
जात्रालाई यहाँका स्थानीयवासीले प्रमुख पर्वका रुपमा मान्दै आइरहेका छन् ।
यो जात्रामा विशेषगरि गोरु नाच, घोडा नाच, मारुनी नाच अनि रोपाईं जात्रा आकर्षक मानिन्छ । नेवार जातिहरुले यो पर्वलाई क्वाँटी पुन्ही पनि भन्दछन् । यो जात्राको अवसरमा हरेक घर घरमा क्वाँटी पकाई आफूले मान्ने देवी देवतालाई चढाउने गरिन्छ । यसरी देवी देवतालाई चढाएर रक्षा बन्धन गर्ने परम्परा रहेको छ ।
रक्षाबन्धन सकेपछि यहाँ रहेका नेवार समुदायले साँझको समयमा मनोरञ्जनका साथै संस्कृति जोगाउन विभिन्न साँस्कृतिक कार्यक्रमहरु गर्ने गर्दछन् । साँझको समयमा मारुनी नाच, स्यावरे नाच, गोरु नाचलगायत हुने गर्दछ ।
निकै रमाइलो हुने हिले जात्रा हेर्न आसपासबाट पनि मानिसहरु आउने गर्दछन् । हिले जात्रा अथवा रोपाई जात्रा यहाँका स्थानीयवासीले बाजागाजासहित मनानउने गर्दछन् । हरेकको हात हातमा धानको विऊ लिएर उत्साही हुँदै जात्रा मनाउने गरिएको यहाँको परम्परा हो । बर्खाको समयमा गरिने धान तथा कोदो रोपाईंपछि यो जात्रामा गरिने रोपाईं नै हरेक वर्षको अन्तिम रोपाई हो । यो रोपाईं जात्रा गरिसकेपछि यहाँका स्थानीयले आफ्नो बारीमा कुनै पनि रोपाईं गर्न पाउनेछैनन् ।
यो नाच तौंथलीको भीमसेनथानबाट त्रिपुरासुन्दरी माईको स्थानसम्म पाँच दिनसम्म हुने गर्दछ । पाँचौ दिन अर्थात चौथीको दिन यी नाचहरुका अलावा घोडा नाच, स्यावरे नाच, रक्सीन, आकाशदेवी नाच, ट्वाकल किसी छिन्ताङ नाच, डुंगा नाच, बासालाप आदि मध्यान्हतिर नचाइसकेपछि बेलुकीपख त्रिपुरासुन्दरी माइको रोपाईं जात्रा सुरु हुने गर्दछ ।
खेत रोप्दा हली, बाउसे, रोपाहार, व्याडेको जुन भूमिका हुन्छ, उही किसिमले रोपाईं जात्रा सुरु हुन्छ । रोपाई जात्राको रौनक हेर्न टाढा टाढाबाट भक्तजनहरु यहाँ आउने गर्दछन् । यो गुँला पर्वको महत्वपूर्ण दिन हो । यो रोपाईंमा बाहिरबाट आएका भक्तजनहरु पनि सहभागी हुन्छन् । तौथलीका नेवार समुदायसँगै मिलेर भक्तजनहरु रोपाईं जात्रामा रमाइलो गर्ने गर्दछन् ।
जनै पूर्णिमाको भोलिपल्ट गाइ जात्रा अर्थात परेवा तिथिमा वर्षदिन भित्र मृत्यु भएको व्यक्तिको नाममा घर घरबाट गाइ जात्रा निकाल्ने थिति पनि तौंथलीको नेवार समुदायमा रहेको छ । यसरी गाइजात्रा निकाल्दा पितृहरुको उदार अर्थात स्वर्गमा बास हुन्छ भन्ने जनविश्वास रहेको छ । जनैपूर्णिमाबाट सुरु भएको जात्रा एक महिना अर्थात इन्द्र जात्रासम्म लाखे नाच हुने गरेको छ ।
क्याटेगोरी : समाज
तपाईको प्रतिक्रिया दिनुहोस